
७ पुस, धनगढी । कैलालीमा उद्योग खुल्ने क्रम वृद्धि भएको छ । देश संघीय संरचनामा गएसँगै जिल्लाको स्थानीय तहका घरेलु तथा साना उद्योगमा लगानी बढ्दै गएको हो ।
सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय धनगढीका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ देखि उद्योगमा लगानी गर्ने क्रम विगतको तुलनामा वृद्धि भएको छ ।
चार वर्षको अवधिमा कैलालीमा उत्पादनमुलक, कृषि तथा वनजन्य, पर्यटन, सेवामुलक, विज्ञापन तथा सूचनाप्रविधि गरेर ६ हजार २०९ उद्योग दर्ता भएका छन् भने चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्र एक हजार ४४९ उद्योग दर्ता भएको तथ्याङ्क घरेलु तथा साना उद्योग कार्यालयसँग छ ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नवराज भट्टका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ८९३, आर्थिक वर्ष २०७५⁄७६ मा एक हजार २३४, आर्थिक वर्ष २०७६/७७ मा एक हजार ११४ र आर्थिक वर्ष २०७७⁄७८ मा दुई हजार ९६८ उद्योग दर्ता भएका छन् ।
यो चार वर्षको अवधिमा थपिएका समेत गरेर कैलालीमा हालसम्म ११ हजार ४२१ उद्योग दर्ता भएको भट्टले जानकारी दिए । जिल्लामा दर्ता भएका उद्योगमा कूल लगानी १७ अर्ब नाघेको छ । स्थित पुँजी र चालू पुँजी गरेर करीब साढे ११ हजार उद्योगमा १७ अर्ब ५७ करोड ७५ लाख लगानी रहेको प्रमुख भट्टले बताए । जसमा स्थिर पुँजी ११ अर्ब २८ करोड छ भने चालु पुँजी ६ अर्ब ३० करोड पुगेको छ ।
कैलालीमा बितेको चार महिनामा मात्र दुई अर्ब ४८ करोड लगानी थपिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका एक हजार ४४९ उद्योगमा उक्त लगानी रहेको बताइएको छ । कैलालीमा सबैभन्दा बढी ३९ प्रतिशत कृषिमुलक र त्यसपछि ३८ प्रतिशत सेवा मुलक उद्योग दर्ता भएको तथ्यांक छ भने उत्पादन मुलक उद्योग भने २२.३ प्रतिशतमात्र छन् ।
घरेलु तथा साना उद्योग कार्यालयले पाँच करोडसम्मको पुँजीलगानी भएका उद्योग मात्रदर्ता गर्ने गरेको छ । विगतको तुलनामा उद्योग स्थापनाप्रति आकर्षण बढ्नुको कारण के हुन सक्छ ? घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भट्ट भन्छन्,‘उद्योगमा लगानी गर्ने वातावरण बन्नु नै आकर्षणको प्रमुख कारण हो ।’
उनका भनाइमा सरकारले वित्तीय ऋणमा छुट दिनु, महिलाको नाममा उद्योग दर्ता गर्दा ५० प्रतिशत छुट दिनु, स्थानीय स्तरमा सीपमुलक तालिम सञ्चालन हुनलगायत कारणले पनि उद्योगमा लगानी वृद्धि भएको हो । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि धेरै मानिस स्वदेश फर्केर आफ्नै पेशा व्यवसाय गर्न थालेकाले पनि दर्ता हुनक्रम बढ्दै गएको छ ।
प्रतिक्रिया 4