+
+

पर्यटन बोर्डको मौलिक भवन कुरुप पार्ने टहरो

पर्यटन विभागले उपयोग गरिरहेको क्षेत्र भित्र मौलिक भवनको अस्तित्व नै मेटिने गरी बनाइएका प्रि–फ्याब संरचनाले यो भवनको शोभा र गरिमालाई धुमिल बनाइरहेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०७८ पुष २३ गते १७:२२
पर्यटन बोर्डको भवनमा बनाइएको प्रिफ्याब टहरो । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

२३ पुस, काठमाडौं । भृकुटीमण्डपस्थित पर्यटक सेवा केन्द्रको कम्पाउण्ड भित्र अहिले तीन वटा सरकारी संरचनाले काम गरिरहेका छन् । यसभित्र नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन विभागका कार्यालय सञ्चालनमा छन् ।

यसमध्ये पर्यटन विभागले उपयोग गरिरहेको क्षेत्र भित्र मौलिक भवनको अस्तित्व नै मेटिने गरी बनाइएका प्रि–फ्याब संरचनाले यो भवनको शोभा र गरिमालाई धुमिल बनाइरहेको छ । जसको पछिल्लो उदाहरण हो, साविकमा क्यान्टिन चलिरहेको छतमाथि अहिले धमाधम बनिरहेको नयाँ टहरो ।

त्यसो त, विभागले विगतमा समेत मौलिक घरको आडमा प्रि–फ्याबका संरचना बनाएर कार्यालय खडा गरिसकेको छ । पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीका अनुसार छतमा निर्माण गरिएको नयाँ संरचनामा पर्यटक सूचना केन्द्र बनाउने तयारी छ ।

निवर्तमान महानिर्देशक रुद्रसिंह तामाङको पालामा पर्यटन सूचना केन्द्रका लागि टहरो निर्माण गर्ने निर्णय भएको थियो । सोही अनुसार अहिले काम धमाधम भइरहेको छ । छतमा टहरो बनाउने निर्णयपछि त्यहाँ संचालनमा रहेको क्यान्टिनलाई विभागको अग्रभागमा रहेको अर्को प्रिफ्याब संरचनामा झारिएको छ ।

अलपत्र छ पर्यटक सूचना केन्द्र

यो कम्पाउण्ड भित्र खडा गरिएका सबै संरचनाको उद्देश्य पर्यटकको सेवा सरलीकृत गर्ने हो । सोही अनुसार नेपाल पर्यटन बोर्डले आफ्नो कार्यालय परिसरमा पर्यटक सूचना केन्द्र समेत राखेको छ ।

तर, यो सूचना केन्द्र कर्मचारी अभाव र उचित व्यवस्थापन नभएर अलपत्र छ । बोर्डका एक उच्च अधिकारी भन्छन्, ‘यहाँ सूचना केन्द्र छ, तर नाम मात्रको सूचना केन्द्र भएको छ, उता विभागले यही नाममा भवन बनाउनुको औचित्य बुझ्न सकिएन ।’

अहिले पर्यटन विभागमा पर्वतारोहीबाहेक अन्य प्रयोजनमा आउने पर्यटक सिधै जानुपर्दैन । उनीहरुलाई नेपाल पर्यटन बोर्डले सेवा दिन्छ । अर्कोतर्फ संघीयता कार्यान्वयनमा आएपछि पर्यटन विभागको कार्यभारसमेत ७० प्रतिशतसम्म घटेको छ । तीन तारे भन्दा तल्लो स्तरका होटेल प्रदेशमै दर्ता हुन्छन् । विभागमा काम घटिरहेका बेला धमाधम संरचना थप्नुको उद्देश्यमाथि भने प्रश्न उठेको छ ।

अहिले नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन विभाग रहेको यो कम्पाउण्ड समाज कल्याण परिषद्को जग्गा हो । यसलाई ९९ वर्षका लागि भाडामा लिएर अहिलेको बोर्डको संरचनामा भवन बनाउने र यसलाई पर्यटक सेवा केन्द्रका रुपमा स्थापना गर्ने गरी भवनको डिजाइन गरिएको हो ।

नेपाल पर्यटन बोर्डमा शुरुवातबाटै काम गरेका बोर्डका पूर्वसीइओ दीपकराज जोशीका अनुसार एसियाली विकास बैंकको सहयोगमा निर्मित यो भवन २०५५ सालमा उद्घाटन भएको हो । सोही वर्ष पर्यटन बोर्डको स्थापना भयो । त्यसपछि बोर्ड यसै परिसरमा रह्यो । त्यसपछि पर्यटक प्रहरी र पर्यटन विभागका कार्यालय स्थापना गरिए ।

जोशीका अनुसार बोर्ड परिसरमा शुरुवातमा पर्यटक प्रहरी र विभाग राख्ने अवधारणा थिएन । अहिले विभागको कार्यालय रहेको क्षेत्रमा बोर्डको कार्यालय रहने, बोर्डको अग्रभागमा पर्यटक सूचना केन्द्र राख्ने र नेपालबारे पर्यटकलाई सबै सुविधा यसै केन्द्रमार्फत दिने उद्देश्यले भवनको डिजाइन गरिएको हो ।

अहिले बोर्डको कार्यालय रहेको क्षेत्रमा संग्रहालय बनाएर त्यसमा नियमित प्रदर्शनी गर्ने र हलमा मौलिक सांस्कृतिक कार्यक्रम तथा भिडियो प्रदर्शन गर्ने अवधारणा थियो । बोर्ड र विभागको बीचमा रहेको आँगनमा सांस्कृतिक गतिविधिहरु गर्ने र पर्यटकलाई परिसर प्रवेश गरेपछि सम्पूर्ण नेपालको जानकारी प्राप्त हुन सक्ने एक वृहत केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले मौलिक डिजाइनमा यो संरचना बनेको हो ।

तर, सरकारको अदूरदर्शी निर्णयले भवन र परिसरका संरचना कुरुप बन्दै गएको गुनासो उनले गरे । ‘बोर्ड परिसरमा अहिले जस्तो झल्को देखिन्छ, अवधारणा यस्तो होइन,’ उनले भने, नेपालको मौलिक घरभित्र छिरेर सम्पूर्ण नेपाल एउटै परिसरबाट नियाल्न सक्ने बनाउने भन्ने थियो ।’

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?