+
+
प्रचण्डको दस्तावेजमा बाबुरामको टिप्पणी :

प्रचण्ड जोखिम लिने मान्छे हुन् तर २०औं शताब्दीतिरै फर्किए

उहाँ त उल्टो दिशातर्फ पो गइरहनुभएको छ

आफूले लिएको बाटोबाट निराश भएर पुरानै शब्दजाल प्रयोग गरेर साथीहरूलाई अल्झाउने र आफ्नो शक्ति देखाउने भन्ने भ्रममा पर्नुभयो कि ! यी शब्दहरू भनेर पुराना माओवादी साथीहरूलाई जम्मा पारिराखौं, त्यसपछि अर्कै बाटो लागौंला भन्न खोजेको हो कि भन्ने उहाँलाई नै थाहा होला ।

डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई
२०७८ पुष १५ गते १७:२२

हिजो जनयुद्ध शान्ति प्रक्रिया हुँदै भर्खरै नयाँ प्रक्रियामा प्रवेश गरेको चरणमा हामी थियौं । हेटौंडा महाधिवेशनसम्म पनि संविधान बन्ने क्रममा नै थियो । आन्दोलनले स्पष्ट दिशा पक्रिसकेको थिएन । एक हिसाबले हेटौंडा महाधिवेशन पनि औपचारिकतामा मात्र सीमित थियो । विचार, नीति, कार्यक्रम र दस्तावेजमा एकरूपता थिएन । नेताहरूका बुझाइ फरक–फरक थिए ।

आजको परिस्थिति फरक हो । आज संविधान बनाएर, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेर नयाँ प्रक्रियामा प्रवेश गरिसक्यौं । समाज रूपान्तरणको नयाँ चरणमा प्रवेश गरिसक्यौं ।

वैज्ञानिक ढंगले हेर्दा यो भनेको नेपालमा एक प्रकारले क्रान्तिको राजनीतिक प्रक्रियालाई सापेक्ष पूर्णतापछि पूँजीवादी आर्थिक, सामाजिक रूपान्तरण गरेर समाजवादको दिशातिर जाने यो एउटा चरण हो । हिजो राजनीतिक मुद्दाहरू नै टुंगो लागिसकेको थिएन । पूँजीवादी क्रान्तिका राजनीतिक मुद्दाहरू सापेक्ष ढंगले टुंगो लागेका छन्, भलै पूर्ण भएको छैन । मैले संविधानलाई ‘आधा भरी, आधा खाली गिलास’ को संज्ञा दिएको थिएँ ।

संविधान जारी भइसकेपछि प्रचण्डजीसँग हाम्रो बाटो फाट्यो । अहिले हामी फरक बाटोमा छौं । तर, मेरो बुझाइ र अपेक्षा प्रचण्डजी पनि गतिशील ढंगले सोच्ने मानिस हो । कतिपय अवस्थामा उहाँले गम्भीर गल्ती पनि गर्नुभयो । शान्ति प्रक्रियामा प्रवेश गरेपछि मुख्य एजेण्डा नै संविधान बनाउनुपथ्र्याे । यो बनाउनतिर नलागिकन विभिन्न ढंगले प्रभावित भएर विद्रोह भन्नेतिर जानुभयो त्यसले हामीबीच पछिल्लो समय शंका ल्याएको हो । १२÷१३ वर्षपछि भए पनि उहाँले स्वीकार्नुभएछ, त्यो राम्रो कुरा हो ।

अब चाहिं आर्थिक, सामाजिक आधारलाई मुख्य रूपमा बदलेर नयाँ राजनीतिक परिवर्तनको दिशामा जाने चरणमा त्यसलाई गम्भीरतापूर्वक लिएर नेपाली राजनीतिक अर्थतन्त्रीय ढंगले व्याख्या, विश्लेषण गरेर जानुपर्थ्यो । यसका समस्यालाई पहिचान गरेर अग्रगामी ढंगले हल गर्नेतिर उहाँ जानुपर्थ्यो । तर, उहाँको दस्तावेज पढ्नेबित्तिकै के लाग्यो भने उहाँ त उल्टो दिशातर्फ पो गइरहनुभएको छ ।

