+
+

जिसससँग सिधा सम्बन्ध नभएका सान्ता कसरी भए क्रिसमसका ‘अभिन्न अंग’ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते ७:२०

१० पुस, काठमाडौं । इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस आज विश्वभर धुमधामका साथ मनाइँदैछ । येशू ख्रिस्टको जन्म भएको दिनको आधारमा यस दिनलाई इसाई धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने गर्छन् । क्रिसमस भन्नेबित्तिकै धेरैले देख्ने सान्ता क्लज र क्रिसमसको सम्बन्ध के छ त ?

सान्ताको आधुनिक रुपको इतिहास त्यति लामो छैन । आजभन्दा डेढ हजार वर्ष पहिला जन्मेका सन्त निकोलसलाई असली सान्ता र सान्ताको अभिभावक मानिन्छ । १९ औं शताब्दीदेखि आधुनिक सान्ताको अस्तित्व सुरु भएको हो । सान्ता निकोलस र जिससको जन्मको सिधा सम्बन्ध छैन । तर, पनि आजको दिनमा शान्ता क्लज क्रिसमसको महत्वपूर्ण अंग बनेका छन् ।

सान्ता निकोलसको जन्म तेस्रो शताब्दीमा जिससको मृत्यु भएको २ सय ८० वर्षपछि मायरामा भएको थियो । उनी एउटा धनाड्य परिवारमा जन्मेका थिए । उनले बाल्यवस्थामै आफ्ना आमाबुबालाई गुमाएका थिए । बाल्यवस्थाबाट नै उनको प्रभु येशुप्रति आस्था थियो । उनी ठूला भएर ईसाई धर्मको पादरी (पुजारी) पनि बने । उनलाई आवश्यकता भएका र बालबालिकालाई उपहार दिन एकदम राम्रो लाग्थ्यो ।

सान्ताको घर उत्तरी ध्रुवमा छ भन्ने मानिन्छ र उनी उड्न सक्ने रेनडियर्सको गाडीमा हिँड्छन् भन्ने विश्वास गरिन्छ । उनी विशेष गरेर आवश्यकता भएका र बालबालिकालाई उपहार दिन्थे । सन्त निकोलसले उपहार रातिको समय दिन्थे किनभने उनलाई आफूले उपहार दिँदै गरेको दृष्य कसैले देखेको मन पर्दैन थियो । उनी आफूलाई कसैले नचिनोस् भन्ने चाहन्थे ।

त्यसैले बालबालिकालाई छिट्टै सुताइदिने गरिन्थो । आज पनि धेरै ठाउँहरुमा यस्तो चलन रहेको छ । यदि बालबालिकाहरु छिट्टै सुतेनन् भने उनीहरुको शान्ता अंकलले उनीहरुलाई उपहार दिँदैनन भन्ने मानिन्छ ।

सन्त निकोलसको दयालु स्वभावको एउटा प्रख्यात कथा छ । जसमा उनले एक जना गरिबलाई सहयोग गरेका छन् । जोसँग आफ्ना तीन छोरीहरुको विवाहका लागि पैसा थिएन र बाध्यतावश उनले आफ्ना छोरीहरुलाई मजदुरी र देह व्यापारको दलदलमा पठाउँथे । तब निकोलसले कसैलाई थाहा नहुने गरी तीन जना छोरीहरुको सुकाइरहेको मोजामा सुनको सिक्काको थैली राखिदिए र उनीहरुलाई लाचारीको जीवनबाट मुक्त गराए ।

त्यही समयदेखि क्रिसमसको राति बालबालिकाहरु बिहान आफ्ना मोजाहरुमा सान्ताले उपहार राखिदिन्छ भन्ने आशमा मोजालाई बाहिर टाँगेर राख्न थाले । त्यसैगरी फ्रान्समा चिम्नीमा जुत्ता टाँगेर राख्ने प्रथा छ । हल्यान्डमा बालबालिकाहरु शान्ताको पर्खाइमा आफ्नो जुत्ताभरी गाजर राख्छन् ।

आज सान्ताको जुन प्रचलित नाम रहेको छ । त्यो निकोलसको डच नाम सिन्टर क्लासबाट उत्पत्ति भएको हो । जुन अहिले शान्ता क्लज भएको छ । जिसस र मदर मेरीपछि सन्त निकोलसलाई मात्र यति धेरै सम्मान प्राप्त भएको छ । सन् १२०० देखि फ्रान्समा ६ डिसेम्बरमा निकोलस दिवस मनाउन थालियो । किनभने त्यो दिन सन्त निकोलसको मृत्यु भएको थियो । अमेरिकामा सन् १७७३ मा पहिलो पटक सिन्ता सेन्ट ए क्लजको रुपमा सञ्चार माध्यममा प्रस्तुत भएका थिए ।

आजको आधुनिक युगको शान्ताको अस्तित्व सन् १९३० मा आएको हो । हेडन सन्डब्लोम नामक एउटा कलाकार कोकाकोलाको विज्ञापनमा शान्ताको रुपमा ३५ वर्षसम्म देखिएका थिए । शान्ताको त्यो नयाँ अवतार मानिसहरुलाई धेरै मन पर्‍यो र अन्तिममा त्यसलाई शान्ताको नयाँ रुपलाई स्वीकार गरियो, जुन आज मानिसहरुबीच अति नै प्रख्यात छ ।

यस प्रकार विस्तारै-विस्तारै क्रिसमस र शान्ताको साथ गहिरिँदै गयो र शान्ता विश्वमा नै प्रख्यात हुनुको साथ-साथै बालबालिकाको लोकप्रिय पात्र बने । आज पनि शान्ता आफ्नो श्रीमती र पुड्का मानिसहरुसँग उत्तरी ध्रुवमा बस्छन् भन्ने मानिन्छ । त्यहाँ एउटा खेलौनाको उद्योग छ, जहाँ सबै किसिमका खेलौनाहरु बनाइन्छ ।

सान्ताका ती पुड्का मानिसहरुसँग वर्षभरी नै त्यो उद्योगमा क्रिसमसका लागि खेलौना बनाउने काम गर्छन् । आज विश्वभरमा शान्ताको धेरै ठेगानाहरु छन् । जहाँ बालबालिकाहरु चिठ्ठी पठाउँछन् तर उनको फिनल्यान्डको ठेगानामा सबैभन्दा धेरै चिठ्ठी पठाउँछन् । त्यो ठेगानामा पठाइएको प्रत्येक चिठ्ठीको मानिसहरुले जवाफ पनि पाउँछन् । तपाईंले पनि शान्तालाई आफ्नो चिठ्ठी त्यही ठेगानामा पठाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?