+
+

ल्होसार देखाउने कि बचाउने ?

देवराज गुरुङ देवराज गुरुङ
२०७८ पुष १५ गते ७:३६

मूलतः देशमा संघीयताको कार्यान्वयनसँगै पहिचानका सवालहरू निकै उठे । सामान्य अर्थमा कुनै जातजाति, भाषा, धर्म, वर्ग, क्षेत्र, भूगोल, लिंग, पेशा आदिका आधारमा हुने चिनारी अर्थात् परिचयलाई पहिचान भनिन्छ । जातीय, सांस्कृतिक र भाषिकतासँगै पहिचानका लागि ऐतिहासिक निरन्तरता र भौगोलिक, क्षेत्रगत निरन्तरता पनि उत्तिकै महत्वपूर्ण हुन् । माथिका अवयव पहिचानका आधार हुन् । यतिबेला विशेषतः जनजाति, दलित, महिला, मधेशी समुदायमा पहिचानको सवालहरू पेचिलो गरी बहस र उठान हुने गरेको छ । अर्काेतर्फ पहिचानको नाममा विकृति पनि देखिन थालेको छ । आदिवासी जनजातिहरूले पहिचानको नाममा गणतन्त्र पश्चात् आफ्नो नितान्त मौलिक पर्वहरूलाई टँुडिखेलमा पस्कने संस्कारले पहिचान माथि प्रश्न उठ्न थालेको छ । यसले भएको पहिचान गुम्ने संकेत गर्छ ।

ल्होसार के हो ?

गुरुङ अर्थात् तमुहरूको नयाँ वर्ष हो ल्होसार । गुरुङ भाषामा ल्हो भनेको वर्ग -वर्ष) र सार भन्नाले शुरुआत अर्थात् आरम्भ भन्ने जनाउँछ । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आ-आफ्नो तिथि-मिति अनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ नयाँ वर्षको आरम्भ भन्ने नै हो ।

चक्रीय रूपमा विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने गर्दछ । जसलाई तमु भाषामा ल्हो -वर्ग) भन्ने गर्दछ । यस वर्ष अर्थात् पुस १४ गतेसम्म ल्वों ल्हो (गाई वर्ग) थियो भने पुस १५ बाट तो ल्हो (बाघ वर्ग) प्रारम्भ हुनेछ । उदाहरणको रूपमा तमु समुदायमा कसैको उमेर सोध्नु परेमा सालको सट्टामा ल्हो सोध्ने प्रचलन छ ।

टुँडिखेलको ल्होसार संस्कृति कि विकृति ?

शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ । तमु समुदायमा यो भनाइ निकै नै लोकपि्रय छ । शास्त्र, परम्परा र संस्कृतिलाई मानव जातिको अस्तित्वसँग जोडिएको छ । संस्कृति नभए हाम्रो पहिचान नै गुम्ने खतरालाई माथिको भनाइले इङ्गित गर्दछ । संस्कृति र परम्परासँग आफ्नो अस्तित्व देख्नेहरूले यसको रक्षार्थ अब सोच्ने समय आएन र ?

दोस्रो पुस्ताको मस्तिष्क र पाठ्यक्रमहरूमा मौलिक पर्वको गलत मान्यताहरू संस्थागत भए भने त्यसको जवाफ कसले दिन्छ ? त्यसैले संस्कृति भन्ने कुरा एक दिन टुँडिखेलमा देखाउने होइन, मानिसको व्यावहारिक जीवनमा देखाउनुपर्दछ । अनि मात्र त्यो जीवन्त र व्यावहारिक हुुन्छ

सामान्य भाषामा संस्कृति भनेको, जीवन जिउन सिकाउने र एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुने जीवित प्रक्रिया हो । संस्कृति जीवन हो, मान्यता हो, पहिचान हो, दर्शन हो र विचार पनि । अनि त्यही पहिचानलाई हामी बिटुलो पार्न लाग्छौं भने हाम्रो भविष्य र पहिचान कहाँ छ ? अनि जुन विषयलाई हामीले पहिचान मानेका छौं, त्यसैले पहिचान खोज्न थालेपछि हाम्रो पहिचानको हविगत के हुन्छ ? यही खतराको संकेत हो टुँडिखेलको ल्होसार ।

