+
+

ओमिक्रोन फैलिन नदिन गण्डकीका नाकामा कडाइ गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते २०:००

२३ पुस, पोखरा । शुक्रबार थप २४ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरिने भएको छ । एकैपटक ठूलो संख्यामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँँगै खुकुलो पारिएका गण्डकीका नाकाहरुमा पुनः कडाइ गरिने भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मासहितको शुक्रबार बसेको बैठकले ओमिक्रोन नियन्त्रण गर्न तत्कालन आवश्यक तयारी थाल्ने निर्णय गरेको हो ।

बैठकमा हालै भइरहेका सबै प्रकारका मेला महोत्सव समेत बन्द गर्न सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयका सचिव विनोदविन्दु शर्मालाई मन्त्री गुरुङले निर्देशन दिएकी छन् ।

बैठकमा मन्त्री गुरुङले ओमिक्रोन नियन्त्रणका लागि नाकामा जाँच तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन अक्सिजन सिलिन्डरलगायत तयारी अवस्थामा राख्न निर्देशन दिएकी हुन् ।

बैठकमा मन्त्रालयका सचिव शर्माले ओमिक्रोन फैलिने देखिएमा स्मार्ट लकडाउनमा जान सकिने सुझाव राखे । ‘मानिसको स्वास्थ्यभन्दा ठूलो अरु कुरा नभएकाले आवश्यक परे स्मार्ट लकडाउनसम्म पनि जान पर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा शुक्रबारसम्म १ सय ७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये १ सय १५१ जना संक्रमित होम आइसोलेसनमा छन् भने बाँकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् । गण्डकीमा हालसम्म एक हजार ४२७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

गण्डकीमा पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ जना निको भएका छन् । तथ्यांकअनुसार गण्डकीमा सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । कुल सक्रिय संक्रमितमध्ये कास्कीमा मात्रै १ सय २७ जना सक्रिय संक्रमित छन् ।

गण्डकीका मनाङ, मुस्ताङ र गोरखा गरी ३ जिल्ला संक्रमित शून्य भई ‘ग्रिन सिग्नल’ पाउँदा भारतसँग सीमाना जोडिएको नवलपुरमा १९ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ओमिक्रोन प्रभावित छिमेकी देश भारतसँग सीमा जोडिएको नवलपुर नाकाना एक हजार बेडको आइसोलेसन निर्माण गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म १८ वर्षमाथि उमेर समूहका ९१ प्रतिशत नागरिकले पहिलो डोज लगाउँदा ७५ प्रतिशतलेमात्रै दोस्रो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । त्यस्तै, १२ देखि १७ वर्ष उमेर समूहका नागरिकले भने जम्मा ३ प्रतिशत खोप पाएका छन् ।

प्रदेशमा ओमिक्रोन भेरियन्ट हालसम्म पुष्टि नभए पनि सतर्कता अपनाउने बेला आइसकेको निर्देशनालय निर्देशक डा खिमबहादुर खड्काले जानकारी दिए । ‘गण्डकीमा हालसम्म ओमिक्रोन भेटिएको छैन । तर, भेटिएजस्तै हो । सतर्क हुनुपर्नेबेला भइसक्यो,’ उनले भने । ओमिक्रोन भेरियन्टसँग जुध्न गण्डकी सुरुदेखि नै सम्पूर्ण स्रोत र साधन तयारी अवस्थामा रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?