+
+

लिगमा उपाधिभन्दा रेलिगेसन संघर्ष रोमाञ्चक

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ पुष ७ गते १३:०३
फ्रेण्डस क्लब ।

७ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७५ सालमा रेलिगेसन बिनाको लिग आयोजना गर्दा अन्तिम दुई स्थानमा थिए मछिन्द्र क्लब र एनआरटी ।

एन्फाले पहिलो पटक इतिहासमै रेलिगेसन नहुने लिग गर्दा अन्तिमको दुई टिमको अर्को पटक हुने लिगमा क्रमश: १ र २ अंक घटाउने प्रावधान बनायो । २०७६ मा मछिन्द्रले माइनस १ बाट लिग सुरु गरेको थियो । तर घरेलु फुटबलका नाम चलेका र स्टार खेलाडी भित्र्याएर त्यही मछिन्द्र पहिलो पटक लिग विजेता बन्यो ।

यस्तै एनआरटी आठौं स्थानमा रहन सफल भयो । २०७६ सालमा भने एक टिम मात्र रेलिगेसनमा पर्ने नियम बनाइयो र सरस्वती युथ क्लब अन्तिम स्थानमा रहँदै रेलिगेसनमा पर्‍यो ।

यस वर्षको शहीद स्मारक ए डिभिजन लिगबाट दुई टिम रेलिगेसनमा पर्नेछ । लिगको समाप्तिपछि अन्तिम दुई स्थानमा रहने क्लब बी डिभिजनमा घटुवा हुनेछ । त्यसैले पनि यस पटक रेलिगेसनबाट बच्न क्लबहरू संघर्षरत छन् । १४ क्लब सहभागी लिगमा पाँचौं चरणको खेल सकिँदासम्म ललितपुरका दुई क्लब च्यासल युथ क्लब र फ्रेण्ड्स क्लब पुछारमा छ ।

यस पटक लिगमा अंक तालिकामा अगाडि रहेका क्लबहरुलाई उपाधि दाबेदार मान्न सकिए पनि रेलिगेसन भिडन्त भने रोमाञ्चक बन्दै गएको छ । कुनै टिमले एक खेल जित्नेबित्तिकै रेलिगेसन क्षेत्र छाडिहाल्छन् । कुनै टिमले एक खेल गुमाए अंक तालिकामा पछि धकेलिन्छ ।

पाँचौं चरणपछि रेलिगेसन क्षेत्रमा रहेका दुई टिममध्ये फ्रेण्ड्स अहिलेसम्म जितविहीन छ । पहिलो पटक रेलिगेसन क्षेत्रमा झरेको फ्रेण्ड्सले पाँच खेलबाट २ अंक मात्र जोडेको छ । फ्रेण्ड्सले दुई खेल बराबरी गर्दा तीन खेलमा हार बेहोरेको थियो ।

पाँचौं चरणको अन्तिम खेलमा एपीएफ फुटबल क्लबसँग  पराजित भएपछि फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले रेलिगेसनको दबाब परेको स्वीकार गरे । हुन त लिग सुरु हुनुअघि नै प्रशिक्षक मिश्रले फ्रेण्ड्सको लक्ष्य पहिलो रेलिगेसन जोगाउने अनि स्थानको बारेको सोच्ने बताएका थिए ।

फ्रेण्ड्सलाई ३-१ ले हराएको एपीएफ भने रेलिगेसन क्षेत्र छाड्दै माथि उक्लिएको छ । पाँच खेलमध्ये एक जित र एक बराबरीबाट ४ अंक जोडेको एपीएफ ११ औं स्थानमा छ । एपीएफ दोस्रोदेखि चौथो चरणसम्म रेलिगेसन क्षेत्रमा थियो ।

यस्तै पाँचौ चरणमा च्यासललाई पराजित गर्दै पहिलो जित हात पारेको जावलाखेलले पनि रेलिगेसन क्षेत्र छाडेको छ । एपीएफ समान ४ अंक रहेको जावलाखेल १२ औं स्थानमा छ । सुरुवाती चार चरण रेलिगेसन क्षेत्रमा रहेको जावलाखेल पहिलो पटक रेलिगेसन क्षेत्र छाडेको छ ।

समान अंक भए पनि गोल अन्तरमा पछि रहेको च्यासल १३ औं स्थानमा झर्‍यो । च्यासलले अहिलेसम्म एपीएफलाई मात्र पराजित गर्न सकेको छ । पहिलो चरणमा पनि रेलिगेसन क्षेत्रमा रहेको च्यासल दोस्रो पटक रेलिगेसन क्षेत्रमा झरेको हो ।

अहिलेसम्म हेर्दा चार क्लब रेलिगेसन क्षेत्रमा परेको छ । तर, हरेक खेलको नतिजाले अंक तालिकामा फेरबदल भइरहेको छ । यस पटक उपाधि जित्ने क्लबको प्रतिस्पर्धाभन्दा रेलिगेसनबाट बच्न क्लबहरूको संघर्ष रोमाञ्चक देखिएको छ ।

अंक तालिकामा छैटौं स्थानको टिम र १३ औं स्थानको टिमबीच जम्मा २ अंक मात्र फरक छ । थ्र स्टार क्लब ६ अंक जोडेर छैटौं स्थानमा छ । त्यसपछि हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज क्लब र नेपाल पुलिस क्लबको समान ५ अंक छ । अनि एपीएफ, जावलाखेल र च्यासलको समान ४ अंक छ । २ अंक मात्र रहेको फ्रेण्ड्स अन्तिम स्थानमा छ ।

लिग सुरु हुनुअघि उपाधि जित्ने लक्ष्य राखेका साविक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब र साविक उपविजेता त्रिभुवन आर्मी एफसीबाहेक राम्रो गर्ने अन्य दुई टिममा संकटा र नवप्रवेशी सातदोबाटो युथ क्लब छन् ।

मनाङ, मछिन्द्र र आर्मीसँगै संकटा पनि पाँचौ चरणसम्म अपराजित छ । मनाङ चार जित र एक बराबरीबाट १३ अंक जोड्दै शीर्षस्थानमा छ ।

मछिन्द्र तीन जित र दुई बराबरीबाट ११ अंकसहित दोस्रो स्थानमा छ । दुई जित र तीन बराबरीबाट ९ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ । उनी नै अंक रहेको संङ्कटा गोलअन्तरमा पछि रहँदै चौथो स्थानमा छ ।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटो युथ क्लबले उत्कृष्ट सुरुवात गरेको छ । पाँचमध्ये दुई जित र दुई बराबरीबाट आठ अंक जोडेको सातदोबाटो पाँचौ स्थानमा छ ।

यस पटक ललितपुरबाट ६ क्लबले ए डिभिजन लिग खेलिरहेकोमा त्यही सातदोबाटो सबैभन्दा अघि छ । ललितपुरका थ्री स्टार ब्रिगेड ब्वाइज मिड टेबलमा रहँदा जावलाखेल, च्यासल र फ्रेण्ड्स अन्तिम तीन स्थानमा छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?