 
																			नेपाली कांग्रेसको चौधौं महाधिवेशन सम्पन्न भइसकेको छ, पदाधिकारी र खुला केन्द्रीय सदस्यको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ भने बाँकीको गणना भइरहेको छ । मंसीर २४ गते उद्घाटन भएको कांग्रेसको महायज्ञ केन्द्रीय सदस्यहरूको मतगणना सकिएसँगै औपचारिक रूपमा पूरा हुनेछ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि संघीय संरचना अनुरूप आफ्ना सबै निकाय निर्वाचनको माध्यमबाट गठन गरेर कांग्रेस महाधिवेशनले पार्टीको संगठन मात्र होइन, नेपालको संविधानलाई समेत थप मजबूत बनाएको छ ।
वडा तहदेखि पालिका तथा निर्वाचन क्षेत्र हुँदै प्रदेश र केन्द्रसम्मै कांग्रेसको निर्वाचित कार्यसमितिले काम थालनी गरेका छन् (प्रदेश-२ बाहेक) । देशभर झण्डै ९ लाख क्रियाशील सदस्य एवं लाखौंको संख्यामा मतदाता रहेको नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको महाधिवेशन सम्पन्न भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्रको जग थप बलियो भएको छ । हरेक वस्तु वा घटनासँग जोडिएका राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । यहाँ कांग्रेसको चौधौं महाधिवेशनले दिएको १४ वटा सकारात्मक सन्देश प्रस्तुत गरिएको छ ।
१. रूपान्तरण र पुस्तान्तरणको मुद्दा स्थापित
कांग्रेसको यो महाधिवेशनले पार्टीभित्र उठ्दै आएको रूपान्तरण र पुस्तान्तरणको बहसलाई पनि अनुमोदन गरिदिएको छ । उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापाको विजय, पदाधिकारीमा प्रायः सबै नयाँ अनुहार तथा वडादेखि केन्द्रसम्मका समितिहरूमा युवाहरूको वर्चश्वले यही कुरा प्रमाणित गरेको छ ।
२. मूल नेतृत्वमा देउवा नै
 नेपाली कांग्रेसको महाधिवेशन अघिसम्म कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध सुनियोजित रूपमै प्रहारहरू भए । देउवालाई नेतृत्वमा रोक्नका लागि रिस, डाहा र कुण्ठाग्रस्त आरोप थोपर्ने प्रयास भएकै हुन् । देउवालाई नेतृत्वमा स्थापित हुन नदिन भए गरेका प्रयास, अनर्गल प्रचार र भ्रमलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले मतदान मार्फत गतिलो जवाफ दिए । शेरबहादुर देउवाचाहिं सभापति हुनु हँुदैन अरू जो भए पनि हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजिएकै हो । तर नेपाली कांग्रेसको चौधौं महाधिवेशनले नेपाली कांग्रेसको नेतृत्वमा पुनः एक पटकका लागि शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गर्यो । शेरबहादुर देउवाचाहिं हुनुहुँदैन अरू जो भए पनि हुन्छ भन्ने अफवाहलाई गलत सावित गर्दै देउवा मूल नेतृत्वमा निर्विकल्प रहेको सन्देश १४औं महाधिवेशनले दिएको छ । देश, जनता र लोकतन्त्रका निम्ति इमानदारीपूर्वक अथक रूपमा गरेको संघर्ष र पार्टीभित्र सबैलाई मिलाएर लैजान सक्ने विशेष खूबी भएका देउवाको अनुभव र परिपक्वता राष्ट्रिय राजनीतिमा अझै आवश्यक छ भन्ने सन्देश कांग्रेस महाधिवेशनले दिएको छ ।
