+
+

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै   

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते ८:४७

१० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले बज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । नयाँ कार्यसमितिको आज पहिलो बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण गर्ने र दिउँसो १ बजे बैठक बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक/एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो । यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था उल्लेख छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ ।

कांग्रेसले बैठकको निर्णयसहित आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने बताइएको छ । आयोगले यस अघि सो प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सो विषय सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?