आफैं पहिचान बोकेको ल्होसारले आˆनो पहिचान खोज्दै, भौंतारिंदै हिंड्नुपरेको छ । दूधको साक्षी बिरालो भने झैं हामीचाहिं टुँडिखेलमा ल्होसार मनाएर आफूलाई पहिचानवादी ठान्छौं र टुँडिखेलमा ल्होसार मान्न पाएकोमा गर्व गर्छौं ।

दोस्रो प्रसङ्ग, विद्यालय तहमा पढ्दै गरेको गुरुङ समुदायको कुनै बच्चालाई ल्होसार के हो ? भन्ने प्रश्न गर्‍यो भने उत्तर कस्तो आउला ? उत्तर सहज छ, ल्होसार टुँडिखेलमा मान्ने पर्व हो । पक्कै पनि प्रश्नको उत्तरले पहिचानको दिशा र गतिको मापन गराउन सहयोग गर्दछ । सहजै भन्न सक्छौं हाम्रो संस्कृति पनि प्रश्नको उत्तरकै बाटोमा बगिरहेको छ । के हामीले खोजेको पहिचान यही हो ? पहिचानको नाममा हामीले कुन बाटो अँगालिरहेका छौं ? माथिको प्रश्न र उत्तरले अबको हाम्रो पहिचानको बाटो प्रष्टै देखाएको छ । अनि हामीलाई पछि पारियो भन्दै पहिचानको नाममा उप|mने ? पारियो कि परियो ? कारण पहिले हामीभित्र खोज्ने कि ? राज्यको नागरिकको हैसियतले पहिचानको विषयमा एकखाले बहस पक्कै आवश्यक छ । राज्यका अंगहरूमा आफ्नो उपस्थिति खोज्नु जरूरी छ । वषर्ाैंदेखि दबिएर रहेको समुदायले आफ्नो अस्तित्व खोज्ने उपयुक्त समय पक्कै हो । तर हामीसँग के छ ? हाम्रो मौलिकता के हो ? हाम्रो संस्कृति के हो ? के देखाउने ? के बचाउने भन्ने कुरा सम्बन्धित समुदायमा ज्ञान भएन भने पक्कै पनि हाम्रो पहिचान गुम्ने खतरा छ । यतिबेला हामी सामु भुईंको टिप्ने कि पोल्टाको जोगाउने भन्ने प्रश्न पनि सँगै जोडिएर आउँछ ।

माथिको प्रश्न र उत्तरलाई हेर्दा अबको पुस्ताले ल्होसार भनेको टुँडिखेलमा मनाउने पर्वको रूपमा स्थापित गराउने लगभग निश्चित छ । त्यसका साथै भोलिका दिनहरूमा विद्यालयका पाठ्यक्रमहरूमा ल्होसार टुँडिखेलमा मनाउने मौलिक पर्व हो भन्ने दिन पनि नआउला भन्न सकिन्न । पहिचानको नाममा गरिएको संस्कृतिको प्रदर्शनले गलत पहिचान स्थापित गराउने कुरा निश्चित छ । दोस्रो पुस्ताको मस्तिष्क र पाठ्यक्रमहरूमा मौलिक पर्वको गलत मान्यताहरू संस्थागत भए भने त्यसको जवाफ कसले दिन्छ ? त्यसैले संस्कृति भन्ने कुरा एक दिन टुँडिखेलमा देखाउने होइन, मानिसको व्यावहारिक जीवनमा देखाउनुपर्दछ । अनि मात्र त्यो जीवन्त र व्यावहारिक हुुन्छ ।

तेस्रो प्रसङ्ग, टुँडिखेलको ल्होसार पूँजीवादी व्यापारको हिस्सा बनेको छ । हाम्रो मौलिक भनिएका पर्वमा प्रयोग गरिने भेषभूषाहरू समेत ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ । विदेशीले व्यापारको नाममा बनाएको पहिरनमा आफ्नो पहिचान खोज्ने हामी कस्तो पहिचानवादी ? पूँजीवादलाई प्रश्रय दिने गरी रक्सी कम्पनीले होर्डिङ बोर्ड राखेर गरिएको विज्ञापनले हाम्रो पहिचान र संस्कृतिको मापन सजिलै गराउँछ । अनि त्यस्ता विज्ञापनहरूले हाम्रो मौलिकता बचाउला ? हाम्रो पुस्तालाई हामीले कस्तो संस्कृति हस्तान्तरण गर्दैछौं ? हामीले हाम्रो संस्कृति र पहिचानलाई कुनै खास दिनको लागि मात्रै प्रयोग गर्ने कि दैनिक जीवनयापनसँग जोड्ने ? अर्काेतर्फ आफूलाई पहिचानवादीको अगुवा ठान्नेहरूले टुँडिखेलमा पहिचानको कुरा गर्दा, राजनीतिक पहिचान हुने र सांस्कृतिक पहिचान नहुने हो भने पहिचानको कुरा किन गर्ने ? त्यसैले हामीले आफैंलाई आफैंले प्रश्न गर्ने समय आएको छ । हामी प्रदर्शनकारी बन्ने कि अभ्यासकारी ? यसरी प्रश्नहरूको चाङबाट हेर्दा हाम्रो मौलिकता गुम्ने खतरा छ ।

