+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शान्तिका ‘बुलन्दी’ कविताहरू !

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ पुष २४ गते १५:३१

२४ पुस, काठमाडौं । हेटौंडा र काठमाडौंको दूरी उति टाढा छैन । तर पहुँचको कारण हेटौंडा र काठमाडौंबीच धेरै फरक छ । एउटा शहर भर्खरै राजधानी बनेको छ भने अर्को युगौंदेखि राजधानीहरूको पनि राजधानी बनेर बसेको छ ।

तर काठमाडौं खाल्डोलाई हेटौंडाले बारम्बार चुनौती दिने गरेको छ । कहिले विद्रोहले, कहिले सृजनाले । यसपटक हेटौंडा मूलथलो भएकी कवि शान्ति प्रियवन्दनाले आफ्ना बुलन्द कविताले ‘काठमाडौं जस्ता’ सत्तासँग  एकपटक जोरी खोजेकी छन् ।

दुई दशकदेखि कविता लेख्दै आए पनि शान्तिले कवितासंग्रह पहिलोपटक प्रकाशित गरेकी हुन् । ३५ थान कविता समेटिएको ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।

शान्ति भीमफेदीमा जन्मिइन् । जुन नेपालको पुरानो राजमार्ग त्रिभुवन राजपथछेउको हरियाली गाउँ हो । भीमफेदीको सेरोफेरोमा जीवनका उर्जाशील समय बिताएकी शान्ति क्याम्पस पढ्न थालेपछि हेटौंडा बजारमा बस्न थालिन् । त्यसयता हेटौंडालाई नै केन्द्र बनाएर सामाजिक-राजनीतिक गतिविधिमा सक्रिय छिन् ।

‘म धेरै ठाउँमा घुम्न गइरहन्छु तैपनि मेरो मन हेटौंडाकै हरियालीमा रमाउँछ’ उनी  सुनाउँछिन्, ‘अव्यवस्थित शहरीकरणले हेटौंडाको वातावरण बिग्रिएपनि बाल्यकालीन परिवेशले सधैं ऊर्जा दिन्छ ।’

हेटौंडामा शान्तिको संघर्ष सानोतिनो बहिखातामा उतार्न सकिंदैन । उनले स्कुल पढाउनेदेखि स्थानीय एनजीओसम्म जागिर गरिन् । गाउँस्तरीय साहित्यिक संस्थादेखि प्रगतिशील लेखक संघ (प्रलेस)मा आबद्ध भइन् । अहिले उनी प्रलेस मकवानपुरको पहिलो महिला अध्यक्ष रुपमा संस्थाको नेतृत्व गरिरहेकी छन् ।

प्रलेस र हेटौंडाका साहित्यिक संस्थाको आयोजनामा प्रत्येक महिना साहित्यिक कार्यक्रम हुने गर्दथ्यो । तीमध्ये धेरै कार्यक्रमको संयोजन शान्तिले नै गर्थिन् । एकल वाचन, पुस्तक लोकार्पण, पुस्तक चर्चा तथा समसामयिक विमर्शहरू आयोजना गर्न शान्ति नै अघि सर्थिन् ।

शान्तिको पहिलो कविता २०५४ सालमै प्रकाशन भएको हो । त्यसयता नियमित कविता र अखबारी लेखनमा सक्रिय छिन् उनी ।

शान्तिका पाइला कविताको यात्रामा मात्र सीमित छैन । उनी हेटौंडाबाहिर घुमफिरमा पनि निस्किरहन्छिन् । कहिले इलाम, दार्जिलिङ त कहिले देशका हिमाल-पहाडतिर । फूलबारी स्याहार्न पनि उनी मन पराउँछिन् । सामाजिक सञ्जालमा जातजातका फूलहरूको तस्वीर राख्न मन पराउँछिन् ।

‘फूलबारीको काम निकै मन पर्छ’ उत्साहित बन्दै उनी सुनाउँछिन्, ‘फूलको सौन्दर्यशास्त्र बुझेको छु । तर मानव-मन न हो यसप्रति आकर्षित भइहाल्छ ।’

महिला हुनुको कुरालाई उनी अत्यन्त गौरवको रुपमा लिन्छिन् । यसैले त महिलाको जीवनमा आउने आरोह-अवरोहलाई हार्दिकतापूर्वक स्वीकार गरेकी छन् । मातृत्वको जिम्मेवारीसँगै साहित्य कर्ममा होमिएकी छन् । छोरा दृष्टान्त बिडारी फोटोग्राफर हुन् । कतै घुम्न जान नपाए छोराले खिचेका वनजंगल र चराको तस्वीर शेयर गरेर मन बुझाउँछिन् ।

