+
+
मन्थन :

प्रतिवेदनमा पोखिएका प्रचण्डका कमजोरी

आफ्नो पार्टीले चुनावमा बहुमत पाइसक्दा पनि ‘विद्रोहको कार्यदिशा’ पारित गरे । एउटा जिम्मेवार नेतामा यस्तो दोधारेपन देखापर्नु पनि गल्ती नै हो । फेरि यस्तो समस्याको बीउ रोप्ने पात्र उनै हुन् । उनैले ‘सशस्त्र संघर्षको नीति नमान्ने जति संशोधनवादी हुन्छन्’ भनी स्कूलिङ गरेका थिए । जे रोपियो, त्यही फल्यो ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७८ पुष १९ गते २०:०१

माओवादी केन्द्रको आठौं महाधिवेशन भर्खरै सकिएको छ । अध्यक्ष प्रचण्डका लागि यो महाधिवेशन आवश्यकता भन्दा बढी बाध्यता थियो । पहिलो बाध्यता यो थियो कि, आसन्न स्थानीय चुनावमा सहभागिताका लागि निर्वाचन आयोगसँग सम्बन्धित यो औपचारिकता पूरा गर्नै पर्थ्यो । दोस्रो, सहकर्मी दलहरूले भटाभट आ–आफ्ना महाधिवेशन सम्पन्न गरिसकेका थिए । सहकर्मीहरूसँग मिल्दोजुल्दो बन्न पनि महाधिवेशन गर्नै पर्थ्यो ।

यस्तै बाध्यतामा परेर माओवादीले राष्ट्रिय सम्मेलन बोलायो । तर सम्मेलनको पूर्वसन्ध्यामा अर्को बाध्यता आइलाग्यो– सम्मेलनलाई महाधिवेशनमा बदल्नुपर्ने भयो । यसका मूलतः दुई वटा कारण थिए । पहिलो, मुख्य सहकर्मी दलहरू सबैले महाधिवेशन नै सम्पन्न गरिसकेका थिए । माओवादीले चाहिं सम्मेलन मात्रै गर्दा ऊ एककदम पछि परेको जस्तो देखिन्थ्यो ।

दोस्रो, सम्मेलन वा महाधिवेशन जे भने पनि प्रचण्डसँग आफ्ना अनुयायीलाई सुनाउने कुरा एउटै थियो । त्यो कुनै नयाँ र गतिलो कुरा थिएन । बरु विगतमा आफैंले नानाथरी तर्क गरेर गाली गरेको ‘शान्तिपूर्ण संक्रमण’ को ‘लज्जास्पद’ कुरा थियो । त्यही ‘लज्जास्पद’ कुरा सुनाएर अनुयायीको केरकारमा दुई–दुई पल्ट पर्ने झन्झट व्यहोर्न प्रचण्डलाई उचित लागेन । त्यसैले अचानक सम्मेलनलाई महाधिवेशनमा फेरिदिए ।

एउटा कम्युनिष्ट नेताले ‘गोञ्जालो’ बन्न इन्कार गरेपछि र शक्तिको लालसा पनि कायम राखेपछि जे गर्छ, विगत डेढ दशक यता प्रचण्डले त्यही गरिरहेका छन् । उनीसँग त्यस्तो नयाँ विचार त केही छैन । तैपनि विचारको विकास गरिन्छ भन्नुपर्ने बाध्यता छ । विगतमा गरेका दाबी कायम छन् भन्ने देखाउनै परेको छ । पार्टीको औपचारिकता पनि पूरा गर्नुपरेको छ ।

मोहन तिम्सिना

तब महाधिवेशनको नाममा एउटा कर्मकाण्ड आयोजना गरियो । पुरानै कुरालाई तानतुन पारेर तयार पारिएको राजनीतिक प्रतिवेदन पढेर सुनाइयो । तैपनि खास कुरा ढाँट्नै मिलेन । अर्थात्, ‘शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट समाजवादमा संक्रमण गर्न सकिन्छ’ भन्ने पुरानै ख्रुश्चोभी मन्त्र दोहोर्‍याउनै पर्ने भयो । तब त्यही कुरा नयाँ शब्दजाल भरेर सुनाइयो ।

प्रत्युत्तरमा केही पात्रहरूले यसको विरोध गर्ने प्रयास गरे । तर उनीहरूलाई गोञ्जालो र ख्रुश्चोभ लाइनको विकल्प के हो भन्ने नै थाहा थिएन । त्यसैले उनीहरूको विरोधले खासै महत्व पाएन । अन्तिममा प्रचण्डको प्रतिवेदन बहुमतले पारित भयो । उनैलाई पुनः अध्यक्षमा चयन गरिंदैछ । यसरी प्रचण्डको विकल्प छैन भन्ने मूल सन्देश सहित माओवादी महाधिवेशन सम्पन्न भयो ।

