+
+

माओवादी बौरिन छलफल गर्नै पर्ने केही विषय

ठाकुरप्रसाद देवकोटा 'असिम' ठाकुरप्रसाद देवकोटा 'असिम'
२०७८ पुष ७ गते १३:३९
नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय

अहिले नेपालको राजनीतिमा महाधिवेशन र सम्मेलनको मौसम जस्तो नै चलेको छ। राष्ट्रिय उत्सवहरूमा खासगरी विचारको मन्थनभन्दा पनि नेतृत्व चयन तथा अनुमोदनमा केन्द्रित भएको पाइन्छ।

निकट भविष्यमा हुन गइरहेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्य पार्टीको जस्तै निरन्तरतामा सीमित रहन्छ वा केही वैचारिक बहसको लागि फोरम खुल्ला गर्दछ वा नयाँ विचार संश्लेषणतिर आफूलाई अगाडि बढाउँछ, त्यो हेर्न बाँकी नै छ। त्यसले मात्र एउटा नयाँपनको उजागर गर्न सक्दछ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको वैचारिक बहसको खडेरीलाई सिञ्चन गर्नको लागि एउटा बृहत् मैदान बनाउन सके मात्र पनि माओवादीको आगामी सम्मेलनले नेपाली समाजलाई नयाँपन दिन सक्दछ। यसक्रममा छलफल तथा बहसमा समावेश हुनुपर्ने विषयवस्तु बारे यस आलेखमा बुँदागत रूपमा राख्ने प्रयास गरेको छु।

वर्ग विश्लेषणको नयाँ व्याख्या

कार्ल मार्क्सले वर्ग विश्लेषण गर्दा केवल युरोपमा भएका संघर्षलाई आधार मानेको पाइन्छ। युरोपमा विकसित भएको संघर्ष र दर्शनलाई मात्र आधार मान्दा अन्य दर्शन जस्तै पूर्वीय दर्शन, ल्याटिन अमेरिकी दर्शन, बुद्ध दर्शन आदिको अध्ययन तथा अनुसन्धान गरेको पाइन्न।

मार्क्सले स्रोतहरू आफ्नो कब्जामा लिएर अरुलाई कजाउने वर्ग र आफ्नो स्वामित्वमा केही पनि नभएका श्रमिक वर्ग वा उत्पादन सम्बन्धको आधारमा वर्ग विश्लेषण गरेको पाइन्छ। उनको विश्लेषण आर्थिक उपार्जनसँग मात्र अन्तरसम्बन्धित रहेको पाइन्छ।

त्यसबेला युरोपमा औद्योगिक पूँजीवादको विकास भएको थियो। तर त्यसबेलाको औद्योगिक पूँजीवाद आज वित्तीय हुँदै तरङ्गीय पूँजीवादमा विकास भएको छ। सूचनाप्रविधिमा आधारित आजको विश्वमा तरङ्गलाई बढी प्रयोग गर्ने नै सबैभन्दा बढी धनी छ। आज एक क्लिकले संसारमा साम्राज्य खडा गर्न सफल भएका छन्।

त्यसैले आर्थिक तथा मानवीय पूँजीलाई मात्र आधार नमानी आजको वैज्ञानिक विकास र विभिन्न खालका सामाजिक तथा सांस्कृतिक उपरी संरचना समेतलाई ध्यानमा राखी यस परिधिलाई फराकिलो बनाउनुपर्छ।

लेनिनवादी संगठनात्मक सिद्धान्तको समृद्धीकरण

लेनिनले प्रतिपादन गरेको संगठनात्मक सिद्धान्त अहिले कम्युनिष्ट पार्टीहरूले अवलम्बन गरेको पाइन्छ। यस सिद्धान्तको कति सदुपयोग वा दुरूपयोग भएको छ, कम्युनिष्ट पार्टीको संघर्ष तथा सत्ता सञ्चालनमा देखिएको सफलता तथा असफलताले प्रष्ट पार्दछ। आफू नेतृत्वमा नपुञ्जेल जनवादको भरपुर वकालत गर्ने र आफू पुगिसकेपछि त्यसलाई बेवास्ता गर्दै केन्द्रीयताको प्रयोग बढी गर्ने गरेको पाइन्छ।

