+
+

पाटन दरबारको मल्लकालीन कोत पाटी पनि बतासकै पोल्टामा

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ पुष २२ गते २२:०५

२२ पुस, काठमाडौं । बतास समूहले पाटन दरबार क्षेत्रको मल्लकालीन सम्पदामा पनि सम्झौता विपरीत व्यापार गरिरहेको खुलेको छ ।

मिलेमतोमा सम्झौता गरेर नारायणहिटी दरबार संग्रहालयमा होटल खोल्न खोजेपछि बतास अर्गनाइजेसन विवादमा परेको छ । तर उसले पाटन दरबार क्षेत्रमा पाटनको दरबारको पाटी पनि सस्तो दरमा लिएर सम्झौता विपरीत व्यापार गरिरहेको पाइएको हो ।

पाटन दरबार क्षेत्रको मंगलबजारपटि्टको कोत पाटी मल्लकालीन राजा श्रीनिवास मल्लले बनाएका हुन् । पाटीमा रहेको ३३ वटा कवलमध्ये १८ वटा कवल बतास समूह अन्तर्गतको बीपीएस लिजिङले ठेक्का लिएको छ । बीपीएसले नाम परिवर्तन गरेर अहिले बी म्यानेजमेन्ट बनाइएको छ ।

मल्लकालमा राजदरबारको हतियार राख्नको लागि बनाइएको सो पाटी ऐतिहासिक रुपमा पनि महत्वपूर्ण मानिन्छ । मल्लकालपछि सर्वसाधरणको खुला पहुँचमा रहेको यो पाटी पुरातत्व विभागका तत्कालीन महानिर्देशक साफल्य अमात्यको पालामा २०४० को दशकको मध्यतिर पुरातत्व विभाग मातहत आएको थियो । वि.सं. २०६४ सालसम्म पाटीका कुल ३३ वटा कवलमध्ये १८ वटामा स्थानीयले पसल चलाउँथे । स्थानीय व्यवसायीहरुले विहान-बेलुका प्रयोगमा ल्याउने गरेका थिए । विशेष दिनहरुमा त्यहाँ विभिन्न धार्मिक/सांस्कृति गतिविधि पनि हुन्थे ।

स्थानीयले व्यवसाय गरेपनि मान्छेलाई पाटीमा थकाइ मार्न र अन्य सांस्कृतिक गतिविधि गर्न निषेध थिएन । स्थाननीय कृष्ण राजकर्णीकारका अनुसार त्यहाँ उनका बाबुबाजेले हलुवा र पुरी बेच्थे । ‘पछि पाटीको पुरै व्यापारीकरण भयो,’ उनी भन्छन्, ‘पाटी खुला गर्ने नीति हो भने त त्यहाँबाट हामीलाई हटाउनु गलत भन्न मिल्दैनथ्यो, तर पछि धनाढ्य व्यापारीलाई ल्याएर हुलियो ।’काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट र पुरातत्व विभागले २०७१ सालमा पुनर्निर्माण गरेर सो पाटी पुरातत्व विभागलाई हस्तान्तरण गरेको थियो ।

पुरातत्व विभागले पाटी सञ्चालनको जिम्मा पाटन संग्रहालय विकास समितिलाई दिएपछि वि.सं. २०७२ साउमा भाडामा लगाउन टेण्डर आह्वान गरेको थियो । हस्तकलाका सामानहरुको बिक्री कक्ष बनाउन भनेर टेण्डर आहृवान गरेको थियो । त्यतिबेला ६ वटा कम्पनीले बोलपत्र दर्ता गराएकोमा बतास समूहको बीपीएसले १५ वर्षको लागि ३० फागुन २०७३ बाट ठेक्का पायो ।

तर, हस्तकला वा पर्यटकीय वस्तुको बिक्री गर्ने शर्तमा ठेक्का पारेको कम्पनीले अहिले बैंकको एटीएम र हिमालयन जाभा कफी सप सञ्चालन गरिरहेको छ । उसले संग्रहालयलाई कफी सप र एटीएम पनि पर्यटकीय वस्तु अन्तर्गत् नै दाबी गर्दै तेस्रो पक्षलाई कवल भाडामा लगाएको हो । जसमा सरकारको मौन सहमति छ ।

मंगलबजारमा कवलको ८ हजार भाडा 

पाटन संग्रहालय व्यवस्थापन समितिले पाटीका १८ वटा कवल शुरुमा मासिक ८ हजार ९५ रुपैयाँको दरमा भाडामा दिएको थियो । बतासले शुरुमा वार्षिक १७ लाख ४८ हजार ६१२ रुपैयाँ तिर्ने सहमति गरेको थियो । वाषिर्क रुपमा भाडा बढ्ने  शर्तअनुसार अहिले प्रतिपसल मासिक १२ हजार रुपैयाँ पुगेको छ ।

ललितपुरको मुख्य व्यापारिक केन्द्रमा रहेका पसलको भाडा अहिले मासिक १२ हजार रुपैयाँ मात्रै भन्ने सुन्दा स्थानीयहरु जीब्रो टोक्छन् । स्थानीय रुम्भा खड्गीकाअनुसार मंगलबजार क्षेत्रमा अहिले गल्लीभित्रका सटरमा मासिक ४०-५० हजार रुपैयाँ तिर्दा कवल पाउन मुकिस्ल छ ।

पाटन संग्रहालय विकास समितिका निमित्त प्रमुख सुरेश लाखेका अनुसार पाटीमा हस्तकला बिक्री भण्डार राख्ने गरी मापदण्ड समेत बनिसकेको छ ।

तर आफैँले त्यो चलाउन सम्भव नभएको र उपयोग गर्दा संरक्षण पनि हुने भएकाले भाडामा दिइएको उनले बताए । पहिलेजस्तै खुला राखेर सांस्कृतिक रुपमा प्रयोगमा ल्याउने हो भने बीचैमा कानुन बमोजिम सम्झौता रद्द गरेर सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिन सकिने उनी बताउँछन् ।

उनका अनुसार रहेका कुल ३३ कवलमध्ये ३ वटा कवल दोलखा भीमसेन भजन खलः लगायतका धार्मिक गतिविधिको लागि, ३ वटा कवल पाटन संग्रहालयको लागि र ९ वटा कवल बाँकी राखिएको छ । १८ वटा भने बतासको पोल्टामा छ ।

तस्वीरः शंकर गिरी 

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?