नेपाली कांग्रेसको महाधिवेशन अघिसम्म कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध सुनियोजित रूपमै प्रहारहरू भए । देउवालाई नेतृत्वमा रोक्नका लागि रिस, डाहा र कुण्ठाग्रस्त आरोप थोपर्ने प्रयास भएकै हुन् । देउवालाई नेतृत्वमा स्थापित हुन नदिन भए गरेका प्रयास, अनर्गल प्रचार र भ्रमलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले मतदान मार्फत गतिलो जवाफ दिए । शेरबहादुर देउवाचाहिं सभापति हुनु हँुदैन अरू जो भए पनि हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजिएकै हो । तर नेपाली कांग्रेसको चौधौं महाधिवेशनले नेपाली कांग्रेसको नेतृत्वमा पुनः एक पटकका लागि शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गर्यो । शेरबहादुर देउवाचाहिं हुनुहुँदैन अरू जो भए पनि हुन्छ भन्ने अफवाहलाई गलत सावित गर्दै देउवा मूल नेतृत्वमा निर्विकल्प रहेको सन्देश १४औं महाधिवेशनले दिएको छ । देश, जनता र लोकतन्त्रका निम्ति इमानदारीपूर्वक अथक रूपमा गरेको संघर्ष र पार्टीभित्र सबैलाई मिलाएर लैजान सक्ने विशेष खूबी भएका देउवाको अनुभव र परिपक्वता राष्ट्रिय राजनीतिमा अझै आवश्यक छ भन्ने सन्देश कांग्रेस महाधिवेशनले दिएको छ ।
३. छिन्नभिन्न गुट
कांग्रेसभित्रको परम्परागत गुट, उपगुटलाई यो महाधिवेशनले छिन्नभिन्न पारिदिएको छ । तीन नेतापुत्र प्रकाशमान, विमलेन्द्र र शशांंक अन्ततः देउवालाई नै नेतृत्वमा स्थापित गर्न लागिपर्नु, नेता कृष्ण सिटौलाको साथ देउवालाई नै रहनु तथा वरिष्ठ नेता रामचन्द्र पौडेल तटस्थ भूमिकामा देखिंदा परम्परागत गुट भत्किएका छन् भने च्यानल र प्यानल होइन सक्रियता र निष्ठावान नेतालाई महाधिवेशन प्रतिनिधिले छानी-छानी अनुमोदन गरेका छन् ।
४. विरासत राजनीतिको अन्त्य
कांग्रेस पार्टी नेताहरूको विरासत बोकेको पार्टी भएकाले पारिवारिक विरासतको हिसाबकिताब खुबै चल्ने गरेको पाइन्छ । तर यो महाधिवेशनमा कोइराला परिवारका शेखर कोइराला सभापतिमा पराजित बने । कोइराला परिवारकै बीपी पुत्र र गिरिजापुत्रीको साथ र सहयोग शेखर कोइरालाले पाउन सकेनन् । गणेशमान पुत्र प्रकाशमान सिंहले सोचेजति भोट ल्याउन सकेनन् । महेन्द्रनाराण पुत्र विमलेन्द्र निधिले पनि अत्यन्त कम मत प्राप्त गरे । यसले कांग्रेसमा विरासतको राजनीति अन्त्य भएको संकेत गरेको छ ।
५. अवसर नपाएकासँग अपेक्षा
कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले पार्टी र सरकारमा पटकपटक अवसर प्राप्त गरेकाहरूलाई भन्दा कम अवसर पाएका वा अवसरै नपाएका नेताहरूलाई बढी मन पराए । धनराज गुरुङ, महालक्ष्मी उपाध्याय डिना, जीवन परियार र बद्री पाण्डेको जित तथा विजयकुमार गच्छदार, डा. मिनेन्द्र रिजाल, प्रकाशशरण महत, जीवनबहादुर शाही जस्ता हस्तीहरूको हार यस्तै मानसिकताको उपज थियो भन्दा फरक नपर्ला ।
६. सत्ता र शक्तिमा रमाउने नेता होइन साथी र सहयोगीको खोजी
दम्भ, अहंकार र शान-मानमा होइन कार्यकर्ताकै बीचमा रमाउने र घुलमिल हुनसक्ने नेताप्रतिको सद्भाव यो महाधिवेशनमा प्रष्ट देखिएको छ । अब कोही पनि कार्यकर्ता नेताको दास होइन, साथी र सहयोगी हो भन्ने नजिर यो महाधिवेशनले स्थापित गरिदिएको छ ।
७. इतिहासको सम्मान र अपराधको हिसाबकिताब
कांग्रेसको यो महाधिवेशनले हिजोका दिनमा संघर्ष र दुःख भोगेका नेताहरूको सम्मान गरेको छ । तर पार्टी छोडेर हिंडेका, पार्टीलाई विभिन्न समयमा धोका दिएकाहरूको हिसाबकिताब महाधिवेशन प्रतिनिधिले राम्ररी राखेको देखिएको छ । विगतमा कृष्णप्रसाद भट्टराई तथा गणेशमान सिंह जस्ता शीर्ष नेताहरूको अपमान गर्नेहरूले सजाय पाएका छन् । पार्टीमा निरन्तर क्रियाशील र इमानदार नेताहरूले विजयको माला पहिरिएका छन् ।
८. राजनीतिक नैतिकताको प्रदर्शन
कांग्रेस महाधिवेशनको मत गणना जारी रहँदा महामन्त्रीमा पराजित बन्ने निश्चित देखिएपछि रक्षामन्त्री मिनेन्द्र रिजालले दिएको राजीनामा निकै चर्चाको विषय बनेको छ । यसले राजनीतिमा नैतिकताको प्रश्नलाई पुनर्जीवित मात्र गरेको छैन, लोकतान्त्रिक पार्टीमा जनमतको मूल्यलाई स्थापित पनि गरेको छ ।