युद्ध र संकटको बेलामा केन्द्रीयताको आवश्यकता अलि बढी होला तर जब जनमत वा जनअनुमोदनको प्रयोगमा हामी जान्छौं, त्यसबेला निश्चित खाकाभित्रको जनवाद वा निर्देशित जनवादले जनताको मत वा भावनालाई जित्न कठिन हुने देखिन्छ।

अहिले पार्टीभित्र स्रोत कब्जा गर्नको लागि हदसम्मको हर्कत गर्ने प्रवृत्ति र त्यसको लागि आलोचना गर्ने वा नकारात्मक कार्यको विरोध गर्ने खालका मान्छेहरूलाई पन्छाउने नेताको भजनकीर्तन गर्ने र नेताकै निगाहमा नेता बन्ने खालको प्रवृत्ति असाध्यै हावी छ, संघर्षबाट भन्दा नेताको निगाहबाट नेता बन्न सकिन्छ भन्ने मान्यता हावी छ। त्यसले गर्दा आलोचना वा गलत प्रवृत्तिको बारे कमिटीभित्र राख्न नसक्ने र त्यसको सुनुवाइ नहुने अवस्था देखिन्छ।

सबै पुस्ताका क्षमताले आफ्नो क्षमताको विभिन्न तहमा रहेर समाज परिवर्तनको नेतृत्व गर्ने अवसर प्राप्त हुने खालको विधि यदि कम्युनिष्ट पार्टीले बनाउन तयार हुँदैन भने त्यो पार्टी विस्तारै विसर्जनतिर जान्छ। निगाह र चाकरीमा बनेको नेतृत्वले आलोचनात्मक चेतनाको हैसियत राख्दैन र उसले नयाँ विचार निर्माणमा कुनै योगदान गर्न पनि सक्दैन।

यस निषेधात्मक प्रवृत्ति हावी भएकोले कमिटी प्रणालीमा राख्न नपाएका र आफ्नो स्वार्थ बाझिएका कुराहरूले सञ्चारमा प्रशस्त ठाउँ पाएको छ। हरेक नेता र कमिटीका सबैखाले कुराहरू सञ्चारमा तत्कालै आइरहेका छन् र कुनै पनि कुराको गोपनीयता राखिएको पाइन्न। यो किन हुन्छ ? किनकि व्यक्तिका वैयक्तिक जीवन तथा विचारको स्वतन्त्रता, सृजनाको सम्मान नहुने तथा गलत प्रवृत्तिको विरुद्ध बोल्न पाइन्छ र त्यसको सुनुवाइ हुन्छ भन्ने कुराको आश्वस्तता छैन।

यो नहुने हो भने कुनै पनि पार्टी नरहेर एउटा कम्पनीको रूपमा चल्न जान्छ। त्यसैले लेनिनवादी संगठनात्मक विधिलाई समृद्ध बनाउनको लागि एउटा निश्चित विधि मार्फत वैयक्तिक जीवन तथा विचारको स्वतन्त्रतालाई समावेश गरिनुपर्दछ। त्यसले मात्र अहिलेको तरङ्गीय पूँजीवाद र उदारीकरणसँग लड्न जनमत बटुल्न सक्दछ।

माओवादबारे पुनर्विचार

माओवादको बारेमा कुरा गर्दा अहिले हामी के माओले भने अनुसार आफ्ना कार्यक्रम सञ्चालन गरिरहेका छौं त ? हिजो माओका विचारलाई अनुसरण गर्दै नेपालमा सामन्तवादसँग लड्न जनयुद्ध सञ्चालन भएको थियो र सफल भएका थियौं तर के आज हामी जनयुद्धकालीन कार्यदिशामा छौं त ? पक्कै पनि छैनौं। त्यसैले अब हामीले माओवाद बारेमा पुनर्विचार गर्नुपर्दछ। यदि हामीले यसरी नै अहिलेको निरन्तरतामा जाने हो भने माओवाद भन्नु माओको विचारमाथि नै अपमान गरेको ठहर्छ।

कम्युनिष्ट आन्दोलन र विकासको मोडलबारे बहस

कम्युनिष्ट आन्दोलनलाई हराभरा बनाउन र कम्युनिष्टहरू नीरस हुन्छन् भन्ने विरोधीहरूको आलोचनालाई जवाफ दिनको लागि हामीले कम्युनिष्ट आन्दोलन र विकासबारे छलफल अगाडि बढाउनु आवश्यक छ।