महाधिवेशन त जसोतसो सकियो तर यसले माओवादी पार्टीभित्रको संकट समाधान भएन । ‘विचारको विकास’ पनि भएन । ‘घुमिफिरी रुम्जाटार’ भने जस्तो प्रचण्ड पनि अन्ततः कम्युनिष्टहरूको पुरानै विवादमा फसे । आगामी चुनाव पछि यो विवाद समाधान गरिनेछ भनेर प्रचण्डले आश्वासन त दिएका छन् तर अहिले नै किटेर भन्न सकिन्छ, उनको अहिलेको सोच र तरिकाबाट यो विवाद समाधान हुनेवाला छैन । ‘विचारको विकास’ पनि हुनेवाला छैन ।

त्यसो भए के गर्दा विवाद समाधान हुन्छ ? के गर्दा विचारको विकास हुन्छ ? यस सम्बन्धमा यहाँ माओवादी मित्रहरूलाई केही जानकारी तथा सुझाव दिने प्रयास गरिएको छ ।

कटु सत्य

अध्यक्ष प्रचण्ड जरुर प्रतिभाशाली नेता हुन् । समकालीन नेताहरूमा प्रचण्डको तुलनायोग्य अरू छैनन् । मुलुकको आजको परिवर्तनको धेरैजसो श्रेय उनमै जान्छ । यो सत्य कुरा हो । तर तिनै प्रचण्ड यतिबेला भित्रैदेखि खोक्रो भइसकेको कुरा पनि उत्तिकै सत्य हो । किन त्यत्रो क्रान्ति हाँक्ने पात्र अन्तिममा आएर खोक्रो हुन पुगे ?

यो आधारभूत प्रश्न हो । माओवादी मित्रहरूले यो प्रश्नमा खास ध्यान दिनु राम्रो हुनेछ । प्रचण्डको खोक्रोपन उनको उमेरगत कमजोरी मात्र होइन । यसका पछाडि अरू नै कारणले काम गरेको छ । सामाजिक क्रान्तिमा प्रतिभा र चलाखी मात्र पर्याप्त हुँदैन । यो विज्ञानमा आधारित हुन जरूरी हुन्छ । आजको यथार्थ के हो भने प्रचण्ड ‘विज्ञानको क्रान्ति’ सँग परिचित छैनन् । खालि चलाखीबाटै काम चलाउन खोज्छन् । यही कारण उनी खोक्रो हुँदै गएका हुन् ।

एकदमै ध्यान दिनुपर्ने तथ्य यो हो कि अबको दुनियाँमा ‘विचारको विकास’ सम्भव छैन । ‘विचारमा क्रान्ति’ मात्र सम्भव छ । यसको खास कारण छ । यदि विज्ञानमा ‘निरन्तर विकास’ भइरहेको हुन्थ्यो भने, विचारमा पनि ‘निरन्तर विकास’ सम्भव हुन्थ्यो । बीसौं शताब्दीयता विज्ञानमा ‘निरन्तर विकास’ बन्द छ । यसको सट्टा ‘विज्ञानमा क्रान्ति’ (पाराडाइम सिफ्ट) भएको छ । जब विज्ञानमै क्रान्ति हुन्छ, तब विचारमा पनि क्रान्ति नै हुन्छ ।

मित्रहरूलाई यस्ता कुरा बुझ्न र स्वीकार गर्न गाह्रो भइरहेको होला । स्वाभाविक हो, यस्ता कुरा बुझ्न र स्वीकार गर्न त तयारी चाहिन्छ । मित्रहरूले विज्ञानको पद्धतिगत संकट भनेको के हो ? विज्ञानमा क्रान्ति भनेको के हो ? शास्त्रीय विज्ञान र आधुनिक विज्ञान बीचको भेद के हो ? निरन्तर विकास र पाराडाइम सिफ्ट बीचको भेद के हो ? खोजी गर्नुपर्‍यो । तब मात्र यस्ता कुरा बोधगम्य र स्वीकार्य हुन सक्ला ।

संक्षिप्तमा यहाँ यत्ति भनौं– विज्ञानको पद्धतिगत संकट भन्नाले मूलतः दुई कुरा हो । पहिलो, विज्ञानको चलिआएको अवधारणागत ढाँचा खण्डित हुनु र दोस्रो, उक्त अवधारणागत ढाँचा भित्रबाट नयाँ–नयाँ सिद्धान्तको विकास हुन छोड्नु । उन्नाइसौं शताब्दीको अन्त्यसम्म आउँदा विज्ञान जगतमा यस्तै भयो ।

विज्ञानमा क्रान्ति भन्नाले न्यूटनीय युगका विज्ञानका आधारभूत प्रस्थापनाहरूलाई नयाँ विज्ञानले खण्डित गर्नु हो । विज्ञान नै शास्त्रीय र आधुनिक गरी दुई खण्डमा विभाजित हुनु हो । आधुनिक विज्ञानले शास्त्रीय विज्ञानले भने विपरीतका तथ्य बाहिर ल्याउनु हो । यसैलाई विज्ञानमा ‘पाराडाइम सिफ्ट’ वा विज्ञानमा क्रान्ति भनियो । बीसौं शताब्दी यताको विज्ञानले यस्तै गरिरहेको छ ।

