+
+

‘एएफसी कपका लागि टिम बलियो बनाउँछौँ’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते ७:५५

१९ पुस, काठमाडौं । मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोट खेल्न जाँदा विदेशी खेलाडी थपेर टिम बलियो बनाउने भएका छन् ।

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एएफसी कपको प्रारम्भिक चरण खेल्ने पक्का गरेपछि प्रशिक्षक कटुवालले टिम बलियो बनाउने बताए । ‘एएफसी कपका लागि विदेशी खेलाडी थप्दै नेपाली खेलाडीसँग मिलाएर टिम बलियो बनाउनेछौँ,’ उनले भने ।

अरु क्लबको खेलाडी भने समावेश नगर्ने प्रशिक्षक कटुवालले बताए ।

सुनिल बलको एक मात्र गोलमा पुलिसलाई पराजित गरेपछि मनाङ मर्स्याङ्दी क्लबलाई एक अंकले पछि पार्दै मछिन्द्रले शीर्ष स्थानमा रहेर एएफसी कपमा स्थान पक्का गरेको हो । मछिन्द्र एएफसी कप पुग्ने तेस्रो क्लब समेत बनेको छ । यसअघि मनाङ र त्रिभुवन आर्मीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

गत सिजन लिग जितेपनि एएफसी क्लब लाइसेन्स नभएकोले मछिन्द्रले मौका गुमाएको थियो । तर यसपटक साविक विजेता मछिन्द्रले पनि आर्मी, मनाङ र एपीएफसँगै २०२२ को लागि क्लब लाइसेन्स पाएको छ ।

एन्फाले सातौं चरणको लिग सकिंदा धेरै अंक जोड्ने यी चारमध्ये एक क्लबले एएफसी कपमा खेल्ने निर्णय गरेपछि मछिन्द्रले शीर्ष स्थानमै रहेर त्यो अवसर पाएको हो ।
पुलिसविरुद्ध जित्नैपर्ने खेलमा मछिन्द्रले एक गोल गर्दै ३ अंक जोड्दा मनाङ मर्स्याङ्दी भने निराश बन्यो । मनाङले अघिल्लो दिन ब्रिगेड ब्वाइज क्लबलाई हराएर मछिन्द्रमाथि दबाब बनाएको थियो ।

खेलाडीको चोट र निलम्बनका कारण दबाब भए पनि सुरुमै गोल हुँदा त्यसलाई कायम राख्दै जित्न सफल भएको मछिन्द्रका प्रशिक्षक कटुवालले बताए । ‘आजको खेल जित्नै पर्ने दबाब थियो । खेलाडीको चोट र निलम्बनले गाह्रो बनाएको थियो । तर १-० को जित भयो । खुशी छौँ ,’ खेलपछि प्रशिक्षक कटुवालले भने ।

सुरुमा पुलिसले पाँच डिफेण्डर खेलाएर समस्या बनाए पनि सुरुमै गोल हुँदा त्यसलाई रक्षा गर्ने रणनीतिसहित खेलेको उनले बताए । ‘सुरुमा गोल निस्कियो त्यसलाई सेभ गर्ने र दोस्रो हाफमा काउन्टर अट्याक गर्ने रणनीति थियो । सफल भयौं ,’ उनले भने ।

पुलिसका प्रशिक्षक अनन्त थापाले लिग लिडर क्लबसँग पराजित भए पनि खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै यस खेलले सकारात्मक बनाएको बताए ।

दुई डिफेण्डर छिरिङ गुरुङ र करिम ओमालामा दोहोरो पहेँलो कार्डका कारण निलम्बन हुँदा मछिन्द्रले भारतीय खेलाडी सोनाम भुटियालाई खेलाएको थियो । सिक्किमका भुटियाले यसअघि हेटौँडा खेलिसकेकोले उनलाई टिममा घुलमिल हुन सहज भएकोले खेलाएको प्रशिक्षक कटुवालले बताए ।

प्रशिक्षक कटुवालले ७ वटै विपक्षी कठिन भए पनि त्यसमा सफल भएको बताए । ‘गोलाप्रथा गर्दा उस्तै टिम पर्दनै । हाम्रो ७ वटै विपक्षी कडा थिए । तर हामी सफल भयौँ,’ कटुवालले भने , ‘अझै पासिङ कम्बिनेसनहरू मिलेको छैन । त्यसका लागि ३-४ वर्ष सँगै खेलेका खेलाडी हुनुपुर्छ । अब त्यसमा सुधार गर्छौं ।’

यस्तै कप्तान सुजल श्रेष्ठले एएफसी कपमा छनोट भएपछि खुशी व्यक्त गरे । ‘अवश्य पनि खुशी छौं । यसपटक ७ खेलमै डिसाइड हुँदा टिम दबाबमा थियो । सबैले मिहिनेत गरे । सफल भयौं’ सुजलले खेलपछि भने,  ‘पहिला हामीले लिग जितेर पनि आर्मीले खेल्दा दु:ख लागेको थियो । हामीसँग क्लब लाइसेन्स थिएन । यसपाली मौका पायौँ । खुशी छौँ । भगवानले पनि सहयोग गरे जस्तो लाग्छ ।’

सुजलले एएफसी कपमा विदेशी टिमहरू हुँदा फरक हुने बताउँदै राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन् ।

यस्तै लगातार ६ खेलमा क्लिनसिट राखेका गोलकिपर विशाल श्रेष्ठले टिमको मिहिनेतले गर्दा आफूले त्यो सफलता पाएको बताए । ‘टिम वर्कले गर्दा सम्भव भएको हो । डिफेन्सदेखि स्ट्राइकिङ लाइनसम्म सबैले कोचको रणनीति अनुसार खेलेका छन्’ विशालले भने, ‘खेल जित्नका लागि गोल गर्नै मात्रै होइन, रोक्न पनि सक्नुपर्छ भन्ने ट्रेनिङदेखि कै रणनीति हो ।’

उनले यसै वर्ष राष्ट्रिय टिममा पनि डेब्यु गरे पनि सकारात्मक ऊर्जा बढेको बताए । ‘राष्ट्रिय टिममा खेल्ने ड्रिम पूरा भयो । त्यसले सकरात्मक उर्जा थपेको छ,’ विशालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?