 
																			विद्यार्थीलाई कसरी सिकाउनुपर्छ, शिक्षक कस्तो हुनुपर्छ, अभिभावकले के ख्याल गर्नुपर्छ भन्ने विषय नेपालमा आम छलफल र सरोकारको विषय बनेको छैन, यस्ता विषय बुद्धिजीवीहरुको बहसभन्दा बाहिर आउन सकेको छैन ।
हालै बजारमा आएको उपन्यास ‘कखरा’ले शिक्षण सिकाइमा नयाँ दृष्टिकोण दिएको छ । स्कुल पढाइरहेका शिक्षक हरिहर तिमिल्सिनाद्वारा लिखित यो उपन्यास उनको साढे दुई दशकको अनुभव पनि मिसिएर होला, शैक्षिक विषय उठान गरिएको गहकिलो पुस्तक बनेको छ ।
पुस्तकले नेपालका सरकारी विद्यालय र महँगो शुल्क लिने निजी विद्यालयको प्रतिनिधिमूलक टिप्पणी गरेको छ । ‘स्कुल दुईथरी हुँदा रहेछन्, एकथरी स्कुल जागिर खान र खुवाउनका लागि खोलिएका छन्, अर्काथरी स्कुल पैसा कमाउन खोलिएका छन्’ उपन्यासमा भनिएको छ ।
यो भनाइ हाम्रा अधिकांश सरकारी र निजी विद्यालयका हकमा मेल खान्छन् । सरकारी विद्यालयमा थोरै शिक्षकलाई मात्र जिम्मेवारीवोध होला, अधिकांश त फगत जागिर पकाइरहेका छन्, घरखर्च चलाइरहेका छन् ।
निजी विद्यालयमा पनि चर्को शुल्क, विद्यार्थीमाथिको नियन्त्रण, ट्युसन, अतिरिक्त कक्षा, परीक्षाको बोझ खुबै देखिन्छ । नेपालका स्कुलमा विद्यार्थीलाई प्रश्न सोध्न निषेधजस्तै छ । शिक्षाको यस्तै–यस्तै चित्र देखाउनुका साथै विद्यालय त यस्तो पो हुनुपर्छ भन्ने उदाहरण पनि यो पुस्तकले देखाएको छ ।
उपन्यासमा तीन खण्ड देखिन्छ । पहिलो खण्डमा सरकारी विद्यालय र दोस्रोमा निजी विद्यालयको पाटो केलाइएको छ । तेस्रोमा एक आदर्श विद्यालयको कल्पना गरिएको छ । सरकारी विद्यालयको प्रतिनिधित्व बरदायिनी स्कुलले, निजी विद्यालयको प्रतिनिधित्व शिक्षा शिविर स्कुल र आदर्श विद्यालयको परिकल्पना प्रेम शिविरले गरेको छ ।
उपन्यासले सरकारी र निजी विद्यालयका कमजोरी र अवगुणलाई गहिरो गरी खोतल्नुका साथै विद्यार्थीलाई यसरी सिकाऊ भनेर नयाँ अवधारणा पनि प्रस्तुत गरेको छ । प्रेम शिविर जहाँ विद्यार्थीलाई किताब मात्र पढाइँदैन, जीवनोपयोगी सीप पनि सिकाइन्छ, प्रश्न गर्न प्रेरित गरिन्छ, शिक्षकहरु साथीजस्ता छन् ।
यहाँ व्यावहारिक र जीवनोपयोगी सीप सिकाइन्छ । माध्यमिक तह पार गरेको विद्यार्थीले कम्तीमा बिजुलीको स्वीच बिग्रँदा फेर्न सक्ने, प्राथमिक उपचार गर्न सक्ने, खुर्पा, बञ्चरो, रेन्चु, करौंती मार्तोलजस्ता साधारण ज्यावल चलाउन सक्ने, खाना पकाउन, उध्रेको लुगा सिलाउन सक्ने, खनेर सागसब्जी लगाउनसक्ने बनाउने परिकल्पना गरिएको छ ।
प्रेम शिविरमा दूध दुहुन, झार उखेल्न, ट्याक्टर चलाउन, डोको डालो बुन्न सिकाइन्छ, विद्यार्थीलाई पौडी खेल्न पनि सिकाइन्छ ।