यदि प्रचण्ड यो तथ्यबारे जानकार हुन्थे भने उनको राजनीतिक प्रतिवेदनमा त्यो अभिव्यक्त हुन्थ्यो । उनले ‘विचारमा विकास’ भन्ने पदावली नै प्रयोग गर्ने थिएनन् । प्रचण्ड यो तथ्यबाट बेखबर भए । त्यसैले उनको पदावली प्रयोग नै गलत भयो । राजनीतिक प्रतिवेदन पनि कमजोर हुन गयो ।

यहाँ ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण तथ्य के छ भने विज्ञानको क्रान्तिले प्राविधिक परिवर्तन मात्र गरेको होइन, दर्शनमा नै क्रान्ति (पाराडाइम सिफ्ट) ल्याएको छ । अध्यक्ष प्रचण्ड यो विषयमा पनि पूरै बेखबर छन् । यही कारण उनको प्रतिवेदनमा प्रविधि परिवर्तनको मात्र चर्चा भयो । चिन्तन प्रणाली परिवर्तनको विषय छुट्यो ।

प्रचण्ड र माओवादी मित्रहरूले यो आलेख मार्फत अर्को एउटा कटु सत्य पनि सुनून् – अब मार्क्सवादको विकास हुन सक्दैन । मार्क्सवाद जुन विज्ञानको जगमा उभिएको थियो, त्यो जगलाई स्वयं विज्ञानले नै भत्काइसक्यो । विज्ञानको क्रान्तिले मार्क्सवादका आधारभूत प्रस्थापनाको खण्डन गरिसक्यो । शास्त्रीय विज्ञान खण्डित भएसँगै मार्क्सवाद पनि पूर्णतया खण्डित भइसक्यो । अब जस्तोसुकै प्रतिभाशाली व्यक्ति आए पनि त्यसले मार्क्सवादको विकास गरेर देखाउन सक्दैन ।

मित्रहरू, माथिका पंक्ति पढेर यो पंक्तिकारलाई ‘बुर्जुवा बुद्धिजीवी’ भनिहाल्ने हतारो नगर्नुहोला । तपाईंहरूलाई केही राहत दिने कुरा पनि छ । पंक्तिकारले मार्क्सवादको मात्र खण्डन गरिरहेको छैन भौतिकवादी दर्शनभित्रका सबैखाले विचारधारा (उदारवाद, समाजवाद, राष्ट्रवाद र कल्याणवाद) को पनि खण्डन गरिरहेको छ ।

विज्ञानको क्रान्तिले मार्क्सवाद मात्र होइन, सिंगो भौतिकवादी दर्शनलाई नै खण्डित गरिसकेको छ । परिणामतः भौतिकवादी पद्धति भित्रबाट खडा भएका सबैखाले विचारधारा खण्डित भइसकेका छन् । त्यसैले अब मार्क्सवाद र अन्य शास्त्रीय विचारधाराको विकास सम्भव छैन ।

अध्यक्ष प्रचण्ड यस्ता तथ्यबारे जानकार थिए भने उनको वैचारिकीले पनि क्रान्ति गर्थ्यो होला । उनले यो कुरामा ध्यान दिन सकेनन् । त्यसैले उनीबाट ‘विचारमा क्रान्ति’ सम्भव भएन ।

तर यो दायित्व प्रचण्डको मात्र त होइन, पार्टीका अन्य सदस्यहरूको पनि हो । यत्रो पार्टीका हजारौं महाधिवेशन प्रतिनिधिको पनि हो । अचम्मको कुरा, महाधिवेशनमा यस्ता कुरा उठाउने पात्र कोही देखा परेनन् ।

अधिकांश मित्र प्रचण्डलाई कि त दंग्याएर कि त चाप्लुसी गरेर पदभोग गर्ने दाउमा नै तल्लीन हुनुभयो । अध्ययनशील र गतिशील हुन सक्नुभएन । त्यसैले आज सिंगो पार्टी खोक्रो बन्ने अवस्था पैदा भयो ।

प्रचण्डसँग मत बझाउन खोज्ने वा प्रचण्डलाई संशोधनवादी भएको आरोप लगाएर छोडेर हिंड्नेहरूको हालत पनि यस्तै हो । उहाँहरू पनि त्यही ‘मार्क्सवादको विकास’ वा ‘विचारको विकास’ को अर्थहीन वाक्यांश दोहोर्‍याई रहनुभएको छ । त्यसैले, कमजोरी प्रचण्डको मात्र होइन, यो मामिलामा सबैखाले माओवादी मित्रहरू ‘एउटै ड्याङको मुला’ सावित हुनुभएको छ ।

भ्रमपूर्ण अभिव्यक्ति

अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा आइन्स्टाइनको सापेक्षतावाद र क्वान्टम भौतिकीका नियमहरूले भौतिकवाद नै सही छ भनेर पुष्टि गरेको भनेर शतप्रतिशत गलत कुरा गरेका छन् । महाधिवेशनमा यस्ता कुराको खण्डन गर्ने वा सच्याइदिने पात्र पनि कोही देखिएन ।

