+
+

मोटाएको आयात : परिमाण बढ्यो कि मूल्य ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ पुष १३ गते १४:००

१३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्‍यो । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष यसै अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको मात्र वस्तु आयात भएको थियो ।

मालवस्तुको आयात परिमाणमा उल्लेख्य वृद्धि नदेखिए पनि आयातका लागि मुलुकबाट बाहिरिने रकम गतवर्ष भन्दा ३ खर्ब १२ अर्ब रुपैयाँले बढेको पाइएको छ । आयातका लागि बाहिरिने रकम बढेपनि आयातको परिणाम घटेको देखिन्छ ।

अन्तर्राष्ट्रिय व्यापारमा १० देखि १५ प्रतिशतसम्म वृद्धि सामान्य मानिन्छ । तर, परिमाणमा खासै वृद्धि नदेखिनु र वस्तु आयातमा गरिने लगानी ५९ प्रतिशतले बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा बढेको महँगी मुख्य कारक रहेको विभागको विश्लेषण छ ।

चालु आवको आयात तथ्याङ्कले २०७२/०७३ भन्दा पहिले कहिल्यै ननाघेको वाषिर्क ८०० अर्बको आयात यस पटक भने ५ महिनामै नाघेको छ । आयातमा धेरै रकम बाहिरिनुमा कुल आयातको ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि नै प्रमुख कारण रहेको विभागका तथ्याङ्क अधिकृत मोहन पुडासैनी बताउँछन् ।

गतवर्ष मंसिर महिनामाभन्दा यस वर्ष मंसिरको आयात ६५ अर्ब रुपैयाँले बढी छ । गत वर्ष मंसिरमा एक खर्ब २३ अर्बको माल वस्तु आयात गरेको नेपालले यस वर्ष समिक्षा अवधिमा एक खर्ब ८८ अर्ब रुपैयाँको आयात गरेको विभागले जनाएको छ ।

पेट्रोलियमको आयातमा अत्यधिक खर्च

नेपालले सबै धेरै आयात गर्ने वस्तु डिजेलमा चालु आवको पाँच महिनामै गतवर्ष भन्दा झण्डै दोब्बर रकम बाहिरिएको छ । गत वर्ष भन्दा डिजेलको आयात परिमाण १४.५ प्रतिशतले मात्रै वृद्धि भए पनि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण डिजेलका लागि गरिने लगानी दोब्बरले बढेको भन्सार विभागले जनाएको छ ।

विभागका तथ्याङ्क अधिकृत पुडासैनीका अनुसार चालु आवको पाँच महिनामा ६ लाख ४५ हजार ३१३ किलोलिटर डिजेल आयात गर्न नेपालले ४९ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । जबकी गतवर्ष समिक्षा अवधिमा ५ लाख ६४ हजार ६८५ किलोलिटर डिजेल नेपालले २३ अर्ब ४३ करोड रुपैयाँमा मात्रै खर्च भएको थियो । गत वर्ष प्रतिलिटर ४१ रुपैयाँमा आसतमा डिजेल आयात भएकोमा यो वर्ष औसत ७४ रुपैयाँ प्रतिलिटर डिजेलको लागत देखिएको विभागले जनाएको छ ।

गत वर्ष प्रतिकेजी एक हजार ९९ रुपैयाँ ९६ पैसा लगानी परेको एलपी ग्यासको लागत बढेर यो वर्ष दुई हजार ३११ रुपैयाँ ७ पैसा पुगेको छ । आव २०७७/०७८ को पाँच महिनामा १८ करोड ३२ लाख ६४ हजार ५४८ किलो ग्यास आयात गरेकोमा यो वर्ष ग्यास आयातको परिमाण २१ करोड ६७ लाख ६२ हजार ५५७ किलो ग्यास आयात गरेको देखिन्छ ।

गत वर्ष एक किलोलिटर पट्रोल खरिदका लागि एक हजार १९ रुपैयाँ ७ पैसा खर्च गरेको नेपालले यो वर्ष सोही परिमाणमा पेट्रोल खरिद गर्न दुई हजार ४ सय १० रुपैयाँ ७ पैसा खर्च गरेको विभागको तथ्याङ्मा उल्लेख छ । गत वर्ष २२ लाख ७९ हजार ४७ किलोलिटर पेट्रोल आयात भएकोमा यस वर्ष पाँच महिनामा ३० लाख ६१ हजार २४ किलोलिटर पेट्रोल नेपाल भित्रिएको छ ।

मोबाइल, तयारी कपडा र तेलमा पनि दोब्बर लागत 

भन्सारको पाँच महिनाको तथ्याङ्कअनुसार मोबाइल, वनस्पती तेल र तयारी कपडा आयातमा  पनि गतवर्ष भन्दा लागत झण्डै दोब्बरले बढेको छ । गत वर्ष नेपालले प्रतिकिलोलिटर एक हजार ४४७ रुपैयाँ ५२ पैसा लागतमा १५ करोड ३८ लाख ३० हजार लिटर भटमासको कच्च्ा तेल आयात गरेको थियो । तर, चालु आवमा प्रतिकिलोलिटर ३ हजार ३६६ रुपैयाँ ५५ पैसा लागतमा ९८ करोड ५७ लाख १९ हजार लिटर तेल नेपाल आयात भएको छ ।

