
२४ पुस, काठमाडौं । पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ शनिबार सार्वजनिक भएको छ ।
काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा आयोजित कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तकको लोकार्पण गरिन् ।
पुस्तकबारे टिप्पणी गर्दै लेखक उपेन्द्र सुब्बाले युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको बताए ।
लेखक शिवानीसिंह थारुले नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको बताइन् ।
‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका लबजमा नेपाली भाषा बोलिन्छ । त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर बसन्तजीले पूर्वेली लिम्बू लबजलाई नेपाली भाषामा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ । यही नै यसको सशक्त पक्ष हो ।’
महाभाराका लेखक बस्नेतले कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनमा फुर्सद पाएको र उपन्यास लेखनलाई गति दिएको बताए । ‘लकडाउनले धेरैलाई कवि बनायो । मलाई उपन्यासकार,’ उनले भने ।
प्रकाशक फाइनप्रिन्टका अजित बरालले ‘महाभारा’लाई लिएर आफू अति उत्साहित रहेको बताए । ‘स्मरणीय पात्रहरू, हास्यरसको प्रचुरता र नेपाली आख्यानमा विरलै पाइने संवादले ‘महाभारा’लाई पछिल्लो समयमा प्रकाशित राम्रा आख्यानको पङ्क्तिमा दरिलोसँग उभ्याउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।
उपन्यास महाभारा प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको कृति भएको लेखकले बताएका छन् ।
प्रतिक्रिया 4