सापेक्षतावादको सिद्धान्तले नै हो इतिहासमा पहिलो पटक भौतिकवादी दर्शनलाई खण्डित गरेको । न्यूटनीय विज्ञानको मान्यता यो थियो कि संसार सर्वकालिक हो । यसको आदि र अन्त्य छैन । ‘स्थान’ (ब्रह्माण्ड) र ‘समय’ अलग चिज हुन् । न्यूटनीय विज्ञानका यिनै निष्कर्ष माथि भौतिकवादी दर्शन खडा भएको थियो ।

सापेक्षतावादको सिद्धान्त (विशेष र सामान्य) मार्फत आइन्स्टाइनले संकेत गरे, ‘स्थान’ र ‘समय’ एकआपसमा अविभाज्य र अन्तरसम्बन्धित छन् । हाम्रो ब्रह्माण्ड सदाकाल अस्तित्वमा रहँदैन । यसको पनि शुरुआत र अन्त्य हुन्छ ।

आइन्स्टाइनको यो निष्कर्षलाई लगत्तै आएका ‘ब्ल्याकहोल सिद्धान्त’, ‘फैलिरहेको ब्रह्माण्ड’, ‘महाविस्फोट सिद्धान्त’ जस्ता सिद्धान्तले थप पुष्टि गरिदिए । तबदेखि संसार क्षणिक हो, यो महाविस्फोटबाट शुरू हुन्छ र ब्ल्याकहोल शून्यतामा पुगेर नष्ट हुन्छ भन्ने मान्यता स्थापित भयो । यसरी भौतिकवादी मान्यतालाई खण्डित गर्ने कामको शुरुआत आइन्स्टाइनको सापेक्षतावादबाटै भएको हो । त्यसैले सापेक्षतावादको सिद्धान्तलाई भौतिकशास्त्रमा पहिलो क्रान्ति मानिन्छ ।

यसपछि आउँछ क्वान्टम भौतिकीको कुरा, जसले भौतिकशास्त्रमा दोस्रो र तेस्रो क्रान्ति ल्यायो । यी क्रान्तिले पनि भौतिकवादी दर्शनको खण्डन गरे । क्वान्टम क्रान्तिबाट भौतिकवादका चार वटा प्रस्थापना खण्डित भए । पहिलो, हरेक वस्तु यथार्थ हुन्, त्यसको भौतिक अस्तित्व हुनुपर्दछ भन्ने मान्यताको खण्डन भयो । भौतिकशास्त्रमा अभौतिक ‘शून्य’ को अवधारणाले प्रवेश पायो । संसारको मूल ‘शून्य’ हो, पदार्थ त शून्यको ‘छायाँ’ मात्र हो भन्ने मान्यता स्थापित भयो ।

दोस्रो, संसार आधारभूत कण (परमाणु) को विस्तारबाट बनेको हो भन्ने मान्यता खण्डित भयो । यसको ठाउँमा कुनै पनि कण मूल होइनन्, सारा संसार तरङ्ग पुञ्ज हो भन्ने स्थापित भयो । तेस्रो, ‘वैज्ञानिक निर्धारणवाद’ का सिद्धान्तको खण्डन भयो । उपपरमाणु तहमा हुने उत्पादन–व्यय कुनै ‘स्थानीय परिघटना’ होइन, यस्ता परिघटनालाई ‘कार्य’ र ‘कारण’ मा खण्डित गर्न र न्यूटनीय गणितद्वारा मापन गर्न सकिन्न भनियो । यसको सट्टा ‘कार्य’ र ‘कारण’ संयुक्त हुन्छन्, यिनीहरूको गतिको केवल बहुसम्भावनाको अनुमान गर्न सकिन्छ, मापन गर्न सकिन्न भन्ने मान्यता स्थापित भयो ।

चौथो, ‘द्रष्टा’ र ‘दृश्य’ अलग छन्, ज्ञान भनेको ‘दृश्य’ को ‘द्रष्टा’ मा परेको प्रतिबिम्व हो भन्ने सिद्धान्तको खण्डन भयो । यसको ठाउँमा ‘द्रष्टा’ र ‘दृश्य’ संयुक्त छन्, ‘दृश्य’ यथार्थ होइन, हाम्रा इन्द्रियहरूको प्रक्षेपण मात्र हो भन्ने मान्यता स्थापित भयो ।

यदि मार्क्स जिउँदै हुन्थे र यही प्रश्न मार्क्सका अगाडि आउँथ्यो भने निसन्देह मार्क्सले भन्थे होला कि म मार्क्सवाद छोड्छु, विज्ञान रोज्छु । किनकि मार्क्स कुनै परम्परावादी थिएनन् । उनले आफ्नो समयको विज्ञानलाई पक्रिंदा जे गर्न सकिन्छ त्यो गरेका थिए ।

