
२० पुस, काठमाडौं । झण्डै दुई सातादेखि लकडाउन गरिएको चिनियाँ सहर सियानमा खाद्यान्न अभाव हुन थालेको छ । खाद्यान्न अभाव हुन थालेपछि उक्त सहरका बासिन्दाले वस्तु साटफेर गर्न थालेका छन् ।
डिसेम्बर २३ गतेदेखि लकडाउन गरिएको सियानमा पछिल्ला दिन खाद्यान्न अभाव भएपछि चिन्तित बनेका मानिसहरूले आपसमा सामान साटफेर (बार्टरिङ) गर्न थालेको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका पोष्टमा त्यहाँका बासिन्दाले वस्तु साटफेर गरेको र कतिपयले प्राविधिक उपकरण दिएर खानेकुरा लिएको देख्न सकिन्छ ।
सामाजिक सञ्जाल वेइबोमा पोष्ट गरिएका भिडियो र तस्वीरमा मानिसहरूले चुरोट दिएर बन्दा लिएको, स्याउसँग डिसवाशिङ झोल साटेको देख्न सकिन्छ । त्यस्तै, एक भिडियोमा सियानका एक बासिन्दाले निनटेन्डोको स्वीच दिएर एक पोका चाउचाउ र दुई वटा स्टिम बन लिएको देख्न सकिन्छ ।
लकडाउनका कारण एक करोड ३० लाख बस्ने सियान सहरका बासिन्दाहरू बाहिर गएर किनमेल गर्न नपाएपछि खाने कुरासँग सामान साट्न बाध्य भएका हुन् । केही दिनदेखि त्यहाँका बासिन्दाले सामाजिक सञ्जालमा विभिन्न खाले गुनासा पोख्न पनि थालेका छन् ।
यसैबीच, अधिकारीहरूले मानिसहरूलाई नि:शुल्क खाद्यान्न उपलब्ध गराइरहेका छन् । तर केही परिवारले दैनिक उपभोग्य वस्तु सकिन थालेको वा हालसम्म सरकारी राहत नपाएको गुनासो गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया 4