युद्धकालीन धङधङी प्रचण्डको दस्तावेजमा देखियो । भलै युद्धकालपछि पनि २१औं शताब्दीको जनवादको विकास भनिरहेका थियौं । त्यतिबेला एकदलीय प्रणालीले हुँदैन, प्रतिस्पर्धी ढंगले जानुपर्छ र नेतृत्वको सवालमा आजीवन एउटै व्यक्ति पदमा बस्नुहुँदैन भन्ने कुरा गरेका छौं । हामीले अलि सिर्जनशील ढंगले सोच्न खोजेकै थियौं । नयाँ परिवेशमा उही पुराना धङधङी बोके जस्तो गरेर उहाँले अहिले दस्तावेज पेश गर्नुभएछ । शब्द प्रयोग, भाषा हेर्दा उहाँ चाहिं पुरानै नोस्टाल्जियामा रमाइरहनुभएको पाएँ ।

विस्मृतिलाई पुनर्ताजगी गरेर आनन्द लिने एउटा प्रवृत्ति हुन्छ, त्यतापट्टि नै उहाँ फर्किन खोजेको देखिन्छ । पछिल्लो चरणमा एमालेसँगको एकता सफल नभएपछि उहाँले राजनीतिक रूपमा सोचे जस्तो फल प्राप्त भएन । उहाँ निराश भएर होला, पुरानै जार्गनलाई अगाडि सार्नुभएको देखियो । निराश भएर बसेका कार्यकर्ता र पुरानै माओवादी पंक्तिको मनोबल उक्साउँछु भन्ने अर्थमा हो वा तीव्र शक्ति आर्जन गर्छु भन्ने हो, त्यो उहाँले जान्ने कुरा हो । दस्तावेज जुन ढंगले लेख्नुभएछ, त्यो समय सान्दर्भिक कत्ति पनि देखिएन ।

म त बडो आश्चर्यचकित पनि परें । उहाँ जस्तो आवश्यक पर्दा जोखिम दिन पनि र लिन पनि सक्ने मान्छेले अहिले त विगतबाट पाठ सिकेर निर्णय लिन सक्नुपर्थ्यो । आफैं भन्नुभा’छ– हिजो संविधान बनाउनेतिरै जोड दिनुपर्थ्यो, विद्रोहको कुरा गरेर बेठीक गरिएछ । यत्ति महसूस गरिसकेपछि त अब भनेको आर्थिक, सामाजिक रूपान्तरणमा जोड दिनुपर्छ भन्ने बेला हो ।

विचारको हकमा माओवाद भट्याइरहनुभा’छ, जबकि माओवाद विद्रोहको एउटा प्रतीक थियो । यो हिजो आवश्यक भए पनि आजको परिस्थितिमा त्यति आवश्यक छैन । यसलाई समीक्षा गरेर साहसपूर्वक नयाँ ढंगको विचारमा अगाडि जानुपर्थ्यो, उहाँ त्यहीं चुक्नुभयो ।

अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दा उहाँ १९/२० औं शताब्दीमा लेनिनहरूले गरेका विश्लेषणतिरै फर्किनुभएको छ । विश्व अर्थतन्त्रको व्यवस्थालाई पनि ठीक ढंगले विश्लेषण गर्नुभएको छैन, अत्यन्त सतही छ ।

नेपालको भूराजनीतिक विश्लेषण र वर्ग सम्बन्धहरूको विश्लेषण, नेपालको अर्थ–राजनीतिको विश्लेषण पनि सतही ढंगले पुरानै शब्दमा गर्न खोज्नुभएको छ । उहाँले जुन आर्थिक नीति भनेर अगाडि सार्नुभएको छ, त्यो अत्यन्त पश्चगामी प्रकृतिको छ । उदाहरणको निम्ति, हामीले यो बीचमा त राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्ने हो, उत्पादक शक्तिको विकास गर्ने हो । त्यो भनेको परम्परागत, निर्वाहमुखी कृषिमा आश्रित र रेमिट्यान्समा आश्रित अर्थतन्त्रलाई औद्योगिक र आधुनिक सेवा, प्रविधि प्रधान अर्थतन्त्र निर्माण गर्ने हो ।