यी सबै उपलब्धिमा असंख्य वैज्ञानिकको योगदान रह्यो । यद्यपि भौतिकशास्त्रको दोस्रो क्रान्तिका लागि बर्नर हाइजेनवर्ग र निल्स बोहरलाई श्रेय दिइएको छ । तेस्रो क्रान्तिको लागि ज्याफ्री च्युलाई श्रेय दिइएको छ । ज्याफ्री च्युसम्म आउँदा भौतिकवादी दर्शन शतप्रतिशत खण्डित भइसकेको छ ।

अध्यक्ष प्रचण्ड यस्ता सूचनाबाट पूरै बेखबर छन् । त्यसैले, उनलाई जे लागेको छ, त्योभन्दा फरक कुरा कसैले गर्‍यो भने त्यसलाई ‘बुर्जुवा बुद्धिजीवी’ भनिदिन्छन् । प्रचण्डको यस्तो भनाइमा तपाईं माओवादी मित्रहरू पनि मज्जाले ताली बजाइदिनुहुन्छ । कुरा सकियो ।

माथि विज्ञानको एउटा विधाको चर्चा गरियो । विज्ञानको एउटै विधाले पूरै दर्शनशास्त्रको निर्धारण गर्दैन । यसमा कमसेकम जीवशास्त्र र मनोविज्ञानका निष्कर्षहरू पनि समावेश गर्नुपर्ने हुन्छ । तब दर्शनशास्त्रको सामान्य ढाँचा तयार हुन्छ ।

भौतिकशास्त्रमा जस्तै क्रान्ति जीवशास्त्र र मनोविज्ञानमा पनि भएका छन् । आधुनिक विज्ञानका यी नयाँ धाराहरूलाई पक्रिएर संश्लेषण गर्न सक्दा मात्र ‘विचारमा क्रान्ति’ ले आकार ग्रहण गर्दछ । यसका लागि पहिलो शर्त माओवादी मित्रहरू, मार्क्सवादी शास्त्रीय पर्खालबाट बाहिर आउन सक्नुपर्छ ।

किनकि मार्क्सवाद अब विज्ञान रहेन, परम्परा भइसक्यो । क्रान्तिकारी र गतिशील हुनका लागि अब यो छोड्नैपर्ने भयो । माओवादी मित्रहरू के मार्क्सवाद छोड्न सक्नुहुन्छ ? अब प्रश्न उठ्यो– तपाईं विज्ञान रोज्नुहुन्छ कि परम्परा ? मार्क्सवाद रोज्नुहुन्छ कि आधुनिक विज्ञान ? जे गर्नुस् रोजाइ तपाईंको ।

यदि मार्क्स जिउँदै हुन्थे र यही प्रश्न मार्क्सका अगाडि आउँथ्यो भने निसन्देह मार्क्सले भन्थे होला कि म मार्क्सवाद छोड्छु, विज्ञान रोज्छु । किनकि मार्क्स कुनै परम्परावादी थिएनन् । उनले आफ्नो समयको विज्ञानलाई पक्रिंदा जे गर्न सकिन्छ त्यो गरेका थिए । उनको जोड नै विज्ञान पछ्याउनुपर्छ भन्ने थियो । त्यसैले मार्क्सको लागि परम्परा भन्दा पक्कै विज्ञान प्यारो हुन्थ्यो ।

तर माओवादी मित्रहरूलाई गाह्रो छ । तपाईंहरू मार्क्सवाद छोड्न सकिन्न भन्नुहुन्छ । कारण, तपाईंहरू विज्ञानको क्रान्तिसँग बेखबर हुनुहुन्छ । तपाईंहरू क्रान्तिकारी कम, परम्परावादी ज्यादा भइसक्नुभएको छ । दोस्रो कुरा, तपाईंहरूमा मार्क्सवाद भनेको गरीबको भलो गर्ने सिद्धान्त हो भन्ने भ्रम छ । अनि माओवादी गरीबको भलो गर्ने पार्टी हो भन्ने अहंकार पनि छ ।

वास्तविकतामा मार्क्सवाद गरीबको भलो गर्ने सिद्धान्त नै होइन । अनि माओवादी पार्टी गरीबको भलो गर्ने पार्टी पनि होइन । कसैले म गरीबको भलो गर्छु भनेर घोषणा गर्दैमा गरीबको भलो भइहाल्छ भन्ने हुँदैन । उसको काम गर्ने तरिका मुख्य कुरा हो । विज्ञानका तथ्य र व्यावहारिक अनुभव दुवैले देखायो कि मार्क्सवादी तरिकाबाट गरीबको भलो हुँदैन । त्योभन्दा फरक तरिका अपनाउनु जरूरी छ ।

यसो भन्दा प्रश्न उठ्न सक्छ, के मार्क्स खराब मानिस थिए ? होइन, मार्क्स महान मानिस नै थिए । मार्क्सको सिद्धान्तबाट गरीबको भलो हुँदैन भन्दा मार्क्सको महानतालाई अलिकति पनि हानि गर्दैन । मार्क्सले जे परिकल्पना गरे त्यो पवित्र परिकल्पना हो । उनको समयको विज्ञानबाट जे गर्न सकिन्थ्यो, त्यो मार्क्सले शानदार ढंगले सम्पन्न गरे ।

