+
+

अवार्ड समारोहमा पुग्नै छाडे कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १४:१६

२० पुस, काठमाडौं । सोमबार काठमाडौंको सोल्टी होटलमा करिब डेढ सय जना संगीतकर्मी, पत्रकार र कलाकर्मीको उपस्थितिमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’को आयोजना गरियो । तर उक्त अवार्ड समारोहमा निक्कै कम कलाकार मात्र पुगे ।

अभिनेता पल शाह पूरै अवधि कार्यक्रममा बसे भने अभिनेत्री पूजा शर्मा अवार्ड थापेपछि निस्किइन् । यस्तै गायिका एलिना चौहान, संगीतकार अर्जुन पोखरेल पनि पूरै समय कायृक्रममा देखिए । संगीतकार शम्भुजित बास्कोटा, गायिका कुन्ती मोक्तान पनि अवार्ड समारोहमा पुगेका थिए । गायिका मेलिना मैनाली र गायक कमल खत्रीको जोडी पनि कार्यक्रम अवधिभर नै हलमा देखिएको थियो ।

अवार्ड समारोहमा संगीतकर्मीको उपस्थिति कम देखिएको यो पहिलो पटक भने होइन । केही दिनअघि आयोजना भएको ‘म्युजिक खबर म्युजिक अवार्ड’मा पनि संगीतकर्मीहरुको उपस्थिति पातलो नै थियो ।

हिजोआज अवार्ड कार्यक्रममा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक चर्चामा रहेका कलाकारदेखि प्राविधिक पनि खासै पुग्दैनन् । अझ, कलाकारका लागि अवार्ड पाउनु र नपाउनुले अर्थ राख्न नै छाडेको देखिन्छ ।

सातामै दुईवटासम्म अवार्ड कार्यक्रम हुँदा यसको महत्व समेत घट्न थालेको देखिन्छ । कुनै समय ‘हिट्स एफएम म्युजिक अवार्ड र इमेज अवार्ड’ हुँदा संगीतकर्मीदेखि चलचित्रकर्मीको चाड नै आएजस्तो हुन्थ्यो । तर, पछिल्लो समय अवार्डको बाढी नै आउँदा यसको महत्व मात्र घटेको छैन, पाउने व्यक्तिमा पनि उत्साह देखिन छाडेको छ ।

अमेरिकाको ग्रीनकार्डका लागि अवार्ड

हुन त, सबै कलाकर्मी यो सूचीमा नपर्लान् । तर, पछिल्लो समय आयोजना हुने धेरै अवार्ड कार्यक्रममा आयोजकको उद्देश्य नै अवार्डलाई बेच्नु रहेको चर्चा समेत सांगीतिक बजारमा सुनिन्छ । जसले गर्दा अवार्डमा चलेका गीत, दर्शकले रुचाएका मोडल, दर्शकले रुचाएका भिडियोका निर्देशकले भन्दा पनि नामै नसुनेका गीतका मोडल, गायक–गायिकादेखि निर्देशकले अवार्ड जितेको हेर्न सकिन्छ ।

अधिकांश अवार्ड जितेका गीत बजारमा कहिले आए र कहिले गए भन्ने नै थाहा हुँदैन । जसले गर्दा अवार्डप्रतिको विश्वसनीयता नै हराउन थालेको छ ।

मोडल पल शाहले सबै अवार्डको आयोजकलाई एउटै सूचीमा राख्न नहुने बताए । ‘हल्ला मैले पनि सुनेको छु । तर, यो नभएको राम्रो हो,’ सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले भने ।

पलले अगाडि भने, ‘चिनी धेरै खायो भने पनि तीतो हुन्छ । यसैले धेरै अवार्ड कार्यक्रम हुँदा मानिसहरुले त्यसलाई नराम्रो वे बाट हेर्नुभएको होला ।’

यस्तै, संगीतकार अर्जुन पोखरेलले अवार्डको विषयमा राम्रा र नराम्रा दुवै कुरा सुनिएको बताए । उनले भने, ‘अमेरिका जानैका लागि अवार्ड पायो भनेर आलोचना गर्नुलाई म दुई पाटोबाट हेर्छु । जस्तो, अमेरिकाको सरकारले कलाकारलाई विशेष व्यक्ति भनेर आफ्नो देश लैजान्छ भने त त्यो सुखद् कुरा हो । तर, अमेरिका जानेहरुका लागि दिने उद्देश्यले केही अवार्डहरु थपिएका छन्, त्यो भने दुःखद पक्ष हो । किनकि, बजारमा चलेका र दर्शक–स्रोतामाझ लोकप्रिय भएका गीतहरु भन्दा पनि नामै नसुनेका गीतहरुले अवार्ड पाउँदा यसको विश्वसनीयता पनि घट्छ ।’

नेपालमा म्युजिक भिडियो विधालाई नै समेटर वर्षमा दर्जनौं अवार्ड आयोजना हुन थालेका छन् । तर, यस्ता अवार्ड समारोहमा कलाकारको उपस्थिति निक्कै फितलो देखिन्छ । यसको पछाडि अवार्ड आयोजकले गुमाउँदै गएको विश्वसनीयता नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?