उपन्यासको मूल पात्र सफल पहिले सरकारी विद्यालय पढ्छ, कोर्स भन्दा बाहिरको किताब पढ्न र चेस खेल्न रुचि राख्ने ऊ त्यहाँ फेल हुन्छ । खराब विद्यार्थीमा दरिन्छ, विद्यालयले निष्कासन गर्न खोज्छ ।
छोराको पढाइ राम्रो बनाउने शाखामा बाबुआमाले ऋण गरेर निजी विद्यालयमा भर्ना गर्छन्, त्यहाँ पनि ऊ कोर्सबाहिरको किताब धेरै पढ्छ, शिक्षकलाई प्रश्न गर्छ, तर उसको प्रश्नलाई ननसेन्स भनिन्छ, प्रश्न सोधेको आरोपमा गाली खान्छ ।
त्यसपछि ऊ प्रेम शिविर जान्छ, जहाँबाट एक असल नागरिक भएर निस्कन्छ । यो उपन्यासले नेपालका सबै विद्यालय प्रेम शिविरजस्तै हुने परिकल्पना गरेको छ । शिक्षाको नीति निर्माणकर्ता, विद्यालयका शिक्षक, विद्यालय सञ्चालक र अभिभावकले समेत यो पुस्तक पढ्नु उपयुक्त छ ।
पुस्तकले प्रवेश परीक्षा लिएर विद्यार्थी छान्ने नेपालका स्कुलहरुको चलनलाई बेठीक भन्छ । ‘स्कुलले विद्यार्थी छान्ने होइन, विद्यार्थीले स्कुल छान्ने मौका पाउनुपर्छ, दुई चार दिन विद्यार्थीले स्कुलको सबैतिर घुम्ने, जाँच्ने, पढाएको तरिका हेर्ने मौका पाउनुपर्छ । विद्यार्थीलाई चित्त बुझ्यो भने बल्ल स्कुलले विद्यार्र्थी भर्ना गर्न पाउने व्यवस्था गर्नुपर्छ’ पुस्तकको कल्पना छ ।
निजी विद्यलयमा हुने शिक्षकको श्रम शोषण, विद्यार्थी भित्र्याउन देखाइने तडकभडक र यथार्थबीचको अन्तर पनि राम्रोसँग केलाइएको छ ।
पुस्तकमा भनिएजस्तै नेपालका विद्यालयमा विद्यार्थीलाई सबैभन्दा धेरै सिकाइने विषय अनुशासन हो । हरेकजसो विद्यालयका भित्तामा लेखिएका हुन्छन्, ‘अनुशासन विद्यार्थीको गहना हो ।’ उपन्यासमा प्रश्न गरिएको छ, ‘के अनुशासन विद्यार्थीको मात्र गहना हो ? शिक्षक, अभिभावक, नेता कर्मचारी, सेना, पुलिस, न्यायाधीश पत्रकारको चाहिं गहना होइन ? समाजका ठूला मानिसलाई चाहिं अनुशासन चाहिन्न ?’
निजी विद्यालयबारे उपन्यासको निचोड छ, ‘स्कुल र पसल उस्तै हुँदा रहेछन्, पसलले सामानको किनबेच गर्छन्, स्कुलले विद्यार्थी र अभिभावकको सपनाको किनबेच गर्छन् ।’
निजी होस् कि सरकारी विद्यालय विद्यार्थीलाई परीक्षादेखि डराउने बनाइन्छ । कमजोर विद्यार्थीलाई फेल भइन्छ कि भन्ने डर, मझौला खालका विद्यार्थीलाई नम्बर कम आउने डर, पहिलो दोस्रो हुने विद्यार्थीलाई आफ््नो स्थान कायम राख्नुपर्ने, अंक घट्ने डर, जतासुकै डरैडर ।
उपन्यासमा प्रश्न गरिएको छ, ‘जाँचलाई खुशी मानेर रमाइलो मानेर आनन्दले लेख्न सक्ने बनाउन सकिन्न ? जाँच आउँदा केटाकेटीलाई चाड आएजस्तो रमाइलो मान्ने वातावरण बनाउन सकिन्न ?’