मार्क्सले सोचे अनुरूप परिणाम नआउनुमा उनको कत्ति पनि दोष छैन । यो त त्यो बेलाको विज्ञानको सीमा हो । मार्क्स अहिले पनि महान छन् । तर आजको युगमा कोही अझै मार्क्सका सिद्धान्तबाट गरीबको भलो हुन्छ भन्दै हिंडिरहन्छ भने त्यो मार्क्सको होइन, त्यसरी हिंड्ने व्यक्तिको दोष हो । यस्तो सोचबाट ‘विचारमा क्रान्ति’ असम्भव छ ।

समाजवादको भ्रम 

प्रचण्डले राजनीतिक प्रतिवेदनमा विश्वमा देखापरेका आर्थिक र पर्यावरणीय संकटबारे चर्चा गरेका छन् । तर यसका लागि पूर्णतया पूँजीवादीलाई मात्र दोष दिने कुरा यथार्थसम्मत छैन । प्रकृति र पर्यावरण ध्वस्त गर्ने अभियानमा पूँजीवादी र समाजवादी दुवैको बराबर दोष छ । हतियारको होडबाजी र तथाकथित असीमित आर्थिक वृद्धिको होडबाजीमा पूँजीवादी र समाजवादी बराबर संलग्न छन् । जसका कारण प्रकृतिको विनाशदेखि संक्रामक रोगहरूको प्रचारसम्मका समस्या देखिएका हुन् ।

यसो भनिरहँदा माओवादी मित्रहरूले भन्नुहोला, ती कहाँ समाजवादी हुन् त ? ती त संशोधनवादी हुन् । साँच्चैको समाजवादमा त यो समस्या नै आउँदैन नि ! यदि यसो भन्नुभयो भने पनि तपाईंले खोजेको विचारको क्रान्ति बन्द हुनेछ ।

भौतिकवादी ‘सामाजिक मूल्य’ नै आज विश्वमा पैदा भएको संकटको कारक हो । विगत तीन सय वर्ष यता भौतिक सुख प्राप्तिलाई ‘लक्ष्य’ मान्ने चिन्तनले गर्दा व्यक्ति र राज्य, दुवैलाई महत्वाकांक्षी बनाएको छ । भौतिक सुख बढाउने होडबाजीले नै युद्ध, अपराध, हस्तक्षेप, अतिवाद जन्माएको हो । असीमित आर्थिक वृद्धिको ध्वंसात्मक सोच यस्तै चिन्तनबाट पैदा भएको हो ।

यस्तै सोचले मानिसमा खानी रित्याउने, पहाड फुटाउने, नदीको बाटो छेक्ने, प्राणी र वनस्पतिका जिन तोडमरोड गर्ने जस्ता दानवीय प्रवृत्ति जन्माइरहेको छ । यस्तो चिन्तन बोक्ने अरू कोही होइनन्, भौतिकवादीहरू (उदारवादी, समाजवादी, राष्ट्रवादी, कल्याणवादी) नै हुन् । यसमा पूँजीवादलाई मात्र दोष दिएर समाजवादलाई ‘पानीमाथिको ओभानो’ बनाउनै मिल्दैन ।

भौतिक सुखलाई ‘लक्ष्य’ मान्ने सिंगो दर्शन नै अमानवीय र अप्राकृतिक हो । अब मानिसले भौतिक सुखलाई ‘साधन’ र अभौतिक सुख (आत्मिक सुख) लाई ‘लक्ष्य’ मान्ने चिन्तनतर्फ ‘सिफ्ट’ हुनुपर्दछ । राजनीतिक विचारधारा र पार्टी संगठनहरूमा यो निष्कर्ष आत्मसात् गर्नुपर्दछ । राज्यको संरचना, नीति र मूल्यमान्यताको क्षेत्रमा, विकास र सामाजिक सम्बन्धको क्षेत्रमा यो मान्यता लागू गर्नुपर्दछ । ‘विचारमा क्रान्ति’ वा चिन्तनमा ‘पाराडाइम सिफ्ट’ को एउटा पक्ष यही हो ।

दोस्रो कुरा, समाजवाद आफैंमा भ्रमपूर्ण धारणा हो । यो शास्त्रीय विज्ञानका आधारमा निकालिएको निष्कर्ष हो । समाजलाई यन्त्र मानेर समाजको गतिको गणितीय हिसाब गर्दा मात्र समाजवादको निष्कर्ष आउँछ । मार्क्सले यही विधिद्वारा समाजवादको निष्कर्ष निकालेका थिए । तर आजको विज्ञानले हामीलाई यसो गर्न अनुमति नै दिंदैन । आजको विज्ञानले त समाजको गति अगणितीय हुन्छ भन्छ । यसको अर्थ समाजवाद प्राकृतिक धारणा नै होइन । यो कहिल्यै साकार नहुने शास्त्रीय परिकल्पना मात्र हो ।