कम्युनिष्टहरू खाली संघर्ष मात्र भन्छन् र विकासको कुरा गर्दैनन् भन्ने विरोधीहरूको आरोपलाई हामीले व्यवहारबाट जवाफ दिनुपर्दछ। जसरी पूँजीवादीहरूले मार्क्सवादबाट सिकेर र त्यसलाई आफ्नो अनुकूलतामा प्रयोग गरी आफूलाई समृद्ध बनाएको छ, त्यसरी नै कम्युनिष्टहरूले पूँजीवादले गरेको विकासबाट किन नसिक्ने ? पूँजीवादले मार्क्सवादलाई मानव सभ्यताको विकासको क्रममा विकास भएको एउटा महत्वपूर्ण सिद्धान्तको रूपमा अपनत्व ग्रहण गरेको पाइन्छ। तर कम्युनिष्टहरू पूँजीवादले गरेको सकारात्मक विकासलाई पनि अपनत्व लिन अरुचि राख्ने चिन्तनको कारणले झन साँघुरिंदै गएका छन्।

त्यसैले लेनिनले भने झैं मानव सभ्यताले गरेको सबै उपलब्धिलाई अध्ययन तथा अनुसन्धानले मात्र कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्दछ। त्यसैले हामीले मानव सभ्यताले गरेको सबै उपलब्धिलाई अध्ययन तथा अनुसन्धान गरी कम्युनिष्ट आन्दोलनले नयाँ विचार सहित विकासको मोडलको बारेमा विहङ्गम अध्ययन तथा अनुसन्धान गरिनुपर्ने आवश्यकता देखिन्छ।

अहिले नेपालमा प्रयोग गरिएको क्षतिपूर्ति सहित समावेशी तथा समानुपातिक विकासको मोडालिटी हामीले भने जस्तो समाजवादी मोडल हुन सक्छ त ? यो अल्पकालीन हुन सक्ला तर दीर्घकालीन र समाजवादी मोडल हुन सक्दैन। हामीले हाम्रो संविधानमा लिपिबद्ध गरेको समाजवाद आज आँखा नदेख्नेले हात्ती छामेको जस्तो भएको छ। अब हामीले सटिक व्याख्या गरेर जानुपर्दछ।

प्राकृतिक स्रोतको परिचालन, पूँजी निर्माण प्रक्रिया, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको खाका र राजनीतिक व्यवस्थाको विकास आदिको बारेमा व्याख्या नगरी समाजवादको यात्रा तय गर्न कठिन हुन्छ। त्यसैले हामीले विश्व कम्युनिष्ट आन्दोलन, नेपालको कम्युनिष्ट आन्दोलन र विश्वमा विकसित विकासका मोडलहरूको अध्ययन तथा अनुसन्धान गरी विकासको मोडल दिन सक्नुपर्दछ। यसले नेपाली समाजमा नयाँ तरङ्ग पैदा गर्न सक्दछ।

आज विश्वमा पूँजीवादको संकटको रूपमा जलवायु परिवर्तन र द्वन्द्व प्रमुख रूपमा देखिएको छ। जलवायु परिवर्तन मानवीय गतिविधि र प्राकृतिक स्रोतमा भएको अति दोहनबाट सिर्जित हरितगृह ग्याँस उत्सर्जनको कारणले गर्दा भएको हो। विकसित देशहरू यसमा अग्रपंक्तिमा छन् भने विपन्न मुलुक र जनता यसको मारमा परेका छन्।

त्यस्तै अर्को विभिन्न खालका द्वन्द्व जस्तै जातीय, राष्ट्रिय, धार्मिक, अन्तरदेशीय, अन्तरमहादेशीय जुन बजार तथा प्राकृतिक स्रोत कब्जा गर्ने होडमा भइरहेका छन्। विकासको क्रममा सिर्जित यी संकटले कतै मानव सभ्यतालाई नै ध्वस्त पार्ने त हैन भन्ने त्रास सर्वत्र पाइन्छ र यो प्रमुख रूपमा देखिएको छ। त्यसैले यी विषयवस्तुहरूको बारेमा सटिक व्याख्याले मात्र आन्दोलनलाई अगाडि बढाउन सकिन्छ।

