+
+

घोराही-तुलसीपुर सडकमा सास्ती : मर्मत पनि भएन, विस्तार पनि सकिएन

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ पुष १२ गते ११:२८

१२ पुस, दाङ । दाङको मुख्य सडकखण्ड घोराही-तुलसीपुरको चार लेन सडक निर्माण कार्यमा भएको ढिलाइले दैनिक यात्रा कष्टकर बनेको छ । सडक निर्माण कार्यको ढिलाइले घोराही-तुलसीपुर यात्रा सकस र जोखिमपूर्ण बन्दै गएको छ ।

यात्रा सहज होस् भनेर लमही-तुलसीपुर सडकलाई चार लेन बनाउने गरी पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक विस्तार सुरु गरिएको थियो । चार लेन सडक विस्तार गर्ने काम २०७५ सालदेखि सुरु गरिएको थियो । तर पटक-पटक थपिएको म्यादभित्र पनि सडक निर्माणको काम सकिएको छैन । सडक निर्माणको काम अहिलेसम्म करिब ७ प्रतिशतमात्र भएको छ ।

सुरुमा कोरोनाको कारण देखाउँदै र विद्युतका पोल, रुख हटाउन भन्दै १४५ दिन म्याद थपियो । थपिएको म्याद अनुसार सन् २०२२ को जुन १९ -२०७९ असार ५) मा काम सक्नुपर्ने छ । तर अहिलेसम्म काम सुरु नभएकाले थपिएको म्यादमा पनि काम सकिनेमा शंका छ ।

जोखिमपूर्ण यात्रा

सडकका ठाउँ-ठाउँमा खाल्डाखुल्डी छन् । धुलो उडेर कुइरीमण्डल हुन्छ । ‘वर्षौं वित्दा पनि सडक मर्मत हुँदैन,’ उक्त सडकखण्डमा दैनिक यात्रा गर्ने नवीन थापा भन्छन्, ‘दैनिक यात्रा गर्न निकै गाह्रो भइसक्यो । कतै धुलोले हैरानी, कतै खल्डाखुल्डीले ।’

निर्माणाधीन अवस्थामा सडक अलपत्र छोडिएपछि सवारी दुर्घटनाको जोखिम पनि बढेको छ । ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले निर्माणाधीन सडक सवारी दुर्घटनाको मुख्य कारक मान्छन् । ‘सडकमा ठूला-ठूला खाल्डा हुँदा पनि मर्मत भएका छैनन् । सडकको पाइलैपिच्छे साना-ठूला खाल्डा छन्,’ उनी भन्छन्, ‘धेरैजसो दुर्घटना यीनै खाल्डाखुल्डीका कारण हुन पुगेका छन् ।’

चालु आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि पुस १० गतेको अवधिमा जिल्लामा ९४ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङको तथ्यांक छ । जसमा ४१ जनाको मुत्यु भइसकेको छ भने ९६ जना गम्भिर घाइते र ७१ जना सामान्य घाइते भएका छन् ।

उक्त सडकखण्डले जिल्लाका दुई ठूला स्थानीय तह घोराही र तुलसीपुर उपमहानगरलाई जोड्छ । घोराही उपमहानगरपालिकामा पर्ने बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्प|mा प्रालिलाई छ । सम्झौता अनुसार निर्माण कम्पनीले २०७५ पुस १६ गते निर्माण सुरु गरेर ०७८ असार मसान्तसम्म सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सम्झौता भएको उक्त निर्माण कार्य ३३ महिना बित्दा जम्मा ७ प्रतिशतमात्र काम भएको छ ।

सडक सुधार तथा विकास अयोजना अन्तर्गत बबईखोलादेखि तुलसीपुरको हात्तीखौवा चोक सम्मको ३१ किलोमिटर सडकलाई ११ मिटरदेखि १४ मिटरसम्म चौडा गरिने छ । यो सडकखण्ड हाल पाँचदेखि ६ मिटर चौडाइको छ ।

चार लेन सडक निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनीले यसअघि स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई जिम्मा दिएको थियो । तर उक्त कम्पनीले तीन वर्षमा जम्मा सात प्रतिशतमात्र काम गर्‍यो । समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले अष्टभैरव निर्माण सेवा कम्पनीसँग सम्झौता तोडेको छ ।

तथ्य इन्जिनियरिङका प्रतिनिधि विजय पाठकले सो सडक निर्माण सम्पन्न गर्न तीन निर्माण कम्पनीहरुलाई पेटी ठेक्का दिइएको बताए । वर्षदिनमा निर्माण कार्य सक्नेगरी केही दिनभित्रै निर्माण कार्य अघि बढ्ने उनले बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?