
१५ पुस, काठमाडौं । मित्र आधारभूत विद्यालय, चाबहिलको साढे पाँच दशक लामो इतिहास छ । २०२२ सालमा ‘पाटी पाठशाला’का रुपमा स्थापना भएको यो स्कूलमा २०२५ सालदेखि २५ वर्ष गणेश मन्दिरको पाटीमा कक्षा १ देखि ३ सम्म पठनपाठन भयो । पूर्वप्रधानाध्यापक उद्धव भण्डारीका अनुसार पाटी जीर्ण हुँदै गएकाले २०५० मा सबै पक्षको सहमतिमा साविकको गाउँ पञ्चायतको भवनमा सारियो ।
विद्यालयमा कक्षाकोठाको दुःख सकिएको छैन । ईसीडीदेखि कक्षा आठसम्म सञ्चालन अनुमति पाएको विद्यालयले भवनको ६ वटा कोठा मात्र प्रयोग गर्न पाएको छ ।
पर्याप्त कक्षाकोठा नभएकै कारण बिहान र दिउँसो गरी दुई सिफ्ट पठनपाठन गराउनु परेको छ । बिहान ६, ७, ८ कक्षाका विद्यार्थीले पढ्छन् भने दिउँसो बाँकी कक्षाका विद्यार्थी । कोठाकै अभावमा गैरसरकारी संस्थाले दिएको ६ वटा कम्प्युटर प्रयोग गर्न सकिएको छैन भने किताबहरु बोरामा कोचेर राख्नु परेको छ । प्रधानाध्यापक उमा निरौलाले दुखेसो पोखिन्, ‘यसलाई छुट्टै कोठा बनाएर व्यवस्थित लाइब्रेरी बनाउन मन छ, तर विद्यार्थी पढ्नका लागि कक्षाकोठा पुगेको छैन ।’

१७२ जना विद्यार्थी अध्ययनरत विद्यालयले कक्षाकोठाको अभाव झेलिरहँदा भवनको माथिल्लो तलामा भने जीम सेन्टर चलिरहेको छ । सदन स्मृति क्लबले सज्जन जीम सेन्टर चलाएको हो ।
कक्षाकोठा अभाव भएपछि विद्यालय प्रशासनले जीम सेन्टर सार्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकारवालासँग संवाद गरेको थियो । तर नजिकै अरु विद्यालय पनि छन्, किन यो चाहियो भन्ने आशय व्यक्त गरेको गुनासो प्रधानाध्यापक निरौलाले गरिन् । ‘मभन्दा अघिका प्रधानाध्यापकले पनि प्रयास गर्नुभएको रहेछ । म आएपछि पनि कुरा गरें, तर जीम स्वास्थ्यसँग जोडिएको मात्र होइन, विद्यालय नै विद्यालय किन चाहियो भन्नेसम्म कुरा आए’ उनने भनिन् ।
जीम सञ्चालक डोमी शेर्पा भने क्लब भएको भवनमा विद्यालय आएर बसेकाले गुनासो गर्न नमिल्ने बताउँछन् । भन्छन् ‘यो सामुदायिक क्लब हो । क्लबको भवनमा विद्यालय राखिएको हो । विद्यालयको भवन पनि होइन, जग्गा पनि होइन ।’
शेर्पाले भने जस्तै यो भवन वा भवन भएको जग्गा विद्यालयको होइन । तर क्लबको पनि होइन ।
काठमाडौं महानगरपालिका ७ का वडाध्यक्ष शुद्ध डंगोलका अनुसार यो भवन तत्कालीन गाउँ पञ्चायतको भवन हो भन्ने थाहा छ । तर कसको नाममा छ भन्ने खोजिएको छैन ।
प्रधानाध्यापक निरौला भन्छिन्, ‘यो गाउँ पञ्चायतको भवन हो । पञ्चायत हटेपछि खाली भएको भवन प्रयोग गर्न पाइने भनेको छ । विद्यालय वा कुनै क्लबलाई भन्ने छैन ।’
२२ वर्ष (करीब ७ वर्ष शिक्षक र १५ वर्ष प्रधानाध्यापक) विद्यालयमा काम गरेका पूर्वप्रधानाध्यापक भण्डारी आफ्नो पालामा विद्यालयलाई थप व्यवस्थित बनाउन धेरै प्रयास गरेको बताउँछन् । भन्छन्, ‘स्थानीयको चासो नहुँदा मेरो प्रयास सफल भएन ।’ यहाँ पढ्ने बालबालिका भनेको घरेलु श्रमिकका, निम्न आयस्रोत भएकाहरुका बालबालिका भएकाले पनि कसैको चासोको विषय नबनेको उनको भनाइ छ ।
उनले हाल दीर्घायु गुरु अस्पताल भएको जग्गा शिक्षण संस्थाकै भएको र विद्यालय सञ्चालनका लागि बकसपत्र भएको थाहा पाएपछि उनले विद्यालयको नाममा ल्याउन पहल गरे । ‘महेन्द्र चिल्ड्रेन पेडागोजी’ शिक्षण संस्थाको नाममा रहेको उक्त जग्गा बकसपत्रको बलमा टहरा बनायो । तर बकसपत्र दिने व्यक्तिकै परिवारले रिट हालेपछि हाल मुद्दा सर्वोच्चमा पुगेको प्रधानाध्यापक उमा निरौलाले बताइन् ।
अहिले विद्यालय नजिकै रहेको सार्वजनिक जग्गा दिन वडा कार्यालयले मौखिक सहमति जनाएको छ । भनिन्, ‘महानगरले पनि कक्षाकोठा निर्माणको लागि रकम दिने भएको छ । यहाँ सकेपछि सर्वोच्चमा रहेको मुद्दाबारे छलफल गर्ने भन्ने छ ।’
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4