यस्ता अर्थहीन मान्यताको पछि लाग्दा पनि ‘विचारमा क्रान्ति’ असम्भव हुन्छ । साँच्चै विचारमा क्रान्ति चाहने हो भने माओवादी मित्रहरूले समाजवादको भ्रमपूर्ण मोह पनि परित्याग गर्न सक्नुपर्छ । अबको दुनियाँमा हामीलाई ‘जैविक समाज’ चाहिन्छ । ‘जैविक दर्शन’ र ‘जैविक राजनीति’ चाहिन्छ । यो तथ्य बुझ्न सक्दा मात्र ‘विचारमा क्रान्ति’ ले साकार रूप लिन्छ ।

प्रचण्डको पहिचान

प्रचण्ड, शक्तिको लालसा राख्ने मानिस अवश्य हुन् । तर उनी बेइमान नेता होइनन् । संशोधनवादी पनि होइनन् । परिस्थितिले साथ दिन्थ्यो भने उनी आफ्नो घोषित लक्ष्यसम्म इमानदार भएर नै लाग्थे । तर परिस्थितिले साथ दिएन । दश वर्षको युद्धको अनुभव पश्चात उनलाई भित्रैदेखि बोध भयो कि आफ्ना पूर्व मान्यता अनुसार चल्न नसकिने रहेछ । यसले त ‘गोञ्जालो’ बनाउने रहेछ । तब प्रचण्डले ‘गोञ्जालो’ बन्न इन्कार गरे । सात दलसँग सम्झौता गरेर खुल्ला राजनीतिमा आए ।

यहाँ प्रचण्डले जे गरे ठीकै गरे । गोञ्जालोपथ भन्दा त प्रचण्डपथ नै उत्तम हो । यसले उनी र उनलाई साथ दिने थुप्रै सहकर्मीलाई नयाँ जीवन दियो । देशमा केही महत्वपूर्ण राजनीतिक परिवर्तन पनि देखापर्‍यो ।

आफ्नो पार्टीले चुनावमा बहुमत पाइसक्दा पनि ‘विद्रोहको कार्यदिशा’ पारित गरे । एउटा जिम्मेवार नेतामा यस्तो दोधारेपन देखापर्नु पनि गल्ती नै हो । फेरि यस्तो समस्याको बीउ रोप्ने पात्र उनै हुन् । उनैले ‘सशस्त्र संघर्षको नीति नमान्ने जति संशोधनवादी हुन्छन्’ भनी स्कूलिङ गरेका थिए । जे रोपियो, त्यही फल्यो ।

तर प्रचण्ड निर्विकल्प र सर्वज्ञ होइनन्, हुन सक्दैनन् । उनका सीमा र कमजोरीबारे माथि चर्चा भइसक्यो । यो बाहेक आफूलाई बोध भएको तथ्य पार्टी सदस्यलाई खुलस्त नभन्नु, चलाखीबाट काम चलाउन खोज्नु पनि प्रचण्डको निकै ठूलो कमजोरी हो ।

यही कमजोरीका कारण उनले हतियार क्यान्टोनमेन्टमा राखिसक्दा पनि ‘विद्रोह गरिन्छ’ भनिरहे । संविधानसभा चुनावको मुखमा आइपुग्दा पनि ‘मुखमा चुनाव मनमा विद्रोह’ जस्तो दोधारे कुरा गरे । आफ्नो पार्टीले चुनावमा बहुमत पाइसक्दा पनि ‘विद्रोहको कार्यदिशा’ पारित गरे । संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत हुँदाहुँदै पनि एउटा मामूली कर्मचारीको निहुँमा विद्रोहको असफल प्रहसन देखाए ।

प्रचण्डलाई पार्टीभित्रको एउटा पक्षले यो सब गर्न बाध्य पारिरहेको थियो । उनी पार्टीलाई एकताबद्ध राख्न चाहन्थे । त्यसैले नचाहँदा नचाहँदै यो सबै गरे । पार्टीभित्रका मानिसहरूलाई मिलाउन खोज्दा नै उनमा यो दोधारेपन देखिएको थियो । यो सत्य कुरा हो । तर एउटा जिम्मेवार नेतामा यस्तो दोधारेपन देखापर्नु पनि गल्ती नै हो ।

फेरि यस्तो समस्याको बीउ रोप्ने पात्र उनै हुन् । उनैले ‘सशस्त्र संघर्षको नीति नमान्ने जति संशोधनवादी हुन्छन्’ भनी स्कूलिङ गरेका थिए । जे रोपियो, त्यही फल्यो । अर्थात्, त्यही स्कूलिङ पक्रिएर केही जड र अहंकारग्रस्त मानिसहरूले उनीमाथि असन्तुष्टि पोख्ने निहुँ पाए । प्रचण्डसँग यो समस्याबाट उम्कने उपाय नै थिएन । कर्म अनुसारको फल भोग्नै पर्थ्यो ।