कृषि क्षेत्रको वैज्ञानिक ढंगले रूपान्तरण गर्ने हो । छरछिमेक खासगरी चीन र भारत शक्तिका रूपमा उदय भएका छन्, तिनीहरूसँग ठीक ढंगले सम्बन्ध विस्तार गर्ने हो । बाह्य पूँजी र प्रविधि सम्बन्धी नीति नयाँ ढंगले अवलम्बन गर्ने र १०/१५ वर्षभित्र नेपालको अर्थतन्त्रको प्रगतिशील पूँजीवादको रूपमा रूपान्तरण गरेर समाजवादतिर जाने बाटो लिनुपर्ने थियो । तर, उहाँले हिजोकै पुरातन शास्त्रीय कम्युनिष्ट कोणबाट दस्तावेज लेख्नुभयो । फेरि सामूहिक प्रकारको खेतीपाती गर्ने, सामूहिक ढंगले उद्यम र व्यवसाय गर्ने, शारीरिक श्रमले गाउँ फर्केर जोड्ने भनेर पुरानो प्रकारको जुन शैलीको प्रचण्डले वकालत गर्नुभएको छ, त्यो अहिलेको परिस्थितिसँग मेल खाँदैन । यसले त उल्टो अर्थतन्त्रलाई गतिरोधमा पार्छ ।

हाम्रो अर्थतन्त्रको मुख्य समस्या निरपेक्ष गरीबी र बेरोजगारी हो । हाम्रो उत्पादन र प्रतिव्यक्ति आय नै कम छ । प्रतिव्यक्ति आयलाई कमसेकम १० गुणा विस्तार नगरेसम्म समाजवादको कुरै गर्न सकिंदैन । त्यसैले उत्पादन बढाउन मुख्य जोड दिनुपर्छ । उहाँले पुरानो ढंगले परम्परागत श्रमकै प्रयोग गर्ने, पुरातन कृषि र साना व्यवसाय गर्ने कुरा गरिराख्नुभएको छ, त्यसले कम्बोडिया, उत्तरकोरियाको मोडेलतिर मात्रै लैजान्छ । त्यो अहिलेको परिस्थितिसँग मेल पनि खाँदैन र सम्भव पनि छैन । त्यसकारण उहाँले पुराना नोस्टाल्जियाको मात्रै कुरा गर्नुभयो ।

आजको दुनियाँमा बाह्य पूँजी प्रविधिलाई परिचालन नगरेसम्म केही हुँदैन । राष्ट्रिय अर्थतन्त्र पनि हिजोको जस्तो आत्मनिर्भर भन्ने हुँदैन । आजको युगमा प्रविधि र उत्पादन प्रणालीका तौरतरिका, श्रम र पूँजीको विश्वव्यापीकरण जस्ता कारणले अन्तरसम्बन्धित अर्थतन्त्र विकास भएको छ । त्यसमा टेकेर नै नयाँ ढंगको समाजवादमा जान सम्भव छ ।

हिजोको जस्तो राज्यले नियन्त्रण गर्ने अर्थतन्त्र अहिले सम्भव पनि छैन । अहिले त अन्तरनिर्भर प्रकारको आर्थिक प्रणाली र विकसित प्रकारको समाजवाद परिकल्पना गर्ने हो । पहिलो चरणको अर्थतन्त्रको परिकल्पनामा प्रचण्ड नराम्ररी चुक्नुभएको छ । श्रमको सम्मान गर्नुपर्छ ।

