+
+

किन ज्यानमारा बन्दैछ ग्याँस-गिजर ?

डा. अच्युतशाली घिमिरे डा. अच्युतशाली घिमिरे
२०७८ पुष ९ गते १८:२९

अहिले हामी हेमन्त ऋतुमा छौं। पुसको मध्यभागतर्फ जाँदै गर्दा जाडो पनि अत्यधिक बढ्ने क्रम जारी छ। तर राम्रोसँग नबुझी गिजर त्यसमाथि पनि ग्याँस गिजरको प्रयोग गर्दा ज्यानसम्म जाने दुर्घटनाहरू निम्तिन्छन्। यही पुस ५ गते सोमबार बागबजारमा रहेको काठमाडौं मोडल कलेजको होस्टेलमा यही ग्याँस गिजर सम्बन्धी घटना घट्यो।

त्यो दिन दिउँसो नुहाउन भनेर गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरुममा नै बेहोश भेट्टिए। लगत्तै अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। कलिलो उमेरमा नै ज्यान जाँदा उसको उज्ज्वल भविष्य त निमिट्यान्न भयो भयो, साथै परिवारजन र साथीसंगीमा परेको शोकको बयान गर्न समेत कठिन नै छ। त्यसैले सावधानी महत्वपूर्ण छ।

वर्षेनि पानी तताउनका लागि ग्याँस गिजरको प्रयोग गर्दा र भेन्टिलेसन राम्रो नहुँदा धेरैले अकालमा नै ज्यान गुमाउन परेको अवस्था हाम्रोसामु छर्लंग छ। आज ग्याँस गिजरको प्रयोग गर्दा कसरी बच्ने छलफल गरौं।

गिजरले कसरी काम गर्छ ?

गिजरका तीन मुख्य भाग हुन्छन्। तताउने उपकरण, पानी ट्यांकी र थर्मोस्टाट।  तताउने उपकरणले ऊर्जा लिएर पानी तताउँदै ट्यांकीमा राख्छ र कति समय र कति तापक्रमसम्म तताउने भन्ने कुराको लेखाजोखा चाहिं थर्मोस्टाटले राख्छ।

गिजरको सबैभन्दा आवश्यक भाग नै पानी तताउने उपकरण हो यसलाई ‘हिटिङ इलिमेन्ट’ पनि भनिन्छ। गिजरले पानी कत्तिको छिटो र कुशलताका साथ तताउन सक्छ भन्ने कुरा यही हिटिङ इलिमेन्टको गुणस्तरले निर्धारण गर्छ।  यस उपकरणको भित्री भागमा सिसाको चौतर्फी पर्खाल हुन्छ, जसले छिटो पानी तताउन सहयोग गर्छ।

विद्युतीय कि ग्याँस गिजर ?

गिजरका प्रकार पानी तताउनका लागि प्रयोग गर्ने ऊर्जा स्रोतका आधारमा छुट्याइएको छ- विद्युतीय र ग्याँस गिजर।

विद्युतीय गिजरले पानी तताउनका लागि विद्युतको प्रयोग गर्छ भने ग्याँस गिजरले साधारण खाना पकाउने एलपीजी ग्याँस।  दुवै गिजरका फाइदा र बेफाइदा छन्। तर सहजता, स्थापना मूल्य र सुरक्षाका आधारमा विद्युतीय गिजर खरीद गर्नु उचित हुन्छ।  ग्याँस गिजरले पानी चाँडो तताउने गर्छ तर यसलाई छुट्टै भेन्टिलेसन र ठूलो स्थानको आवश्यकता पर्दछ।

के हो ग्याँस गिजर ?

ग्याँस गिजरबाट पानी तताउन एलपीजी तथा प्रोपेन जस्तो ग्याँसको प्रयोग हुन्छ। यसले विद्युतीय गिजर भन्दा धेरै छिटो पानी तातो बनाउँछ। यसको सञ्चालन खर्च पनि विद्युतीय गिजरको भन्दा लगभग आधा कम हुन्छ। तर, यसको सबैभन्दा खराब र डरलाग्दो पक्ष भनेको यसको ठूलो साइज हो र सुरक्षाका दृष्टिकोणले यो त्यति उचित पनि छैन।

के हो कार्बनमोनोअक्साइड पोइजनिङ ? किन हुन्छ ग्याँस गिजर प्रयोग गर्दा मृत्यु ?

