+
+
Shares

कैलालीमा १२ दिनमै फरार कैदीबन्दीसहित ५९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते ८:२४

२४ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले सक्रियता बढाएपछि १२ दिनमै राम्रो सफलता प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध दुर्व्यसनी, फरार प्रतिवादी र जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा लिनमा सक्रियता देखाएको छ ।

११ देखि २२ कात्तिकसम्ममा प्रहरीले ५९ जनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार १२ दिनमा लागुऔषध दुर्व्यसनीमा संलग्न २५ जनालाई पक्राउ गरिएको छ ।

उनीहरुबाट ३१ ग्राम १३० मिलीग्राम खैरो हेरोइन बरामद गरिएकोमा लागुऔषध सम्बन्धी १५ मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । यो अवधिमा विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

उनीहरु मध्ये चालु मुद्दाका ५ र फैसला कार्यान्वयनका १६ जना छन् । उनीहरुको कैद अवधि आठ महिना १४ दिन कैद र जरिवाना तीन लाख १० हजार १७६ रुपैयाँ रहेको छ ।

यस्तै, जेनजी आन्दोलनको मौकामा २४ भदौमा कैलाली कारागारबाट भागेका १३ जना कैदीबन्दीलाई समेत पक्राउ गरिएको छ । उनीहरुमध्ये ९ कैदी र ४ जना बन्दी रहेका छन् । पक्राउ परेका सबैलाई कानुन बमोजिमको कारबाही प्रक्रियामा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी र कारागारबाट भागेका कैदीबन्दी पक्राउ अभियानलाई सक्रियता निरन्तरता दिइने बताए ।

‘समाजमा सुरक्षाको प्रत्याभूति र अपराध नियन्त्रण गर्नु नेपाल प्रहरीको प्रमुख प्राथमिकता हो,’ एसपी चन्दले भने, ‘लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियानकै रुपमा अघि बढाएका छौँ । फरार प्रतिवादी र कारागारबाट भागेका कैदीबन्दीलाई पनि कानुनको दायरामा ल्याइरहेका छौं । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?