+
+

गिजर कस्तो किन्ने ? कसरी प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १७:३५

१८ पुस, काठमाडौं । केही दिनयता टिकटकमा एउटा भिडियो भाइरल भएको छ । बिजुली जोडेर इलेक्ट्रिक गिजरमा पानी तताएर नुहाउँदा पानीसँगै करेन्ट प्रवाह भएर नुहाउने व्यक्तिलाई करेन्ट लाग्ने गरेको सन्देश भिडियोमा राखिएको छ ।

के यस्तै जोखिम हुन्छ त इलेक्ट्रिक गिजरमा ? लामो समयदेखि इलेक्ट्रिक गिजर बेच्दै आएका एसओएस इलेक्ट्रोनिक्सका सञ्चालक सुशील पराजुली अहिलेसम्म यसरी करेन्ट लागेको गुनासो नआएको बताउँछन् । तर पनि मेसिनरी सामान भएकाले बिजुलीको लाइनमा जोडेर सिधै ननुहाउन सुझाव दिने गरिएको उनी बताउँछन् ।

‘पानी तताएर लाइन बन्द गरेर मात्रै नुहाउन सुझाव दिन्छौं,’ पराजुली भन्छन् । तर पनि अहिलेसम्म करेन्ट लागेको गुनासो भने नआएको उनको भनाइ छ । अहिले बिजुली खपत गर्न राज्यले पनि नीति लिइरहेको बेलामा अरु गिजरभन्दा इलेक्ट्रिक गिजरको प्रयोग उपयुक्त रहेको उनी बताउँछन् ।

त्यसो त मूल्यको आधारमा इलेक्ट्रिक गिजर बजारमा केही महँगो पर्ने गर्छ । किचनको लागि प्रयोग हुने गिजर ३ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ भने नुहाउनका लागि प्रयोग हुने गिजर क्षमताको आधारमा १५ हजार रुपैयाँसम्म पर्ने गर्छ ।

ग्यास गिजरको बारेमा पनि बजारमा चेतावनीमूलक भिडियो प्रशस्तै भेटिन्छन् । भेन्टिलेसन नभएको शौचालयमा नुहाउँदा सास नपुगेर मृत्युको मुखसम्म पुगेका घटना पनि निक्कै देखिन्छन् । तर सबै ग्यास गिजरमा त्यस्तै समस्या हुन्छ त ? ग्यास गिजर अरु गिजरको तुलनामा कति प्रभावकारी हुन्छ ?

नेपालटारमा ग्यास गिजर बेच्दै आएका अमित पाण्डे प्रयोग गर्दा सावधानी नअपनाए ग्यास गिजर पनि जोखिमयुक्त नरहेको बताउँछन् । ग्यास गिजर प्रयोग गर्न जाने यो विद्युतीय गिजरभन्दा सस्तो र कम जोखिमपूर्ण पनि रहेको उनी बताउँछन् । एउटा ग्यास गिजर बजारमा ६ हजारदेखि ९ हजार रुपैयाँसम्ममा पाइन्छ । ग्यास गिजरमा एउटा सिलिण्डरले १२० घण्टासम्म नुहाउन सकिने व्यवसायीहरुको भनाइ छ ।

बजारमा पाइने गिजरहरुमध्ये जोखिमको आधारमा भन्दा सबैभन्दा उपयुक्त सोलार गिजर नै हो । तर सोलार गिजर शहरी भेगमा भाडामा बस्नेहरुको लागि उपयुक्त नभए पनि सोलार गिजर राख्ने ठाउँ हुनेहरुको लागि यो उपयुक्त रहेको व्यवसायीहरु बताउँछन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले समय–समयमा सूचना जारी गर्दै गिजर, हिटर जस्ता प्रविधिको प्रयोग गर्दा सावधानी अपनाउन तथा हावा ओहोरदोहोर हुने ठाउँमा मात्रै त्यो प्रयोग गर्न सुझाव दिने गर्छ ।

कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्ने, आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गर्ने र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि केन्द्रले सूचनामार्फत आग्रह गरेको छ ।

तर लामो समय शौचालय बस्दा र गिजर चलाउँदा त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ त ? त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक एवं छातीरोग विशेषज्ञ डा. निरज बम भेन्टिलेसन नभएको स्नान कक्ष वा कोठामा गिजरको प्रयोग गर्दा कार्बनमोनोअक्साइडको मात्रा धेरै भएर मान्छे बिरामी हुने वा कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको बताउँछन् ।

ढोका बन्द गरेर हिटर वा गिजर चलाउँदा त्यसबाट कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइड र नाइट्रोजन डाइअक्साइड उत्पादन हुन्छ । बाथरुममा भेन्टिलेसन खुला छैन भने त्यही कोठामा ती हानिकारक ग्यास जम्मा भएर बस्छन् । त्यही ग्यास हामीले सास फेर्दा शरीरभित्र छिर्छ । यसरी कार्बन मोनोअक्साइड फोक्सोबाट रगतमा बगिरहेका रक्तकोषिकासम्म पुग्छ । यसले अक्सिहेमोग्लोबिन कोषिकाभित्र हुन्छ । त्यो ग्यासमा रहेको हानिकारक पदार्थ रगतमार्फत मुटु, मृगौला र गिदीसम्म पुग्छ । त्यहाँ अक्सिजन रिलिज हुनुपर्नेमा त्यो ठाउँमा कार्बन मोनोअक्साइड बस्छ । यसरी अक्सिजनको सट्टामा कार्बनमोनोअक्साइड जम्मा भएपछि कलेजो र मृगौलामा समस्या निम्तिन्छ ।

डा. बमका अनुसार यस्तो बेलामा शरीरले स्पष्ट संकेत गर्छ । त्यस्तो संकेत देखिएपछि तुरुन्त बाहिर निस्कने हो भने केहीबेरमा अक्सिजनले कार्बनमोनोअक्साइडलाई विस्थापित गरेर मान्छे पुरानै अवस्थामा आउँछ । अन्यथा मान्छेको अवस्था बिग्रँदै जान्छ । त्यसो त प्रयोग गर्दा नै झ्याल खोलेर पर्दा मात्रै लगाएर यस्ता मेसिन चलाउनुपर्छ । शरीरमा कार्बनमोनोअक्साइड धेरै हुँदै जाँदा टाउको दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

स्नानगृहमा पनि झ्याल नखोली धेरैबेर नुहाउँदा पनि अक्सिजनको मात्रा कम भएर शुरुमा अर्धचेत हुने र पछि पूर्णतः बेहोस हुने हुन्छन् । त्यसपछि धेरै घण्टासम्म बेहोस भएर शौचालयमा नै थुनिएर बस्दा ४÷५ घण्टामै मान्छेको मृत्यु पनि हुन्छ । तर मान्छे बेहोस भएपछि पनि तत्कालै थाहा पाएर अस्पतालको आकस्मिक सेवामा पुर्‍याइएन भने हाइपो अक्सिजन दिने विधिमार्फत यसको समाधान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?