+
+

काठमाडौंमा ४३ करोड लिटर पानीको माग, १३ करोड लिटर वितरण

रासस रासस
२०७८ पुष ४ गते १४:३६

४ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति हुने गरेको छ । उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन र वितरण गर्छ ।

पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको केयूकेएलले जनाएको छ ।

वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुन्छ । पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ । केयूकेएलले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको प्रवक्ता प्रकाशकुमार राईले बताए ।

काठमाडौँ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी सङ्कलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ । यी स्रोतमध्ये सबैभन्दा बढी वाग्मती नदीको पानी सुन्दरीजलमा सङ्कलन गरी वितरण हुन्छ ।

प्राकृतिक स्रोतबाट सङ्कलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ । हाल उपत्यकामा करिब ८० स्थानमा केयूकेएलले भूमिगत पानी निकालेर प्रशोधन गरी वितरण गर्छ । यसै वर्ष करिब एक करोड लिटर पानी भूमिगत स्रोतबाट थप गर्ने तयारीमा लागेको प्रवक्ता राईले बताए ।

उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ । बढ्दो जनसङ्ख्या, घर/भवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको हो ।

व्यवस्थापन बोर्डले केयूकेएललाई ३० वर्षका लागि उपत्यकामा पानी वितरणको व्यवस्था गर्ने गरी सम्झौता गरेको छ । यसका लागि केयूकेएलले बोर्डलाई महसुलको दुई प्रतिशत शुल्क बुझाउनुपर्छ । बोर्डको सम्पत्तिको भने छुट्टै शुल्क बुझाउने व्यवस्था सम्झौतामा गरिएको छ । विसं २०६४ फागुन १ गतेदेखि बोर्डले केयूकेएललाई उपत्यकामा पानी व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न खानेपानी संस्थानबाट छुट्याएर अलग व्यवस्था गरेपनि खास परिवर्तन भएको छैन । खानेपानीको समस्या समाधान हुन सकेको छैन । राजधानीको खानेपानी समस्याका समाधानका लागि मेलम्चीकै पानीको पर्खाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?