रत्न पुस्तकका गोविन्दप्रसाद श्रेष्ठसँग आफ्नो पुस्तक लिँदै कवि शान्ति ।

विसंगत जीवनको चित्रण

शान्तिको पहिलो कविता प्रकाशन २०५४ सालमै भएको हो । त्यसयता नियमित कविता र अखबारी लेखनमा सक्रिय छन् । प्रकाशित हुन थालेको बीस वर्षपछि मात्रै कविताकृति प्रकाशन गर्नुले उनको बलियो धैर्य देख्न सकिन्छ । उनले विचार र कलाको सन्तुलित शैलीबाट समयसापेक्ष कविता सृजना गरिएको पाइन्छ ।

‘जिल खाइरहेको एक्काइसौं शताब्दी’भित्रका कवितामा भने प्रशस्त विविधता पाइन्छ । निजी भावनाका अभिव्यक्तिदेखि, राष्ट्रिय राजनीति अनि गरिखाने वर्गको मुक्तिको कामना उनको कविताका विषय हुन् ।

शान्तिका अनुसार समाजमा ‘गराएर खाने’ र ‘गरिखाने’ दुई वर्ग रहेको छ । गराएर खानेहरू आजको भाषामा दलाल हुन्, बिचौलिया हुन् । उनीहरूकै माथिल्लो स्वरुप कर्पोरेट हो । तर शान्तिका कवितामा आफ्नै पौरखले आर्जित पूँजीले बाँचेकाहरूको आवाज पाइन्छ । श्रमप्रति अत्यन्त आदरभाव पाइन्छ ।

‘जीवनको एक दशक कठोर श्रम गरेको छु मैले’ शान्ति सुनाउँछिन्, ‘त्यहीबेलादेखि गरिखानेहरूको असली पीडा बुझेको छु । गरिखानेहरूकै पक्षमा लेख्ने संकल्प गरेको छु ।’

उनको ‘आमा मेरो विश्वविद्यालय’, ‘शहरमा झरी’, ‘आँसु हिँड्ने बाटोमा’जस्ता कविता प्राञ्जल भावका छन् भने ‘पक्षपाती घाम’, ‘जवाफ पाउँ सरदार’, ‘केत्तुकेको नाम्लो’, ‘पोस्टमार्टम रिपोर्ट’जस्ता कविता विद्रोही भावका छन् । अधिकांश कविता सरल भाषा र छोटा आकारमा छन् ।

शान्तिका लागि कविता एउटा उज्यालो हो । त्यस्तो उज्यालो, जसले जगतलाई बेग्लै ढंगले हेर्न र बुझ्न सघाउँछ । उनी थप्छिन्, ‘मेरो कविता गरिखाने र उत्पीडितका संघर्ष र आन्दोलनको पक्षमा मेरो समर्थन मात्र होइन, सक्रिय सहभागिता पनि हो ।’

कवि निमेल निखिलका अनुसार लामो समयको काव्य-साधनापछि निस्कन लागेको शान्तिको कवितासंग्रह विचार र कलाले निकै परिपक्व देखिन्छ । यता सरिता तिवारीका अनुसार शान्तिका कविता सरल तर संवेगको भुइँ हलचल गराउने खालका छन् ।

तिवारी लेख्छिन्, ‘शान्ति प्रायः स्वतस्फूर्त लेख्छिन्, सरर छोएर बहने हावाजस्ता नरम कविता । तर उनका कविता कुनै अकथ्य सत्य भन्नका लागि लेखिएका होइनन् ।’

कवि श्यामलको शब्दमा भने शान्ति प्रियवन्दना नारी मुक्तिको चेष्टा गर्ने प्रभावशाली कवि हुन् । ‘उनी मातृवन्दना मात्र गर्दिनन्, आम महिलाका चासो र चिन्तालाई कवितामा स्थान पनि दिन्छिन्’ श्यामल भन्छन्, ‘खासमा उनी नेपाली नारीलाई योद्धाका रुपमा देख्न चाहन्छिन् ।’

अन्तिममा कवितासंग्रहबाट ‘पोस्टमार्टम रिपोर्ट’ शीर्षकको कविता यहाँ प्रस्तुत गरिएको छ-

पोस्टमार्टम रिपोर्टअनुसार

त्यो महिलाको शरीरभित्र

थुप्रै  हानिकारक चिज थिए

उत्पीडन

अपमान

अत्याचार

संस्कार

नियम

कानुन

दाइजो

बोक्सी प्रथा…

पोस्टमार्टम रिपोर्टअनुसार

त्यो महिलाको शरीरभित्र

एउटा भयानक  पुरुष

उपरखुट्टी लाएर बसिरहेको थियो

हाँसिरहेको थियो भद्दा ढंगले ।

तस्वीरहरू : लेखकबाट प्राप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?