+
+

मौसम सुधार भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले

रासस रासस
२०७८ पुष २५ गते ८:४४

२५ पुस, भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने बताएका छन् ।

शनिबार विमानस्थलको अनुगमनका गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए ।

उनले भने, “क्यालीब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ, मौसममा सुधार भए क्यालिब्रेशन फ्लाइट गर्छौं ।” मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताए ।

उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत मन्त्री आलेले निर्देशन दिए ।  यसैगरी उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए ।

क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरण साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्नु हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइट गर्ने तयारी रहेको बताए ।

उनले भने, “क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ, उनीहरूले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ ।”

क्यालिब्रेशन फ्लाइटमा धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरण जाँच गर्ने र सबै चिजको रिपोर्ट ठीक भएपछि परीक्षण उडान गर्नुपर्ने नियम छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुल ८०० बिघा क्षेत्रफल छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?