गत वर्ष प्रतिकिलोलिटर १९९ रुपैयाँ ९९ पैसा लागत परेको पाम कच्चा तेलको लागत यो वर्ष दुई हजार ४६१ रुपैयाँ ७६ पैसा पुगेको छ । नेपालले उच्च मात्रामा आयात गरेको र मूल्य बढेको अर्को वस्तु हो मोबाइल फोन । गत वर्ष प्रति एक थान लागत एक हजार ६४ रुपैयाँमा २७ लाख ७२ हजार ८४३ थान मोबाइल आयात भएकोमा यो वर्ष प्रतिथान मोबाइलको लागत दुई हजार २९७ रुपैयाँ २५ पैसा पुगेको छ । यो वर्षको पाँच महिनामा ३० लाख ६० हजार ४३७ थान मोबाईल नेपाल आयात भएको छ ।

यस्तै तयारी कपडामा पनि प्रतिथान लागत गत वर्ष भन्दा धेरै छ । २०७७/०७८ को पाँच महिनामा प्रतिथान एक हजार २९४ रुपैयाँ ५५ पैसा लागत परेको तयारी कपडामा यो वर्ष लागत बढेर एक हजार ७४६ रुपैयाँ ४९ पैसा पुगेको छ ।  गत वर्ष ९ करोड १९ लाख ८० थान तयारी कपडा आयात भएकोमा यो वर्ष १० करोड १५ लाख ८० हजार थान तयारी कपडा नेपालले खरिद गरेको छ ।

सुन, चाँदी र चामलको आयात अस्वभाविक

भन्सारको विवरणअनुसार गत बर्ष पाँच महिनामा एक हजार किलो सुन आयात भएकोमा अहिले यसको आयात तीन गुणाले बढेको छ । चालु आवको पाँच महिनामा २ हजार ८०० किलो सुन आयात भएको विवरणमा उल्लेख छ ।

यस्तै गत वर्ष कुल २६ मेटि्रक टन चाँदी आयात भएकोमा अहिले अहिले पाँच महिनामा चाँदीको आयात १५६ मेटि्रकटन पुगेको भन्सार विभागले जनाएको छ ।

गत वर्ष पाँच महिनामा अवधिमा ४ अर्ब ८५ करोडको चामल आयात भएकोमा अहिले पाँच महिनामै ७ अर्बको चामल आयात भएको भन्सारले जनाएको छ ।

उपभोग्य वस्तु आयात नीतिमा प्रश्न

झण्डै उस्तै परिमाणको वस्तु आयातका लागि दोब्बर लागत पर्नुले मुलुकको शोधानान्तर अवस्थामा थप दवाद सृजना गर्ने नेपाल राष्ट्र बैंकको चिन्ता छ । वस्तु आयातको लागतमा भएको वृद्धिसँगै उक्त आयातबाट बढ्ने निर्यात वा उत्पादनमा प्रगति नभए त्यो मुलुकको हितमा नहुने केन्द्रीय बैंकको ठम्याइ छ ।

आयातसँगै निर्यात बढ्ने, रेमिट्यान्स भित्रिने र सरकारी ऋण तथा लगानी थपिने वातावरण भए आयातले मात्रै चिन्ता गर्नु नर्पर्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्ट बताउँछन् । तर, विदेशी मुद्रा भित्रिने क्रम साँघुरो हुने र बाहिरिने कार्य बढ्नु जोखिमयुक्त भएको उनको बुझाइ छ ।

स्वदेशमै उत्पादन गर्न सकिने र आयातलाई प्रतिस्थापन गर्न सकिने वस्तुलाई विशेष जोडदिनु पर्नेमा भट्ट जोड दिन्छन् । ‘इन्धनको खपत क मगर्न बिजुलीको प्रयोग बढाउने र कृषि उपजको परनिर्भता घटाउन सोच्ने बेला आयो’ प्रवक्ता भट्टले भने ।

अन्तर्राष्ट्रिय व्यापारमा कस्ता वस्तु आयात गर्न दिने भन्नेबारे सोच्ने बेला भएको भन्सार विभागको भनाइ छ । अत्यवश्यक बाहेकको वस्तु आयात र खरिदमा सोच्नु पर्ने बेला आएको विभागका निर्देशक एवम् प्रवक्ता पुण्यविक्रम खड्का बताउँछन् ।

यसका लागि नयाँ गाडी फेर्ने, नयाँ मोबाइल बोक्ने र कृषि वस्तुमाथिकेा परनिर्भरतामा सोच्ने बेला आएको खड्का बताउँछन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?