त्यसको विपरीत उपन्यासले विद्यार्थी प्रवेश गरेदेखि नै हरेक दिन उसले गर्ने कामको मूल्यांकन गरेर अंक दिनुपर्ने नयाँ विधि देखाएको छ । विद्यार्थीले बिरुवा रोपेको छ भने त्यो बिरुवा हुर्कियो कि हुर्केन, फूल फूल्यो कि फूलेन त्यसका आधारमा मूल्यांकन गर्नुलाई उचित भनेको छ ।
पुस्तकले शिक्षक, अभिभावकको कमजोरी पनि राम्रोसँग औंल्याएको छ । शिक्षकले आफूलाई जान्ने सम्झने, विद्यार्थीले प्रश्न गरे आफ्नो अपमान भएको ठान्ने, विद्यार्थीले उसले भनेको मान्नुपर्ने, परीक्षामा राम्रो नम्बर ल्याउनुपर्ने ठान्छन् ।
‘स्कुल र मास्टर जहाँका पनि उस्तै हुँदा रहेछन्, तिनले आफ्ना विद्यार्थीलाई स्वतः ज्ञानी इमान्दार मिहिनेती र परिश्रमी भएको देख्न चाहने रहेछन् । जहाँ पनि मास्टरले खोज्ने एउटै कुरा रहेछ, नम्बर जस्ट नम्बर । तिनले विविधता स्वीकार गर्दा रहेनछन्’ उपन्यासको निचोड छ ।
अभिभावकले पनि छोराछोरीलाई घरको काम नलगाउने, पढेको पढ्यै गर्न लगाउने, कोर्सको किताब बाहिरको किताब पढ्न नदिने, धेरै उफ्रिन र खेल्न नदिने गर्छन् । ‘तँलाई मैले यस्तै किताब पढ् भनेको हो यो जाँचमा आउँछ यस्ता चाहिया नचाहिया किताब नपढ् भनेको होइन ?’ धेरैजसो अभिभावकले यसै भन्छन् ।
उपन्यासले कल्पना गरेको प्रेम शिविर व्यावहारिक हुन सक्छ कि सक्दैन ? उपन्यासमा हरेक सरकारी स्कुल प्रेम शिविरजस्तो बनाउनुपर्ने कल्पना गरिएको छ । तर त्यो सम्भव होला वा नहोला ? यदि सम्भव छ भने यसको सिको किन नगर्ने ? वा यसको सिको शत प्रतिशतमा गर्न सकिँदैन भने कतिसम्म सकिन्छ, शिक्षा क्षेत्रका सरोकारवालाले सोच्नुपर्नेछ ।
उपन्यासमार्फत नयाँ बहस शुरुआत गरेका उपन्यासकार तिमिल्सिनाले आफ्ना पात्रहरुलाई भने धेरै बाँधेका छन्, आफू अनुकूल उपयोग गरेका छन्, व्यवहारमा तुलना गर्दा कतिपय घटनाक्रम अस्वाभाविक लाग्छन् ।
उपन्यासका तीन भागमध्ये सरकारी र निजी स्कुलको भागको पर्याप्त बयान गरिएको छ, तर अन्तिम वा प्रेम शिविरको खण्डमा भने छिटोछिटो दौडाइएको छ र टुंग्याउन हतार गरिएको भान हुन्छ । एउटा सभासद्को जन्मदिनबाट शुरु भएको उपन्यासमा बेप्रसंगका पनि धेरै विषय छन् । लेखक विषयवस्तुमा प्रष्ट देखिन्छन्, तर बेप्रसंगका विषय हटाएर पुस्तक अझै छरितो बनाउने ठाउँ छोडिएको छ ।
पुस्तकको नाम : कखरा
विधा : उपन्यास
पृष्ठ संख्या : ३२८
मूल्य : ४८० रुपैयाँ
प्रकाशक : सिकाइ समूह
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4