हाम्रो अर्थतन्त्र अलि भुइँफुट्टा प्रवृत्तिको छ । रातारात धनी हुनका निम्ति बिचौलियाको काम गर्ने प्रवृत्ति छ । त्यसका विरुद्धमा श्रमको सम्मान गर्ने र उत्पादनमा जोड दिने भन्ने हुनुपर्ने ठाउँमा उहाँले शारीरिक श्रम १५/२० दिन वा वर्षभरि गर्ने भन्नु त हास्यास्पद कुरा हो । हामीले त श्रमको सम्मान गर्ने पो कुरा हो, आफूलाई श्रम गर्न त कसले रोक्छ ? त्यसैले उहाँ बडो वैचारिक गञ्जागोलमा परेको देखें ।

उहाँले अगाडि सारेको नीति त कामै लाग्दैन तर उहाँ जस्तो गतिशील र जोखिम पनि लिन सक्ने मान्छेले यसो गर्नुको पछाडि केही कारण होलान् । आफूले लिएको बाटोबाट निराश भएर पुरानै शब्दजाल प्रयोग गरेर साथीहरूलाई अल्झाउने र आफ्नो शक्ति देखाउने भन्ने भ्रममा पर्नुभयो कि ! यी शब्दहरू भनेर पुराना माओवादी साथीहरूलाई जम्मा पारिराखौं, त्यसपछि अर्कै बाटो लागौंला भन्न खोजेको हो कि भन्ने उहाँलाई नै थाहा होला ।

केपी शर्मा ओलीले कम्युनिष्ट खोल ओढेर जसरी कम्युनिष्टलाई नै बदनाम गरिसक्नुभयो । उहाँले पनि म असली कम्युनिष्ट त भनिराख्नुभएको छ । प्रचण्डले त्योभन्दा म असली कम्युनिष्ट हुँ भनेर देखाउन खोज्नुभयो । म नै असली बाजेको पेडा हो भने जस्तो गरेर को असली कम्युनिष्ट देखिने भन्ने प्रतिस्पर्धामै प्रचण्ड फस्नुहुँदैनथ्यो । मार्क्सवाद अनुसार रूप पक्ष भन्दा पनि सार पक्ष हेर्ने हो । गुदी खराब छ भने राम्रो खोल ओढाएर हुँदैन ।

विसंगतिपूर्ण विश्लेषण

विश्वमा अहिले विज्ञान, प्रविधि, पूँजी, श्रम सबैको भूमण्डलीकरण भएको छ, पूँजीको मात्रै होइन । उहाँ यहाँनेर पनि चुक्नुभएको छ । पूँजीले असमानता त ल्याएको छ तर योसँगै भूमण्डलीकरणले चेतनाको पनि त अभिवृद्धि गरिरहेको छ नि ! हाम्रा ८० लाख श्रमिकले विश्व चहारेर ज्ञान, चेतना प्राप्त गरिरहेका छन् ।

घरमै बसी–बसी पछिल्लो प्रविधिले ज्ञान, अनुसन्धानका कुरा सिकिराखेका छौं । संसार अन्तरसम्बन्धित भइसकेको छ । हाम्रो अर्थतन्त्र कमजोर भएका कारणले वस्तु आयात बढी गरेका छौं तर हाम्रै लाभको क्षेत्रमा केन्द्रित हुन सक्दा प्रशस्त निर्यात गर्न सक्ने र अन्तरसम्बन्धित अर्थतन्त्र निर्माण गर्ने सम्भावना छ ।

भारत, चीन जस्ता ठूला अर्थतन्त्र भएका देशसँग जोडिएर तिनको मूल्य शृंखलासँग स्टेप मिलाउन सक्ने हो भने हाम्रो अर्थतन्त्रलाई पनि माथि लैजान सक्छौं । भारत, चीन, अमेरिकाको जुन सामरिक चासो छ तीनवटै शक्तिसँग सन्तुलित सम्बन्ध राख्न सक्नुपर्छ । प्रचण्ड भारत र चीनसँग त मौन जस्तो देखिनुभएको छ तर अमेरिकातिर आक्रामक बनिराख्नुभएको छ ।

