+
+

यसवर्ष दश मौसमी प्रकोपबाट १७० अर्ब डलर नोक्सानी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १७:१८

१२ पुस, काठमाडौं । यस वर्ष जलवायु परिवर्तनबाट उत्पन्न मौसमी घटनाका कारण लाखौं मानिस प्रभावित भएका छन् भने अर्बौं डलर बराबरको क्षति भएको छ ।

क्रिश्चियन एड नामक संस्थाले तयार पारेको एक प्रतिवेदनअनुसार २०२१ मा मौसमी प्रकोपबाट लाखौं मानिस प्रभावित भएका छन् । त्यस्तै, अर्बौं डलर बराबरको क्षति भएको क्रिश्चियन एडको प्रतिवेदनमा उल्लेख छ । प्रकोपको आर्थिक असर हेर्दा २०२१ सबैभन्दा विध्वंसकारी वर्ष बनेको संस्थाको भनाइ छ ।

अध्ययनका क्रममा एक अर्ब ५० करोड डलरभन्दा बढी क्षति गरेका १० वटा विषम मौसमी प्रकोपको विश्लेषण गरिएको थियो । अध्ययनले अगस्टमा अमेरिकामा आएको इडा नामक आँधी र जुलाईमा युरोपमा आएको बाढीबाट सबैभन्दा धेरै आर्थिक क्षति भएको देखाउँछ ।

इडा आँधीमा परी ९५ मानिसको मृत्यु र ६५ अर्ब बराबरको आर्थिक क्षति भएको थियो । साथै, जर्मनी, फ्रान्ससहितका युरोपेली मुलुकमा आएको बाढीमा २४० मानिसले ज्यान गुमाएका थिए भने ४३ अर्ब डलर बराबरको भौतिक क्षति भएको थियो ।

यसबाहेक, अमेरिकाको टेक्सासमा परेको हिमपात र लगत्तै आएको आँधीबाट २३ अर्ब र चीनको हेनान प्रान्तमा आएको बाढीबाट १७ अर्ब ६० करोड डलर क्षति भएको अध्ययनको निष्कर्ष छ । अर्बौं डलर बराबरको नोक्सानी गरेका अन्य प्रकोपमा क्यानडाको बाढी र फ्रान्सको अंगुर बगैचामा क्षति गरेको तुसारो रहेका छन् ।

यस्तै कैयौं गरीब मुलुकमा आएको बाढी र आँधीहुरीबाट ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन् भने मानिसहरूले गम्भीर कष्ट एवं पीडा भोगेका छन् । दक्षिण सुडानमा आएको बाढीपछि ८ लाख बढी विस्थापित भएका थिए । साथै, मे महिनामा भारत, श्रीलंका र माल्दिभ्समा आएको ताउते आँधीका कारण दुई लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए ।

तर, सबै विषम मौसमी प्रकोप जलवायुबाट उत्पन्न भएको वा जलवायुसँग जोडिएको देखिँदैन । अध्ययनमा समावेश गरिएका अति विध्वंसकारी मौसमी प्रकोपमध्ये अधिकांश विकसित मुलुकमा आएका थिए । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?