कार्बनमोनोअक्साइड रंगविहीन र गन्धविहीन हानिकारक ग्याँस हो। यो प्रायः हिटर बाल्दा, आगो बाल्दा, जेनेरेटर चलाउँदा, ग्रिल्स चारकोल चलाउँदा उब्जिने गर्छ। जब भेन्टिलेसन राम्रो नभएको ठाउँमा कार्बनमोनोअक्साइड उब्जिन्छ त्यो त्यही कन्सन्ट्रेटेड भएर जम्मा हुन्छ। अनि जब अक्सिजनको सट्टामा सास फेर्दा कार्बनमोनोअक्साइड लिन्छौं, कार्बनमोनोअक्साइड सीधै रगतमा जान्छ र बेहोश हुँदै मृत्यु समेत हुन सक्छ।

जाडो याममा प्राय:जसो नुहाउन बाथरुम पस्दा झ्यालढोका बन्द गर्ने गर्छौं। यसका कारण ग्याँस गिजरबाट निस्कने कार्बनमोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ। जब अक्सिजन भन्दा बढी कार्बनमोनोअक्साइडको मात्रा बढ्छ, यसलाई नै कार्बनमोनोअक्साइड पोइजनिङ भनिन्छ।

टाउको दुख्ने, कमजोरी हुने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, निर्णय लिन नसक्ने जस्ता लक्षणहरू कार्बनमोनोअक्साइड पोइजनिङमा देखिन्छन्।

ग्याँस गिजर र कार्बनमोनोअक्साइड पोइजनिङबाट कसरी सुरक्षित रहने ?

  • अक्सिजन राम्ररी पास हुनसक्ने भेन्टिलेसनको व्यवस्था बाथरुममा गर्नुपर्दछ।
  • जब शरीरमा कार्बनमोनोअक्साइड बढ्दै गएर टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्याहरू देखिन शुरु हुन्छन्, हेल्चेक्र्याई नगरी अक्सिजन पर्याप्त प्राप्त हुने स्थानमा जानुपर्छ।
  • बेहोश हुने अवस्था भन्दा अगाडि नै एउटा निर्णयमा पुगिसक्नुपर्छ।
  • बाथरुममा धेरै बेर गिजर अन गरेर बस्नुहुँदैन। छिटो स्नान कार्य भ्याएर निस्किनुपर्छ।
  • आफू नुहाउन जाँदा साथी सहकर्मी वा परिवारजनलाई पूर्व सूचना दिएर बाथरुम छिर्नुपर्छ। किनकि बेहोश भएको अवस्थामा समेत छिटोभन्दा छिटो उद्धार भएमा बाँच्न/बँचाउन सकिन्छ।
  • बेहोश भएको बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पुर्‍याएर चिकित्सकद्वारा अक्सिजन माक्स मार्फत नाक र मुखबाट अक्सिजन दिइनुपर्छ। सास फेर्न नसक्नेलाई भेन्टिलेटरबाट भए पनि अक्सिजन दिइनुपर्छ।
  • चाँडो उपचार गरेर अक्सिजनको लेभल रगतमा बढाउन सकेमा हुनसक्ने अनेक कम्प्लिकेसन जस्तै ब्रेन ड्यामेज, मुटु ड्यामेज, अंग ड्यामेज र मृत्युबाट समेत बचाउन सकिन्छ।
  • ग्याँस गिजर किनेर ल्याउँदा यसको प्रयोग कसरी सावधानीपूर्वक गर्न सकिन्छ त्यो सबै सिक्नुपर्छ।
  • ग्याँस गिजर जोड्दा समेत कतै लिकेज नहुने र लामो समय टिकाउ हुने किसिमले जडान गर्नुपर्दछ।
  • सोलार प्यानलको व्यवस्था वा नभए परम्परागत चलन अनुसार नै पानी तताएर बाल्टिनमा लगेर नुहाउँदा थप सावधानी पूर्ण हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?