+
+

ज्येष्ठ नागरिकबाट समाज विकासका लागि ज्ञान र प्रेरणा लिउँ : राष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १९:५५

११ पुस, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा आर्जन गरेको ज्ञान, प्रेरणा, अनुभव र सीपलाई उच्च मूल्याङ्कन गर्दै समाजको उत्थान र मुलुकको विकासमा उनीहरुलाई उपयोग गर्न आग्रह गरेकी छिन् ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई अभिनन्दन गर्न आइतबार आयोजित कार्यक्रममा उनले भनिन्, ‘ज्येष्ठ नागरिक देशका ज्ञानका खानी र प्रेरणा हुनुहुन्छ, उहाँहरुबाट अहिलेको पुस्ताले अनुभव र सीप लिएर समाज विकासमा लगाउन सक्नुपर्छ।’

ज्येष्ठ नागरिकको सम्मानमा कुनै पनि आघात पुग्न नदिन र सरकारले तोकेको सुविधाको प्रभावकारी कार्यान्वयन गर्न पनि उनले सबैको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘आफ्नो जीवनको महत्वपूर्ण समय परिवारको हेरचाह, पालनपोषणका साथै देश सेवामा समर्पण गर्ने, ज्येष्ठ नागरिकहरु हाम्रा अविभावक र ज्ञान तथा अनुभवका श्रोत हुनुहुन्छ । तथापि, नयाँ र पुरानो पुस्ताबीच पर्याप्त संवादको अभावका कारण आजभोलि परिवार र समाजमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न भएका छन् । जसका कारण कतिपय ज्येष्ठ नागरिकहरुले अवहेलना र दुव्र्यवहार समेत व्यहोर्नुपरेको अवस्था छ । यो कुरा हाम्रो मौलिक, साँस्कृतिक परम्परा, पारिवारिक मूल्य मान्यता र आदर्श विपरीत छ।’

उनले ज्येष्ठ नागरिकहरुलाई आघात पुर्‍याउने यसप्रकारका प्रवृत्तिहरुलाई निरुत्साहीत गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन सबैमा आह्वान पनि गरिन् । नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक, सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेकाले यी कानूनी र नीतिगत प्रावधानहरुको प्रभावकारी कार्यान्वयनका माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मान गर्न उनको आग्रह थियो ।

उक्त दिवसका अवसरमा समाजकल्याण परिषद्, राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज शीतलनिवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सहितका व्यक्तित्वलाई अभिनन्दन गरेकी थिइन् ।

अभिनन्दित हुनेमा वरिष्ठ पत्रकार भैरव रिसाल, कृष्णा ताम्राकार, अर्थविद् हिमालय शमशेर राणा, शिक्षासेवी नानीमैया श्रेष्ठ, साहित्यकार भद्रकुमारी घले, कलाकार कालु कुमाले र वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की छन् ।

यस्तै विभिन्न क्षेत्रबाट ज्येष्ठ नागरिकका लागि सेवा दिने कलाकार मदनदास श्रेष्ठ, पूर्वसचिव कृष्णहरि बाँस्कोटा, पूर्वराष्ट्रसेवक मोहनबहादुर केसी, सामाजिक कार्यकर्ता प्रकाश गौतम, खेमराज उपाध्याय, बालकृष्ण थापामगर र जोगबहादुर महर्जनलाई सम्मानित गरियो ।

अभिनन्दित व्यक्तित्व जोशीले जीवनलाई सत्यम् शिवम्, सुन्दरम्, बनाउने समय नै बुढ्यौली भएकाले ज्येष्ठ नागरिकले अरुसँग गुनासो नगरेर चिन्तनमनन्मा समय व्यतीत गर्नुपर्ने बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा एक १० शय्याको वृद्धाश्रम निर्माण भएको र त्यसलाई चाँडै सञ्चालनमा ल्याइने जानकारी दिए ।

कोषका सभापति वसन्तराज कार्कीले विसं २०५१ पुस ११ गते तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले मासिक रु १०० वृद्धभत्ता दिन शुरु गरेको दिनलाई गत वर्ष सरकारको निर्णयका आधारमा यस वर्षबाट दिवस मनाउन थालिएको बताए ।

सो भत्ता हाल मासिक रु४ हजार पुगेको छ । कार्यक्रममा ज्येष्ठ नागरिकबारे आयोजित कविता प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?