
२१ पुस, काठमाडौं। काजकस्तानमा मन्त्रीहरूलाई बर्खास्त गर्दै संकटकाल घोषणा गरिएको छ । काजकिस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले मन्त्रिमण्डलमा रहेका सदस्यलाई बर्खास्त गरी संकटकाल घोषणा गरेका हुन् ।
टोकायभले मन्त्रीलाई बर्खास्त गर्दै सबैभन्दा ठूलो शहर र पश्चिमी क्षेत्रमा संकटकाल घोषणा गरेको अल जजिराले जनाएको छ । उनले इन्धनको मूल्य बढेको विरोधमा भएको जन प्रदर्शन फैलिँदै गएपछि काजकिस्तानको सबैभन्दा ठूलो शहर अलमाटी र धेरै तेल खानी रहेको पश्चिमी क्षेत्र माङगिस्ताउमा संकटकाल लगाएका हुन् ।
राष्ट्रपति टोकायभले संकटकाल २ हप्तासम्म जारी रहने र सो क्रममा राति ११ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लाग्नुका साथै हिडडुल तथा ठूला जमघटमाथि प्रतिबन्ध लाग्ने समेत प्रस्ट पारेका छन् ।
बुधबार बिहान टोकायभले प्रधानमन्त्री अस्कर मामिनसहित सबै मन्त्रीहरूको राजीनामा स्वीकृत गरेको जानकारी दिँदै कार्यबाहक मन्त्रीलाई तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) को मूल्य नियन्त्रणका उपाय पुन: चाल्न आदेश दिएका छन् ।
त्यस्तै, राष्ट्रपतिले पेट्रोल र डिजेलसहित महत्वपूर्ण वस्तुको मूल्य नियन्त्रणका उपाय थप बढाउन समेत भनेका छन् । अलमाटीमा प्रहरी र सरकारमा रहेका मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका मानिस र प्रहरीबीच झडप भएपछि टोकायभेले पछिल्लो कदम चालेका हुन् ।
प्रतिक्रिया 4