+
+

‘गुल्मेली हुम कर’ गीत २१८ डिजिटल प्लेटफर्ममा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १६:२६

१६ पुस, काठमाडौं । नेपाली म्युजिक भिडियो सार्वजनिक गर्ने प्रमुख माध्यम युट्युबलाई मानिन्छ । अन्य डिजिटल प्लेटफर्महरु थुप्रै भएपनि नेपालमा त्यसको प्रयोग हुन सकिरहेको छैन ।

यस्तोमा केही कलाकार तथा कम्पनीहरु पनि छन्, जसले युट्युबमा भन्दा अगाडि आफ्नो गीतको अडियो तथा भिडियो पनि अन्य माध्यममा सार्वजनिक गर्दै आएका छन् । सर्जक तथा गायक सन्तोष केसीले शुक्रबार मात्रै आफ्नो नयाँ गीत ‘गुल्मेली हुम कर’को अडियो तथा भिडियो युटयुबमा भन्दा अघि २१८ वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरेका छन् ।

सन्तोषले अनलाइनखबरसँग भने, ‘गीत ‘मोमो’ एप लगायत २१८ वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरेको छु । नेपालमा २ रुपैयाँ, भारतमा १ रुपैयाँ र अन्य देशमा ९९ पैसा डलर तिरेर हेर्न सक्नुहुनेछ ।’ उनले विगत तीन वर्षदेखि आफ्ना गीतहरु युट्युबमा सार्वजनिक गर्नुअघि यसैगरी अन्य डिजिटल प्लेटफर्ममा सार्वजनिक गर्दै आएको बताए ।

म्युजिक भिडियो निर्माण गर्दा महंगो लगानी लाग्ने र युट्युबबाट मात्र त्यो लगानी उठ्ने सम्भावना नभएपछि विभिन्न डिजिटल प्लेटफर्ममा सार्वजनिक गरेको उनले बताए । यसो गर्दा केही भएपनि राहत हुने उनको भनाइ छ ।

‘अहिलेको गीतमा पनि झण्डै पाँच लाख रुपैयाँ लगानी भएको छ,’ केसीले भने, ‘यी विभिन्न प्लेटफर्ममा थोरै–थोरै स्रोता–दर्शकले हेरिदिनुभयो, सुनिदिनुभयो भने पनि केही रुपैयाँ आउला भन्ने अपेक्षा हो ।’ गीत–संगीत व्यापारको माध्यम थुप्रै भएपनि धेरैले युट्युब मात्र सोच्ने र बुझ्ने गरेको उनी बताउँछन् ।

‘पहिले सीआरबीटी–पीआरबीटीको जमाना थियो, जुन अहिले पनि छ । तर, मानिसहरुले अहिले पनि छ र ? भनेर प्रतिप्रश्न गर्छन्,’ केसी भन्छन्, ‘कतार, दुबई, मलेसिया, साउदीतिर अहिले आरबीटीको व्यापक प्रयोग हुन्छ । टिकटक, फेसबुकबाट पनि गीतको पैसा आउँछ । तर, धेरै सजर्कमा त्यो ज्ञान छैन ।’

उनी युट्युब बाहेकका डिजिटल प्लेटफर्मको प्रयोग विदेशमा रहेका स्रोता–दर्शकले बढी गर्ने गरेको सुनाउँछन् । नेपालमा सांगीतिक क्षेत्रकै धेरै कलाकारहरुलाई यस्ता प्लेटफर्मबारे जानकारी नभएको बताउँदै गायक केसीले भने, ‘रेकर्डिङ गर्‍यो, भिडियो तयार पार्‍यो अनि युट्युबमा सार्वजनिक गर्‍यो भइरहेको छ । अन्य डिजिटल प्लेटफर्मबारे पनि सोच्यौं भने केही भएपनि राहत हुन्छ ।’

सन्तोषकै शब्द एवं संगीत रहेको ‘गुल्मेली हुम कर’ गीतमा सन्तोषसँगै प्रीति आले र समीक्षा अधिकारीको स्वर छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, नम्रता सापकोटा, हर्षिका श्रेष्ठ, सञ्चिता शाही, जसोधा कार्की, विक्रम बुढाथोकी, रमेश केसी, सन्तोष केसी, काजी सुन्दास र कृष्ण सापकोटाको अभिनय छ । क्रान्ति केसीको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलेको छायांकन, निराजन केसीको सम्पादन छ । यो गीत युट्युबमा भने सोमबार मात्रै सार्वजनिक हुने सर्जक एवं गायक केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?