अन्त्यमा, ल्होसारलाई खुल्लामञ्चबाट घर-घरमा भित्र्याउनुकै कुनै विकल्प छैन । ल्होसारलाई खुल्लामञ्चमा प्रदर्शन गर्दैमा संस्कृति र पहिचानको संरक्षण हुनेवाला पनि छैन । आदिवासी जनजातिहरू विभिन्न कालखण्डहरूमा शिकार बन्दै आएको कुरा इतिहास साक्षी नै छ । चाहे पृथ्वीनारायण शाहको राज्य एकीकरणको नाममा होस् या जंगबहादुरको शासनकालमा । पृथ्वीनारायणले हिन्दू राज्य निर्माण गर्ने क्रममा जातीय पहिचान सहितको राज्यहरू ध्वस्त गरेको उदाहरण हामीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा इतिहासमा पढेकै छौं । अनि हामीलाई इतिहास पढाउने गरिन्छ, भुरे-टाकुरे राज्यहरूलाई मिलाएर राज्य एकीकरण गरियो । के त्यो इतिहास पहिचानवादीहरूको लागि स्वीकार्य छ ?

त्यसैको निरन्तरतामा लागेका जंगबहादुर राणाले जनजाति लगायत दलित समुदायलाई पछाडि पार्नको लागि वि.सं. १९१० मा बनाएको मुलुकी ऐन नै काफी छ । जात व्यवस्था नभएको जनजातिहरूमा समेत मासिन्या र नमासिन्या गरी दुई भागमा विभाजन गरिनु आफैंमा न्यायसङ्गत छैन । पृथ्वीनारायणले निरन्तरता दिएको हिन्दू राज्य निर्माण अभियानमा जंगबहादुरले कानून नै निर्माण गरेर लाद्ने कुरा कत्तिको उचित छ ? यसको बहस आजको सङ्घीय गणतान्त्रिक मुलुकमा हुन जरूरी छ । अर्काेतर्फ हिन्दू राज्यलाई बलियो बनाउने क्रममा जंगबहादुरले जनजातिहरूलाई जबर्जस्त दशैं मनाउन लगाएको कुरा छर्लङ्गै छ । जंगबहादुरले वि.संं. १९३३ मा दशैं नमानेको भन्दै धनकुटाका रामलिहाङ र रिदामा आठपहरियालाई झुन्ड्याएर मृत्युदण्ड दिई अन्य आदिवासीलाई पनि जबर्जस्ती हिन्दू पर्व मान्न दबाब दिए र ढोकामा बलि दिएको प्रमाण दिन रगतको छाप लगाउने कुरा इतिहासको कुनाहरूमा भेटिन्छन् ।

इतिहासको विभिन्न कालखण्डमा शासकहरूले जनजातिहरूमाथि विभिन्न बहानामा अत्याचार गरेकै हो । थिचोमिचो र अत्याचार पक्कै थियो इतिहासले त्यो बताउँछ । आजको समयमा त्यसको सकारात्मक समीक्षा हुन जरूरी छ । तर हिजो हामीमाथि थिचोमिचो र दबाव थियो भन्दैमा शासकहरूसँग उँचाइ बराबर गर्ने नाममा भएको संस्कार र संस्कृति नै विकृत हुने गरी प्रतिस्पर्धामा लाग्दा त्यसको नतिजा कस्तो हुन्छ ? त्यसैले हामीले हाम्रो पहिचान र संस्कृतिलाई देखाएर होइन बचाएर बलियो बनाउनुपर्छ । सकारात्मक र सही ढंगले इतिहासको समीक्षा जरूरी छ । शासकहरूले त्यसको वातावरण सिर्जना गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?