आज उनी त्यही कर्मको फल भोगिरहेका छन् । यसले उनको राजनीतिक जीवनमा गम्भीर धक्का दिएको छ । पहिलो, उनको पार्टी एकताबद्ध रहन सकेन । दोस्रो, आफ्नो वर्चश्व रहेको संविधानसभा विघटन भयो । तेस्रो, संविधानसभाको दोस्रो चुनावमा र त्यसपछि उनको पार्टी पहिलोबाट तेस्रोमा झर्‍यो । चौथो, नयाँ संविधानमा आफ्ना एजेण्डाहरू कमजोर भए ।

जीवनमा गम्भीर धक्का खाए पनि प्रचण्ड थाकेका छैनन् । आफ्नो गुमेको वर्चश्व फर्काउन हर उपाय जारी राखेका छन् । एमालेसँगको माओवादी एकता यसैको परिणाम थियो । तर यो दिगो हुन सकेन । अझै प्रचण्डमा एमालेसँगको एकता मोह टुटेको छैन । महाधिवेशनको उद्घाटन भाषणमा एमालेसँग एकता गरेर गल्ती गरिएको थिएन भनेर उनले यो मोह प्रकट गरिसकेका छन् ।

यसपालि आठौं महाधिवेशनमा प्रचण्डले आफ्ना केही गल्ती स्वीकार गरेका छन् । जस्तो कि पार्टीभित्र विना छलफल हतियार क्यान्टोनमेन्टमा राखेको र ‘मुखमा चुनाव, मनमा विद्रोह’ भनेको कुरा गल्ती भयो भनेका छन् । यति गल्ती स्वीकार गर्नु सकारात्मक कुरा हो, तर यो पर्याप्त छैन । वैचारिक प्रश्नमा पनि चलाखीबाटै काम चलाउने प्रचण्ड प्रवृत्ति अझै छुटेको छैन । उनीभित्रको दोधारेपन र अन्योल अझै बाँकी छ ।

राजनीतिक प्रतिवेदनमा उनले सामन्ती, प्रतिक्रियावादी, साम्राज्यवादी जस्ता मोटा र अमूर्त शब्द प्रयोग गरेर क्रान्तिकारी देखिने प्रयास गरेका छन् । ती शब्दले खास कुन राजनीतिक समूहलाई जनाउँछ भनेर स्पष्ट पारेका छैनन् । कसैले सोध्यो भने, ‘मिलाएर बुझ्नुस्, सबै कुरा स्पष्ट भन्न मिल्दैन’ भन्छन् । यो उनको पुरानै चलाखीपूर्ण तरिका हो । यसपालि पनि उनले यो तरिका प्रयोग गरे । प्रश्नबाट भागेर चलाखीबाट काम चलाउने यो तरिकाले पनि ‘विचारमा क्रान्ति’ हुँदैन ।

राजनीतिक प्रतिवेदनमा प्रचण्डले सांस्कृतिक रूपान्तरण, सामूहिक उत्पादन र सामूहिक बसाइको कुरा गरेका छन् । तर त्यसको स्वामित्व प्रणालीबारे स्पष्ट पारेका छैनन् । अर्थतन्त्र र विकासको मोडेलमा पनि उनी स्पष्ट छैनन् । निजी धन खराब कुरा हो, यसलाई मास्न सकिन्छ, मास्नुपर्छ भन्ने भ्रमपूर्ण धङधङी अझै उनमा देखिन्छ । यो शास्त्रीय चेतना हो । निजी धन त्याग्ने कुरा ढोंगीहरूको नौटंकी मात्र हो । निजी धन र सामूहिक धन परिपूरक भएको अर्थतन्त्र मात्र अबको विकल्प हुनसक्छ । यस्ता कुरामा चलाखी गर्न खोजियो भने पनि ‘विचारमा क्रान्ति’ बन्द हुन्छ ।

अन्तिम कुरा, जब मार्क्सवाद माथि नै प्रश्न उठिसक्यो, तब लेनिनवाद, माओवाद माथि पनि प्रश्न उठ्यो । प्रचण्डपथ, प्रचण्ड विचारधारा वा प्रचण्ड युगका कुरा त केवल आग्रह मात्र हुन् । ‘सामाजिक क्रान्ति सशस्त्र कि शान्तिपूर्ण’ भन्ने बहस पनि अर्थहीन र शास्त्रीय कुरा हो । विज्ञानको क्रान्तिका शिक्षाबाट पर रहेर यस्ता कुरामा छलफल गर्नु समयको बर्बादी मात्र हो ।

इतिहासबाट सिक्न सकिन्छ, इतिहासप्रति गर्व गर्न पनि सकिन्छ । तर साँच्चै विचारमा क्रान्ति ल्याउने हो भने इतिहास मोहबाट बाहिर आउनुपर्छ । माओवादी मित्रहरू तपाईंहरू यसो गर्न सक्नुहुन्छ ? तपाईंहरूले विचारमा क्रान्ति ल्याउनुहुन्छ कि ल्याउनुहुन्न, यसैमा निर्भर हुनेछ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?