+
+

नेपालमा खोप अभियान : खोप छ, सिरिन्ज छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १८:४९

६ पुस, विराटनगर । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान देशैभर सञ्चालन भइरहेको छ । दैनिक २ लाख जनालाई खोप लगाउने योजना अनुसार यो अभियान चलिरहेको छ । तर प्राप्त खोपको अनुपातमा सिरिन्ज उपलब्ध नहुँदा खोप अभियान प्रभावित बन्न पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्र र प्रदेश खोप भण्डारणमा गरी करिब ९३ लाख डोज खोप मौज्दात छ ।

खोपको मात्राको अनुपातमा सिरिन्ज उपलब्ध नहुँदा प्रदेश १ को खोप कार्यक्रम नै प्रभावित बन्न पुगेको छ । अन्य प्रदेशले पनि सिरिन्ज सकिन लागेको भन्दै खोप आपूर्ति शाखामा रिपोर्टिङ गरिरहेका छन् । एकहप्ता भित्रमा सिरिन्ज उपलब्ध नभए खोप अभियान नै प्रभावित हुन सक्नेबारे प्रदेशका स्वास्थ्य अधिकारीहरुले मन्त्रालयलाई रिपोर्टिङ गरिरहेको आपूर्ति शाखाका एक अधिकृत बताउँछन् ।

प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्दका निमित्त प्रमुख शम्भु साहका अनुसार ३ लाख २५ हजार डोज भेरोसेल खोप स्टकमा छ । तर सिरिन्ज ६० हजार मात्रै छ । प्राप्त खोपको अनुपातमा सिरिन्ज उपलब्ध नभएका कारण भेरोसेल खोप दिने अभियान प्रभावित बनेको साहको भनाइ छ । तर प्रदेशमा मोडेर्ना खोप अभियान भने चलिरहेको साह बताउँछन् ।

खोपको मात्रा अनुसार सिरिन्ज उपलब्ध नभएपछि विवाद आउन सक्ने भन्दै स्थानीय पालिकाहरुले भेरोसेल खोप नलगेका कारण खोप अभियान प्रभावित बनेको उनको भनाइ छ ।

केन्द्रमा पनि सिरिन्जको अभाव रहेको जानकारी आफूले पाएको साहको भनाइ छ । नेपालका लागि आउने सिरिन्ज भारतको कलकता आइपुगेको र छिट्टे नै सिरिन्ज उपलब्ध हुने जानकारी पाएको उनले बताए ।

यस्तो समस्या किन ?

खोप र सिरिन्ज एकैसाथ नभित्रिने भएकोले खोपको मात्रा र सिरिन्ज बीचको अनुपात नमिलेको ती अधिकृत बताउँछन् ।

ती अधिकृतले भने, ‘खोप र सिरिन्ज एकै साथ आउँदैन । खोप हवाईमार्गबाट र सिरिन्ज सडक मार्ग भएर आउँछ । जसका कारण सिरिन्ज प्राप्त हुन ढिलो हुन्छ ।’

ती अधिकृत भन्छन्, ‘विभिन्न मुलुकले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराएका छन् । तर खोपको बन्डलमा सिरिन्ज उपलब्ध हुँदैन । सिरिन्जको व्यवस्था नेपाल सरकार आफैंले नै गर्नुपर्ने हुन्छ । सिरिन्ज भारतबाट ल्याउनुपर्ने भएकाले आउनमा ढिलाइ हुँदा यस्तो समस्या आउन सक्छ ।’

चीनले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोपमा भने सिरिन्ज पनि उपलब्ध हुने उनको भनाइ छ । तर सरकारले खरिद गरेको भेरोसेल खोपमा सिरिन्ज उपलब्ध हुँदैन ।

कोभ्याक्स सुविधामार्फत प्राप्त हुने कतिपय सिरिन्जहरु आउन बाँकी रहेको र पुस १७ गतेभित्र सिरिन्ज प्राप्त हुने उनले बताए ।

प्रायः सबै प्रदेशले सिरिन्ज सकिने लागेको भन्दै अलर्ट गराउने काम भइरहेको उनको भनाइ छ ।
‘सिरिन्ज सकिन लागेको जानकारी हामीले पाएका छौं । तर सकिसकेको भन्ने जानकारी आएको छैन । एक हप्ताभित्रमा सिरिन्ज आपूर्ति नभए खोप अभियान प्रभावित हुन सक्छ भनेर अलर्ट गराउने काम चाहिँ भएको छ’ ती अधिकृतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?