+
+

एपीएफले पनि विदेशी खेलाडी ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:२९

१ पुस, काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले ए डिभिजन लिगका लागि विदेशी खेलाडी ल्याउने भएको छ ।

एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले विदेशी खेलाडी ल्याउन लागेको हो । जारी ए डिभिजन लिगमा एपीएफले शुरुको चार खेल खेल्दा जित हात पार्न सकेको छैन ।

४ खेलमध्ये एक खेल बराबरी गरेर १ अंक मात्र जोडेको एपीएफले अब विदेशी खेलाडी ल्याउन लागेको एपीएफका सहायक प्रशिक्षक रत्न काजी महर्जनले बताए । सके शीर्ष चारभित्र र नभए कम्तीमा पनि शीर्ष आठभित्र पर्ने लक्ष्य बनाएको एपीएफले सुरुवाती चार खेलमा भने त्यस अनुसारको प्रदर्शन गर्न सकेको छैन । सहायक प्रशिक्षक महर्जनले पनि यो स्वीकार गरे । एपीएफले पाँचौं चरणमा फ्रेण्ड्स क्लबसंग खेल्दैछ र त्यसका लागि विदेशी खेलाडी पनि खेल्न सक्ने भएको छ ।

‘विदेशी खेलाडीको लागि क्लब पोजेटिभ देखिएको छ । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफलाई विदेशी खेलाडी ल्याउने बाटो खुलेको छ’ महर्जनले बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा भने, ‘सम्भवत अर्को खेलमा आउँछ होला । एउटा अफ्रिकन र अर्को एसियन खेलाडी छ । पेपर वर्क भइरहेको छ । त्यो पूरा भए अर्को खेल खेल्ने सम्भावना छ ।

एपीएफ, साविक विजेता मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले २०२२ को लागि एएफसी क्लब लाइसेन्सप्राप्त छन् ।

यी चार मध्ये सातौँ चरणपछि धेरै अंक ल्याउने क्ललले एएफसी कप क्वालिफायर खेल्न पाउनेछ । तीन विभागीय टोलीमध्ये नेपाल पुलिस क्लबले भने एएफसी क्लब लाइसेन्स पाएको छैन ।

सहायक प्रशिक्षक महर्जनले चार खेलबाट जम्मा १ अंक मात्र रहेकाले टीममा दबाव रहेको बताउँदै फ्रेण्ड्स विरुद्धको खेल जित्नुपर्ने बताए । ‘अघिल्लो खेलमा गेम राम्रो भयो तर स्कोर भएन । ट्रेनिङमा कमजोरी सुधार गरेका छौँ । फ्रेण्ड्सविरुद्ध ३ अंक लिन जरुरी छ । हामी ३ अंकका लागि फाइट गर्छौँ’ उनले भने ।

पहिलो खेलमा इन्जुरी टाइममा गोल खाँदा एपीएफ ब्रिगेड ब्वाइज क्लबसंग ३-२ ले पराजित भएको थियो । दोस्रो खेलमा च्यासलसंग १-० र तेस्रो खेलमा सातदोबाटोसंग ४-१ ले पराजित भएको एपीएफले चौथो खेलमा भने थ्री स्टार क्लबसंग गोलरहित बराबरी खेल्दै सिजनको पहिलो अंक जोडेको थियो ।

उता फ्रेण्ड्सले पनि अहिलेसम्म चार खेल खेल्दा जित हात पार्न सकेको छैन । फ्रेण्ड्सले दुई बराबरी खेल्दा र दुई खेल हारेको छ । फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले पनि एपीएफविरुद्ध ३ अंक जोड्ने लक्ष्यसहित खेल्ने बताए ।

‘एपीएफसंगको खेलका लागि राम्रो तयारी गरेका छौँ । विदेशी खेलाडी र प्रेजन चोटबाट रिकभर भएका छन् । एपीएफ पनि राम्रो टोली हो । हामी जित्नका लागि खेल्छौँ र खेल जित्नुपर्छ जसरी पनि । हाम्रो लागि यो खेल महत्वपूर्ण छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?