+
+

पुबुदुको दोस्रो इनिङ्सका दुई चुनौती

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा माठ्ठि उठाउने र क्रिकेटमा देखिएको घरेलु विवाद समाधान गर्ने उनको चुनौती छ

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ पुष १५ गते २०:५२

१५ पुस, काठमाडौं । सबै कुरा सामान्य हुन्थ्यो भने यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको तयारी गरिरहेको हुन्थ्यो ।

अष्ट्रेलियामा अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ खेलाडीहरुले बन्द प्रशिक्षणमा मिहिनेत गरिरहेका हुन्थे ।

तर नेपाल क्रिकेट संघ क्यानले खेलाडी ग्रेडिङ विवादमा असन्तुष्टि जनाएपछि कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारवाही गर्दै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको छ । यही कारण अहिले क्रिकेटको विवाद चरम विन्दुमा पुगेको छ ।

अर्कोतर्फ गत सेप्टेम्बरदेखि नेपाली टिम प्रशिक्षकविहीन थियो । क्यानले प्रशिक्षक नियुक्त गरेका पुबुदु दासानायके हालै नेपाल आएका छन् । क्यानले बिहीबार पुबुदुलाई पहिलो पटक मिडियासामु प्रशिक्षकको रुपमा प्रस्तुत गर्दा उनीसामु टी-२० विश्वकपको क्वालिफायरको लक्ष्य भन्दा पनि नेपाली क्रिकेटको विवाद र यसलाई समाधान गर्ने विषयमा धेरै प्रश्न तेर्सिएको थियो ।
मैदानमा खेलाडीलाई खेल्ने कला सिकाउने प्रशिक्षक पुबुदु मैदान बाहिरको विषय कसरी मिलाउने भन्ने विषयको बारेमा जवाफ दिन व्यस्त रहे ।

पुबुदु यसअघि नेपालको प्रशिक्षक रहँदा नेपालले पहिलो पटक टी-२० विश्वकपमा पुर्‍याएका थिए । त्यसपछि नेपाल कुनै विश्वकपमा छनोट हुन सकेको छैन । तर फेरि एकपटक पुबुदुसामु नेपाललाई नेपाललाई विश्वकपमा पुर्‍याउने चुनौती त छ नै त्यो भन्दा नेपाली क्रिकेटको विवाद समाधानमा पनि उनको कुनै न कुनै भूमिकाको अपेक्षा गरिएको छ ।

क्यानका अनुसार उनको सम्झौता दुई वर्षको छ । यो दुई वर्षे यात्राको थालनी गर्दा नै पुबुदुले ठूलो चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

पुबुदु आफैंले पनि पहिला र अहिलेको अवस्थालाई फरक रुपमा हेरेका छन् । ‘म फेरि नेपाल फर्कन पाउँदा खुशी छु । यसअघिको मेमोरी राम्रो रह्यो । २०११ मा आउँदा नेपाल डिभिजन ४ मा थियो । त्यो समय छुट्टै चुनौती थियो’ पुबुदुले भने, ‘अहिले आउँदा नेपाल टी-२० र ओडीआई कन्ट्री भएको छ । बाहिर गएर खेलिसकेका खेलाडी छन् । नेपालमा युवा प्रतिभावान खेलाडी छन् । त्यसैले अहिले चुनौती फरक छ ।’

त्यो चुनौतीलाई सामना गर्ने पहिलो खुड्किलोको रुपमा राष्ट्रिय टिमको छिट्टै बन्द प्रशिक्षण सुरु हुँदैछ । पुबुदुको आगमनमा ढिलाइ हुँदा र कप्तान परिवर्तनको विषयले गर्दा राष्ट्रिय टिमको प्रशिक्षण नै प्रभावित भएको छ ।

फेब्रुअरीमा ओमानमा हुने ग्लोबल क्वालिफायर नजिकिँदै गर्दा अब हुने प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगितालाई टी-२० फर्म्याटको बनाउन राष्ट्रिय खेलकुद परिषद राखेपसंग प्रस्ताव गरेको क्यानले जनाएको छ । पुबुदु र क्यानका क्रिकेट म्यानेजर विनोद दासले पनि प्रधानमन्त्री कप टी-२० फर्म्याटको बनाउन सके त्यसले ग्लोबल क्वालिफायरलाई सहयोग पुग्ने बताएका छन् ।

हालै एन्फाले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्नुका साथै यी दुई खेलाडीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिर राखेको छ । क्यानले गरेको यो कारबाहीप्रति असन्तुष्ट खेलाडीले बल र ब्याट छाड्ने अवस्था नआओस् भन्दै क्यानलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । तर क्यानले त्यसो गरेको छैन ।

पुबुदुले कारवाही गरिएका चार खेलाडी बन्द प्रशिक्षणमा नआए के हुन्छ भन्ने प्रश्नमा त्यस्तो नहोस् भन्ने चाहेको बताए । उनले राम्रो वातावरण बनाएर मात्र काम अघि बढाउने घोषणा समेत गरे । ‘टिममा राम्रो सिस्टम ल्याउन चाहन्छौँ । राम्रो वातावरण तयार गरेर मात्र मैदानमा प्रदर्शन गर्न जान्छौं’ उनले भने ।

पुबुदुले कप्तान भने परिवर्तन नहुने बताए । ‘कप्तान परिवर्तनको अधिकार क्यानलाई छ । कप्तान परिवर्तन हुँदैन’ उनको भनाइ थियो । पुबुदु यसअघि प्रशिक्षक हुँदा उनैले चितवनबाट काठमाडौं ल्याएका सन्दीप त्यसपछि ग्लोबल स्टार हुँदै अहिले राष्ट्रिय टिमको कप्तान बनेका छन् । हाल उनी अष्ट्रेलियामा होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका छन् ।

क्यानले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ तर बन्द प्रशिक्षणमा कारबाहीमा परेका खेलाडी जान्छन् कि जाँदैनन् भन्ने चासोको विषय बनेको छ ।

नेपाली क्रिकेटमा अहिले दुई गुट स्पष्ट देखिएको अवस्थामा यसले कस्तो असर गर्ला भन्ने प्रश्नमा पुबुदुले स्पष्ट जवाफ दिए, ‘नेपाली क्रिकेटमा एक गुट मात्र छ । नेपालको जर्सीमा खेल्न चाहनेलाई टिममा स्वागत छ ।’ यस भनाइले पनि पुबुदु आफ्नो योजनामा दृढ छन् भन्ने देखिन्छ । तर भविष्यमा के हुन्छ त्यो समयले नै देखाउला ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?