नेपालमा चलेको १०वर्षे जनयुद्धमा भएको विकास तथा निर्माणको खोज तथा अनुसन्धान गरिनुपर्दछ। त्यसले हिजो के र कसरी युद्धभित्र विकास गरेका थियौं भन्ने कुरा उजागर गर्दछ। नेपालमा १० वर्ष चलेको महान् जनयुद्धले नेपाली समाजलाई तरङ्गित मात्र बनाएन कि त्यसले हरेक कुना काप्चाका मान्छेहरूमा चेतनाको स्तरलाई बढाएको छ।

त्यति मात्र नभई नेपालमा जरा गाडेर रहेको सामन्तवादी संरचनालाई पनि अन्त्य गरेको छ। जनयुद्धमा हामीले थुप्रै खालका उत्पादन तथा विकासका कामहरू पनि अगाडि बढाएका थियौं। त्यसबेला गरेका कार्यहरूको अनुसन्धान गरी प्रतिवेदन तथा आलेख तयार गर्नुपर्दछ। सहकारी तथा कम्युन निर्माण, जनपरिचालन, सूचना तथा सञ्चार, हतियार निर्माण आदि।

नेतृत्व निर्माण र हस्तान्तरणको विधि

कुनै पनि नेतृत्व आन्दोलन र संघर्षबाट जन्मन्छ र खारिन्छ। अझै कम्युनिष्ट पार्टीको नेतृत्व संघर्षबाट जन्मिएर हुर्कन्छ। नेतृत्वको गतिशीलताले नै आन्दोलनको सफलता वा असफलताको मापन गर्दछ। सक्षम र सबल नेतृत्वको जन्म, विकास, संरक्षण र हस्तान्तरणको निश्चित विधिको विकास गर्नुपर्ने आजको आवश्यकता भएको छ। यदि नेतृत्व हस्तान्तरणको वैज्ञानिक विधि तय गरिंदैन भने कुनै पनि पार्टी गतिशील रहन सक्दैन।

नयाँ र ऊर्जाशील पुस्ताले अवसर नपाउँदा क्षमतावान् र ऊर्जाशील व्यक्तिहरू पार्टीभन्दा बाहिर रहेका छन्। न त ती व्यक्तिहरूको ज्ञान क्षमता आफैंले प्रयोग गर्ने ठाउँ पाउँछ न त पार्टीको नेतृत्वले ती क्षमतालाई प्रयोग गर्न सक्दछ।

सबै पुस्ताका क्षमताहरूले आफ्नो क्षमताको विभिन्न तहमा रहेर समाज परिवर्तनको नेतृत्व गर्ने अवसर प्राप्त हुने खालको विधि यदि कम्युनिष्ट पार्टीले बनाउन तयार हुँदैन भने त्यो पार्टी विस्तारै विसर्जनतिर जान्छ। निगाह र चाकरीमा बनेको नेतृत्वले आलोचनात्मक चेतनाको हैसियत राख्दैन र उसले नयाँ विचार निर्माणमा कुनै योगदान गर्न पनि सक्दैन।

नेतृत्व रक्षाको पहिलो शर्त भनेको विचारको रक्षा हो। विचार रक्षाको क्रममा अन्य कुराको पनि रक्षा हुन आउँछ। गतिशील, ऊर्जावान् र रचनात्मक आलोचनाको चेतनाले मात्र विचारको रक्षा र विकास गर्न सक्दछ। अन्यथा त्यो क्रान्तिकारी पार्टी नभई सत्ताको दुरूपयोग गर्दै स्रोतमाथि हालीमुहाली गर्ने भीड मात्र हुन जान्छ।
सम्भवतः अहिले नेपालका कम्युनिष्ट पार्टीहरूमा नेतृत्व विकासको विधि बनिसकेको छैन। त्यसैले त अहिले युवा पुस्तामा राजनीतिप्रति वितृष्णा जागेको पाइन्छ। त्यसैले नेकपा माओवादीले यो राष्ट्रिय सम्मेलनमा यी विषयहरूमा गम्भीर र विहंगम बहस गर्नुपर्छ।

(लेखक माओवादी केन्द्रमा आवद्ध छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?