+
+

सप्तकोसी विकास बैंकबाट करिब १६ करोड हिनामिना

हरि अधिकारी हरि अधिकारी
२०७८ पुष १२ गते १३:११

११ पुस, विराटनगर । सप्तकोशी विकास बैंकको विराटनगरस्थित कर्पाेरेट कार्यालयबाट करिब १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । पछिल्लो ६ वर्षयता बैंकको रेमिट शाखाबाट १६ करोड हिनामिना भएको प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ ।

बैंकले रकम हिनामिनाको उजुरी परेपछि प्रहरीले रेमिट शाखाको जिम्मेवारी सम्हालेका हिमाल भट्टराईलाई पक्राउ गरेको छ ।

बैंकका अनुसार रेमिट्यान्सको रकम बैंकको पार्किङ एकाउन्टमा जम्मा हुन्छ । रेमिट्यान्सको पार्किङ एकाउन्टबाट सम्बन्धित धनीलाई वितरण गरिन्छ ।

पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको बैंकको प्रारम्भिक अनुमान छ । यो रकम अझै बढी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । ‘अनुसन्धान जारी छ, ‘मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसी भन्छन्,‘हिनामिनाको विवरण आज टुङ्गो लाग्नसक्छ ।’

बैंकको उजुरीपछि प्रहरीले मंसिर तेस्रो साता भट्टराईलाई पक्राउ गरेको थियो । रकम हिनामिना प्रकरणको राष्ट्र बैंक, जिल्ला प्रहरी कार्यालय मोरङ र केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले अनुसन्धान गरिरहेको छ ।

मोरङका प्रहरी प्रमुख जिसी एक जनाबाट मात्रै यतिठूलो घोटाला हुन नसक्ने बताउँछन् । ‘एउटै व्यक्तिले मात्रै यतिठूलो रकम हिनामिना गर्न सम्भव छैन,’ जिसी भन्छन्, ‘संलग्नता अरुको पनि छ, हामी अनुसन्धान गर्दैछौं ।’

प्रहरी स्रोतका अनुसार रेमिट्यान्स फाँटका कर्मचारी भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदी दाजुभाई (मामा–फूपूका छोरा) हुन् । प्रहरीको शंकाको घेरामा सुवेदी पनि छन् । तर ठोस प्रमाण भने भट्टराईको मात्रै छ ।

‘बैंकको पैसा भट्टराईले नै निकालेको देखिन्छ,’ एक अनुसन्धान अधिकृत भन्छन्,‘पार्किङ एकाउन्टमा जम्मा भएको पैसा उनले अन्यन्त्र पनि पठाएका छन् ।’ रेमिटयान्सको पैसा निकाल्नका लागि सोही बैंकमा फेक एकाउन्टहरु पनि खोलेको भेटिएको प्रहरी स्रोतको दाबी छ ।

राष्ट्र बैंकले एक साता लगाएर गरेको अनुसन्धानले पनि रकम हिनामिना प्रकरणमा एउटै व्यक्तिमात्र संलग्न नभएको देखाएको छ । बैंकभित्र र बाहिरबाट पनि संलग्नता रहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

बैंकका सीइओ नविन सुवेदीले पार्किङ एकाउन्टमा आएको रकम हिनामिना गरेको देखिएपछि भट्टराई विरुद्ध उजुरी दिइएको बताए । उनका अनुसार बैंकले यस विषयमा आन्तरिक रुपमा पनि छानविन गरिरहेको छ ।

पक्राउ परेका भट्टराई २०७१ सालदेखि रेमिट शाखाका कार्यरत थिए । २०७१ साल मंसिरमा बैंकको टंकीसिनवारी शाखामा नियुक्त भएका भट्टराई माघदेखि कर्पोरेट कार्यालयको रेमिट शाखामा आएका थिए ।

‘बैंकबाट रकम हिनामिना भएको पत्ता लागेपछि हामीले तत्कालै छानविन समिति गठन ग¥यौं,’ सीईओ सुवेदीले भने, ‘समितिले प्रतिवेदन बुझाएपछि प्रहरीलाई जानकारी गरायौं ।’

बैंक खाताहरुमा रकम ट्रान्सफर गरेर बैंकको सम्पत्ति हिनामिना गरेको देखिएको उनको दाबी छ । एकजना व्यक्तिले मात्र यति ठूलो रकम हिनामिना गर्न सक्छन् भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म त्यस्तै देखिन्छ, अनुसन्धान जारी छ ।’

भट्टराईले बैंक खाता ट्रान्सफर, मोबाइल बैंकिङ र चेक मार्फत रकम निकालेको बैंकको दाबी छ । रेमिट शाखाका प्रमुख भट्टाईले आफैं हिसाब मिलान गर्ने भएकोले हिनामिना भएको ढिलो देखिएको बैंक स्रोत बताउँछ ।

सप्तकोशी विकास बैंक प्रदेश १ को ७ जिल्ला कार्यक्षेत्र रहेको बैंक हो । बैंक सञ्चालक समिति अध्यक्ष डा. अर्जुन बराल सेवाग्राहीले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । हिनामिनाको विषयमा छानविन भइरहेको बताउँदै उनले बचतकर्तालाई कुनै समस्या नपर्ने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?