+
+

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र प्रदेश १ फाइनलमा

जनक विष्ट जनक विष्ट
२०७८ पुष १० गते १७:५७
शनिबारको खेल जित्दै फाइनल प्रवेश गरेपछि खुशी मनाउँदै एपीएफ टिम ।

१० पुस, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ र प्रदेश–१ भिड्ने भएका छन् ।

शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा आआफ्ना खेल जित्दै दुबै टोली उपाधिनजिक पुगेका हुन् । पहिलो सेमिफाइनलमा प्रदेश १ ले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ९ विकेट र दोस्रोमा एपीएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरे ।

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले १६ दशमलब ५ ओभरमा एक विकेट क्षतिमा भेट्टायो । पहिलो विकेटका लागि ओपनरद्वय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै शानदार जितको आधार बनाए ।

अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाइन् । कविता जोशीको बलमा बोल्ड भएकी काजलले २८ रन जोडिन् । रुविनाले अप्सरी बेगमसँग दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित ९ रन बनाइन् । सुदुरपश्चिमका लागि कविता जोशीले एक विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८५ रनको सामान्य योगफल बनायो । ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७, कप्तान रितु कनौजियाले २५, डल्ली भट्टले १२ रन बनाए ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योति दनुवारले समान एक विकेट लिए । खेलमा प्रदेश १ कि कप्तान रुविना प्लेयर अफ द म्याच भइन् ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ पनि फाइनल पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ३ विकेट क्षतिमा १२९ रन बनायो । एपीएफका लागि रोमा थापाले अविजित ४२ रन जोडिन् ।

त्यस्तै ममता चौधरीले २७, सीता राना मगरले १८, राजमती ऐरीले १४ रन र ज्योति पाण्डेले ११ रन जोडे । लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासिनीले समान एक विकेट लिए ।

१३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ र नितु भण्डारीले १८ रन जोडे ।

तेस्रो विकेटका लागि नेरी र नितुले ४६ रनको साझेदारी गरेका थिए । एपीएफका लागि रेखा रावलले ३ विकेट र सीता रानामगरले एक–एक विकेट लिए । एपीएफकी रोमा थापा प्लेयर अफ द म्याच भइन् ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै ओम्यान अफ द सिरिजले २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार पुरस्कार पाउनेछन् । हरेक खेलका ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?