+
+
Shares

उखुको मूल्य घटाउन चलखेल भयो : उखु उत्पादक महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १५:३६

६ पुस, काठमाडौं । उखुको खरिद मूल्य घटाउन उद्योगीले चलखेल गरेको भन्दै सरकारले प्रस्तावित गर्ने मूल्य स्वीकार नगर्ने चेतावनी उखु उत्पादक महासंघले दिएको छ ।

विभिन्न चरणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा किसानलाई एक्ल्याएर न्यून मूल्य प्रस्तावितको चलखेल भएको आरोप महासंघको छ । उद्योगीहरुले सस्तो मूल्यमा उखु बिक्री गर्न किसानलाई दबाव दिएको उनीहरुको आरोप छ ।

किसानले आफ्नो लागतअनुसार माग गरेकोभन्दा प्रतिक्विन्टलमा १२६ रुपैयाँ कममा मूल्य तोक्न चलखेल भएको महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । किसानसँग भएको छलफलमा उखुको मूल्य प्रतिक्विन्टल ६८० रुपैयाँ तोक्न राजी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय उद्योगीले कान फुकेपछि ५५४ रुपैयाँ मूल्य तोक्न अग्रसर भएको अध्यक्ष मैनालीको आरोप छ ।

‘किसानसँगको वार्तामा नबसेका उद्योगीलाई मन्त्रीले एक्लै बोलाएर सोमबार छलफल गर्नुभएको रहेछ, अन्तिममा सहमतिमा हस्ताक्षर गर्न हाम्रा प्रतिनिधि बोलाइयो, यहाँ चलखेल भयो,’ अध्यक्ष मैनाली थप्छन्, ‘खेती गर्नेसँग मूल्य नसोधी उद्योगीसँग मिलेर सरकारले तोक्ने मूल्य कुनै हालतमा स्वीकार्य हुँदैन ।’ किसानहरुले ६८० रुपैयाँ प्रतिक्विन्टल मूल्य नपाए उखु बिक्री नगर्ने र खेती नगर्न अभियान चलाउने पनि महासंघको चेतावनी दिएको छ ।

मंसिर अन्तिम सातादेखि नै उखुको मूल्य तोक्न चरणबद्ध छलफल भएको र हरेक बैठकमा किसानलाई सस्तो मूल्यमा उखु बिक्री गर्न दबाव दिएको महासंघले जनाएको छ ।

यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने उखुको मूल्य वैज्ञानिक ढंगले तोक्न छलफल भइरहेको दाबी गरेको छ । उखुको मूल्यमा मोटामोटी सहमती भएको तर किसानलाई उद्योगीले दिने भुक्तानीको समयमा केही विवाद बाँकी रहेको मन्त्रालय प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

‘मन्त्रालयको टोलीले गरेको स्थलगत अध्ययन र किसान तथा उद्योगीबीचको छलफललमा मूल्यमा सहमति नजिक छौं । तर, किसानले छिट्टै उद्योगीबाट रकम पाउन भन्ने हिसाबले केही छलफल बाँकी छ,’ प्रवक्ता सञ्जेलले भने । उखुको मूल्य गत वर्षभन्दा बढाउने विषयमा सरकार, उद्योगी र किसान तीनै पक्ष सहमत रहेको भन्दै प्रवक्ता सञ्जेलले किसानको मूल्यमा सरकारले झेल नगर्ने दाबी गरे ।

चिनी उद्योगीहरुको छाता सस्था चिनी उत्पादक संघले भने आफूहरुले कुनै मूल्य प्रस्ताव नगरेको दाबी गरेको छ । सरकार र किसानका अधिकारीबीच मूल्यबारे बार्ता चलिरहेको र मूल्य बढ्नु पर्ने कुरामा उद्योगीहरु सहमत रहेको संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए ।

मंगलबार उद्योगीसँग कृषिमन्त्रीले यसै विषयमा छलफल गरेको र मूल्य तोक्ने विषय छिट्टै टुंग्याउन सहमत भएको उपाध्यक्ष अग्रवालले बताए । ‘किसानको लागत बढेका कारण मूल्य बढाउनु पर्नेमा विमति छैन, कति मूल्य बढ्ने भन्ने कुरा मन्त्रालयमै निर्भर हुन्छ,’ उपाध्यक्ष अग्रवालले भने ।

यो वर्ष उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जना प्रतिनिधि खटाएर कृषि मन्त्रालयले गृहकार्य थालेको थियो । प्रत्येक जिल्लाबाट कम्तीमा पनि ३० भन्दा बढी अध्ययन नमूना संकलन गरिएको र सोकै आधारमा मूल्य तोक्ने तयारी थालेको मन्त्रालयको दाबी छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

उक्त मूल्यमा उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्वीन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । यो वर्ष उखुको मूल्य प्रतिक्वीन्टल ६ सय ५० रुपैयाँ भन्दा बढी हुनुपर्ने माग उखु किसानहरुको छ ।

नेपालमा ४१ जिल्लाका ७१ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा वर्षेनी उखु खेती गरिन्छ । जसमध्ये तराईका ११ वटा जिल्लामा उखुखेती व्यवसायीक रुपमा गरिर्दै आइएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?