+
+
राष्ट्रियसभा निर्वाचन :

प्रदेश-१ मा ८ जनाको उम्मेदवारी, राप्रपा पनि मैदानमा

हरि अधिकारी हरि अधिकारी
२०७८ पुष २० गते १८:४३

२० पुस, विराटनगर । राष्ट्रियसभाका तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश १ मा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सत्ता गठबन्धनमा रहेको दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक–एक, नेकपा एमालेका ३ र राप्रपाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नेकपा एमालेबाट अन्यतर्फको सदस्यमा गुरुप्रसाद बराल, महिला कोटामा सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपांग कोटामा सोनाम गेल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट अन्य कोटामा नेपाली कांग्रेसका गोपाल बस्नेत, महिला कोटामा एकीकृत समाजवादीका जयन्ती राई र अल्पसंख्यक वा अपांग कोटामा जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अन्यतर्फको सदस्य र महिला सदस्यमा उम्मेदवारी दर्ता गरेको छ । अन्य कोटामा अम्बरबहादुर बिष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दर्ता गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी ३६४ मतदाता छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ हुन्छ ।

५० प्रदेश सांसद र १२६ पालिका प्रमुख÷उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख÷उपप्रमुख रहेको एमालेसँग ४५२४ मतभार छ । एक सांसद र चार प्रमुख÷उपप्रमुख रहेको राप्रपाको मतभार १२० छ ।

प्रदेश १ का एमाले नेताहरुले राप्रपासँग सहकार्य गर्ने र आफ्नो पार्टीका उम्मेदवार जित्ने दाबी गर्दै आएका थिए । तर राप्रपासँग सहकार्य हुने वा नहुने अहिलेसम्म टुंगिएको छैन । सहकार्यको सम्भावनालाई नकार्न नसकिने राप्रपाका नेताहरु बताउँछन् ।

सत्ता पक्षको तामझाम, एमाले चुपाचप

मंगलबार दिउँसो मनोनयन दर्ताका लागि सत्ता पक्षका उम्मेदवार तामझामसहित प्रदेश निर्वाचन कार्यालय पुग्दा एमाले भने सामान्य ढंगले गएको थियो ।

सत्ता पक्षका उम्मेदवार संयूक्त रुपमा मनोनयन दर्ताका लागि पुगेपछि गठबन्धनका कार्यकर्ताले नाराबाजी गरे । मनोनयन दर्ताका क्रममा माओवादीका नेताहरु भने निर्वाचन कार्यालय गएनन् ।

एमालेका उम्मेदवार केही नेता कार्यकर्ता मात्रै लिएर पुगेका थिए । एमालेका नेता भानुभक्त ढकाल, लालबाबु पण्डित, हिक्मतकुमार कार्की, विनोद ढकाललगायत निर्वाचन कार्यालय पुगेका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?