९. विचार राजनीतिको विजय
कांग्रेस महाधिवेशनले विचार र निष्ठाको राजनीतिलाई उजागर गरिदिएको छ । सहमति, सहकार्य र एकताको आधारमा पार्टी चलाउनुपर्ने विचारलाई स्थापित गरिदिएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता कांगे्रसको आदर्शलाई यो महाधिवेशनले थप दरिलो बनाएको छ । विधानतः आठ वटा विभिन्न समूहबाट निर्वाचित सहमहामन्त्री तथा अल्पसंख्यक अपांगता भएका समुदाय समेतको कांग्रेस केन्द्रीय समितिमा निर्वाचित नेताहरूको अनुहारले कांग्रेसलाई साँच्चै ‘हामी भित्र म’ भन्ने पार्टीमा रूपान्तरित गरेको छ ।
१०. लोकतान्त्रिक अभ्यासमा कांग्रेस अब्बल सावित
कांग्रेस महाधिवेशनको ठीक अघि एमालेको चितवनमा सम्पन्न महाधिवेशनमा देखिएको स्वच्छ प्रतिस्पर्धालाई निषेध गर्ने हर्कत । माओवादीको जारी सम्मेलनमा भइरहेका नेतृत्व छनोटका प्रक्रियाप्रति विभिन्न कोणबाट भइरहेका आलोचनाको सेरोफेरोमा कांग्रेसभित्रको सौहार्दपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाले सबैको ध्यान खिच्न सफल भएको छ । वास्तवमै कांग्रेसको चौधौं महाधिवेशनले लोकतान्त्रिक अभ्यासमा कांग्रेस सबैभन्दा अब्बल छ भन्ने सन्देश प्रवाह गरेको छ ।
११. कांग्रेसप्रतिको जनभरोसामा वृद्धि
झण्डै ६ महीना लामो महाधिवेशन केन्द्रित छलफल र बहसले कांग्रेसप्रतिको जनभरोसा बढाएको छ । नेतृत्व, नीति र रणनीतिका विषयमा भए/गरेका वाद-प्रतिवाद तथा प्रतिस्पर्धाले साँच्चै कांग्रेसप्रति आम जनताको आस्था र विश्वास बढेको छ ।
१२. अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्न सफल
कांग्रेसको चौधौं महाधिवेशनले अन्तर्राष्ट्रिय समुदायमा समेत उत्तिकै महत्व पाएको छ । उद्घाटन सत्रमा प्रमुख दलका सबै नेता तथा तीन जना भूतपूर्व प्रधानमन्त्रीको जमघट र राजनीतिक सौहार्दता देखेर छिमेकी मित्रराष्ट्र भारतका सत्तारुढ र विपक्षी दलका नेताहरूले महाधिवेशनलाई ऐतिहासिक भनेर गर्व गर्नु तथा कांग्रेस सभापतिमा देउवा निर्वाचित भए लगत्तै अमेरिकी दूतावासले लोकतन्त्र, मानवअधिकार र निष्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा रहेको भन्दै दिएको बधाई सन्देश कांग्रेसका लागि ठूलो पूँजी हो ।
१३. राष्ट्रिय राजनीतिको मियो भूमिकामा कांग्रेसको निरन्तरता स्थापित
गठबन्धन सरकारको नेतृत्व गरिरहेको सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनले प्रधानमन्त्री देउवालाई दोस्रो पटक सभापतिमा निर्वाचित गरेसँगै कांग्रेस राष्ट्रिय राजनीतिको मियो भूमिकामा निरन्तर रहिरहने निश्चित भएको छ । प्रधानमन्त्री देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न हुने तथा ततपश्चात् पनि कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिमा निर्णायक रहने सहजै अनुमान गर्न सकिन्छ ।
१४. आम जनमानसमा राजनीतिक जागरण
समग्रमा कांग्रेसको चौधौं महाधिवेशनले आम जनमानसमा राजनीतिक जागरण पैदा गरिदिएको छ । १९ वर्षे किशोरीदेखि ९४ वर्षका हजुरबासम्म कांग्रेस महाधिवेशनको प्रक्रियामा सहभागी भए । यसले राजनीतिप्रतिको चासो र झुकावलाई जागृत गरिदिएको छ । महाधिवेशनलाई एक पर्वको रूपमा स्थापित गरिदिएको छ ।
(लेखक नेपाली कांग्रेससँग आवद्ध छन् ।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4