आखिर पूँजी त राष्ट्रिय भन्ने हुँदैन । चीन र भारतको पूँजी र भोलि नेपालकै पूँजी पनि माथि गएछ भने त्यसको त विस्तारवादी र दोहनकारी चरित्र हुन्छ । त्यो त देश र राष्ट्रियताको कुरा होइन । अरू पूँजीको कुरा नगरिकन अमेरिकन पूँजीको मात्रै विरोध गरेर प्रचण्डले नेपालमा एमसीसी जस्ता सहयोग, अनुदान पनि भित्र्याउन हुन्न भन्नु पनि विसंगतिपूर्ण छ । त्यसैले आन्तरिक रूपमा पनि उहाँको विश्लेषण उपयुक्त छैन र बाह्य शक्तिहरूको विश्लेषण पनि संगतिपूर्ण छैन । प्रचण्डले अगाडि सारेको विचारले उहाँको पार्टी र देशलाई पनि अगाडि बढाउँदैन ।

पूर्व माओवादीहरू मिल्ने विचार, विज्ञान छैन

नेतृत्वले ठीक ढंगले अगाडि लैजान नसक्दा माओवादी विभाजित हुँदै गयो । पालुङटार विस्तारित बैठकमा मैले नै संविधान बनाएर जानुपर्छ भनेर मुख्य लाइन अगाडि सारेको थिएँ । प्रचण्ड र मोहन वैद्यले त्यसको विरोध गर्नुभएको थियो । अहिले ११ वर्षपछि आएर प्रचण्डले गल्ती भएछ भनेर स्वीकार गरिसक्नुभयो । त्यतिबेलै मैले अब उत्पादक शक्ति विकास निर्माण गर्न आर्थिक आधार तयार पार्नमा जोड दिनुपर्छ है भनेको थिएँ । प्रचण्डले यही बाटो समाउनुपर्ने थियो । अब यसको पनि अर्को विकल्प छैन ।

एउटा देशको सीमाभित्र मात्र कैद गरेर विकास ल्याउन सकिंदैन, बाह्य शक्तिसँग पनि सम्बन्ध विस्तार गर्न सक्नुपर्छ भनेर मैले उतिबेलै भनेको हुँ । प्रचण्डले यस विषयमा अझै गल्ती गरिराख्नुभएको छ ।

संविधान बन्ने क्रममै पार्टी टुक्रा–टुक्रामा विभाजित भयो । हामीले चाहिं संविधान जारी गर्ने बेलासम्म धैर्य गरेर बस्यौं । त्यसपछि नयाँ ढंगले अगाडि बढ्नुपर्छ भनेर आइराखेका छौं ।

हिजोका पूर्व माओवादीहरू विभिन्न ठाउँमा छरिएको यथार्थ हो । माओवादी आन्दोलनमा जोडिएका सबै नेता कार्यकर्ताको भावना पनि पूर्व माओवादीहरू एकैठाउँमा भइदिएको भन्ने पनि छ । प्रचण्डले पूर्व माओवादी एकै ठाउँमा बसौं भन्ने भावनात्मक कुरा त गर्नुभएको छ तर त्यसको ठोस आधार छैन ।

नयाँ नीति र विचार नल्याइकन पुरानै एकठाउँमा आऔं भनेर राजनीतिक पार्टीमा नयाँपन आउँदैन । पार्टी र देशको हितमा काम गर्न पनि सक्दैन । त्यसैले भावनात्मक हिसाबले पुराना कुरा गरेर सबैलाई समेट्न खोजे जस्तो त देखिन्छ तर विचार र विज्ञान नभएकाले त्यो सम्भव छैन । हिजोकै टुक्रा जोडेर नयाँ माओवादी बनाउनुको कुनै अर्थ छैन ।

(अनलाइनखबरकर्मी अमृत सुवेदीसँगको कुराकानीमा आधारित ।)

लेखकको बारेमा
डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहेका लेखक नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?