+
+

अर्थमन्त्रीलाई राष्ट्र बैंकको काउन्टर- अर्थतन्त्रमा समस्याका चाङ छन्

रोयल आचार्य रोयल आचार्य
२०७८ पुष ७ गते २१:४८

७ पुस, काठमाडौं । गत सोमबार अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा भएको पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफलमा भनेका थिए,’पुँजीगत खर्चको स्थिति कमजोर रहेको कुरा साँचो हो । तर अन्य सूचकहरु संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो ।’ अर्थतन्त्रमा देखिएको समस्याबारे भइरहेको बहस चर्चालाई अर्थमन्त्रीले ‘भ्रम छर्न खोजिएको’ संज्ञा दिएको दुई दिनपछि बुधबार सरकारकै प्रमुख आर्थिक सल्लाहकार ‘नेपाल राष्ट्र बैंक’को भनाइ, तथ्य र तथ्यांक भने ठीक उल्टो किसिमको आयो ।

आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक रहेको बताएको छ । राष्ट्र बैंकले समस्याका चाङ भएपनि ती नयाँ भने नभएको स्पष्टीकरण दिएको छ ।  अर्थतन्त्र पुनरुत्थानतर्फ जाँदा केही समस्याहरु देखिएको निष्कर्ष उसको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढ्दो आयातकै कारण अर्थतन्त्रमा चुनौती थपिएको बताए । आक्रामक रुपमा आयात बढ्दा समस्या पर्ने अवस्था आएपछि  आयतजन्य कर्जामा रोक लगाउनु परेको गभर्नर अधिकारीको भनाइ छ । आयात नै रोक्ने काम भने राष्ट्र बैंकले नगरेको उनको स्पष्टीकरण थियो ।

‘आयात उच्च हुँदा तरलता अभाव हुँदै अहिले शोधनान्तर घाटा बढेकोदेखि विदेशी मुद्रा सञ्चितिसम्म घटेको छ’ गभर्नर अधिकारीले भने, ‘यसकारण पनि अहिले केही वस्तुको आयात निरुत्साहित गर्ने नीति लिनु परेको हो ।’

प्रतीतपत्र खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले मौज्दातमा धेरै नगद राख्ने काम बन्द हुने गभर्नर अधिकारीको भनाइ छ । उनले यो व्यवस्थाले अब सामानको माग भएपछि मात्रै आयात हुने बताए ।

कार्यक्रममा राष्ट्र बैंकका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले अर्थतन्त्र पुनरुत्थानको क्रममा आयात र कर्जा वृद्धिदर उच्च हुन गएको बताए । पछिल्लो समय निर्यात बढे पनि आयातको मात्रा ज्यादै उच्च रहेको, सो अनुरुप रेमिट्यान्स नबढ्दा चालु खाता घाटा र शोधानान्तर घाटाको स्थिति उच्च बनेको बताए । पछिल्लो समय विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको उनले बताए ।

‘बढ्दो आयात भुक्तानी गर्न कर्जा प्रवाह पनि उच्च दरले बढेकेा, निक्षेपको वृद्धिदर कोभिड पूर्वको अवस्थामा रहेपनि कर्जाको वृद्धिदरभन्दा कम रहेकाले तरलता अभावको सिर्जना भएको छ’ विभागीय प्रमुख डा. श्रेष्ठले भने, ‘तर यी समस्या नयाँ नभै समय-समयमा नेपाली अर्थतन्त्रमा दोहरिने गरेका छन् ।’

बैंकको ब्याजदर बढेको, आयात बढेको र व्यापारघाटा उच्च रहेको साथै रेमिट्यान्स समेत घट्दा चालु खाता र शोधानान्तर स्थिति समेत नकारात्मक बनेको राष्ट्र बैंकको निचोड छ । अघिल्लो वर्षदेखि नै निर्यात बढिरहे पनि परिमाण कम रहेका कारण आयातले नै जितिरहेको छ । यसले व्यापार घाटा उच्च बनाएको राष्ट्र बैंकले बताएको छ ।

कमजोर रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति 

रेमिट्यान्स र विदेशी विनमय सञ्चितिमा देखिएको समस्या पनि नयाँ नभएको  राष्ट्र बैंकले बताएको छ । चालु आर्थिक वर्षको शुरुवाती महिनादेखि नै रेमिट्यान्स लगातार घटिरहँदा अर्थतन्त्रमा नकारात्मक असर परेको छ । राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहमा आएको कमीलाई चुनौतीको रुपमा प्रस्तुत गरेको छ ।

साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स मूख्य सिजन दशैंमा समेत ८ प्रतिशत हाराहारीले घटेको थियो । कात्तिकमा पनि पुनः ७.५ प्रतिशतले घटेको छ । साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ जुन गत आर्थिक वर्षको यसै अवधिमा भन्दा ७.५ प्रतिशतले कम हो ।

आर्थिक वर्ष ०७७/०७८ को साउनदेखि कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसवर्षको कात्तिकमा ७३ अर्ब रुपैयाँ र असोजमा ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

गत वर्ष देशमा कोरोना संक्रमणको त्रास थियो । तर, आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को तुलनामा भने यो वर्ष रेमिट्यान्स बढी रहेको विभागीय प्रमुख श्रेष्ठले बताए ।

विदेशी विनिमय सञ्चिति पनि घट्दो क्रममा छ । विदेशी विनिमय सञ्चिति पनि आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को तुलनामा भने यो वर्ष बढी नै रहेको उनको भनाइ छ । कार्यकारी निर्देशक श्रेष्ठका अनुसार अहिले विदेशी विनिमय सञ्चिति २०७५/७६ को अवस्थामा पुगेको छ ।

भारतमा भन्दा नेपालमा बढी महंगी !

राष्ट्र बैंकको निष्कर्श अनुसार छिमेकी मुलुक भारत भन्दा नेपालमा धेरै महंगी बढेको छ । कार्यकारी निर्देशक श्रेष्ठले चालु आर्थिक वर्षको शुरुवातदेखि नै मुद्रास्फीति बढ्ने क्रम शुरु भएकाले थप चाप पर्ने सम्भावना रहेको बताए ।

कात्तिक महिनामा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा ६.५ प्रतिशतको सीमाभित्र मुद्रास्फीति कायम राख्ने राष्ट्र बैंकको लक्ष्य छ । अहिले देखिइरहेको समस्याले सीमाभित्र कायम गराउन मुश्किल रहेको राष्ट्र बैंकको निचोड छ ।

कार्यकारी निर्देश श्रेष्ठका अनुसार भारतको भन्दा नेपालमा धेरै मुद्रास्फीति रहेको छ । नेपालको अहिले ५.३२ प्रतिशत मुद्रास्फीति पुगिसकेको छ भने भारतको ४.९ प्रतिशतमात्रै रहेको छ । तर अन्य देशहरुको तुलनामा नेपालको मुद्रास्फीति कम रहेको उनले बताए । मुद्रास्पिmति बढिरहे पनि २०७६/७७ को भन्दा कम नै रहेको श्रेष्ठको भनाइ छ ।

‘अर्थतन्त्रलाई लयमा ल्याउन धेरै काम गर्‍यौं’

अर्थतन्त्रका सूचकहरु नकरात्मक देखिएको स्वीकार गरेको राष्ट्र बैंकले अर्थतन्त्र सुधारका लागि धेरै कामहरु समेत गरेको बताएको छ । अहिले तरलता र शोधानान्तरलाई ठूलो चुनौतीको रुपमा प्रस्तुत गरेको राष्ट्र बैंकले यसका दुई दर्जन नयाँ व्यवस्थाहरु गरेको बताएको छ ।

तरलता समस्या समाधानका लागि चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधा मार्फत २५ खर्ब, ओभरनाइट रिपोमार्फत ६९ अर्ब, रिपो मार्फत २२० अर्ब, सोझै खरिदमार्फत २७ अर्ब प्रवाह भएको राष्ट्र बैंकले बताएको छ ।

यसैगरी कर्जा निक्षेप अनुपात २०७९ असारसम्म ९० प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरिएको, पुनरकर्जा सुविधा उपलब्ध गराएको साथै नेपाल सरकराले स्थानीय तहको निक्षेपको ९० प्रतिशत निक्षेपको ८० प्रतिशत बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको लगायतका कामहरु गरिएको उल्लेख गरिएको छ ।

उता शोधानान्तर घाटाको सम्बन्धमा पनि करिब एक दर्जन व्यवस्थाहरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । चाँदी आयात गर्नका लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएको, केही वस्तुहरुको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएको, वैदेशिक रोजगारीमा रहेकाहरुलाई बैंकको खातामा १ प्रतिशत थप ब्याज प्रदान गरिने, गैरआवासीय नेपाली तथा यिनीहरुको संस्थाहरुले विदेशी मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ ।

यसैगरी वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौती गरिएको, अवैध ढंगले आयात भइरहेको सुनलाई नियन्त्रण गरिएको, विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको साथै अन्तर्राष्ट्रिय मुद्रा कोषँग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको लगायतका विषयहरुलाई अर्थतन्त्र सुधारका लागि गरिएको कदमको रुपमा राष्ट्र बैंकले प्रष्टीकरण दिएको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?