+
+

बतासले धर्मशालामा चलाएको होटलको बीमा शुल्क पशुपतिको खाताबाट

सम्झौतामा नै धर्मशाला भवन र सो सञ्चालनसँग सम्बन्धित सम्पत्ति, तेस्रो पक्ष बीमा र श्रम ऐन बमोजिम दोश्रो पक्षको जनशक्तिको बीमाको रकम समेत पशुपति क्षेत्र विकास कोषले व्यहोर्नुपर्ने शर्त राखिएको छ । सो बिमांक रकम बतास समूहले कोषलाई भुक्तानी गर्ने बहाल रकममा मिलान गर्न सक्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ पुष २६ गते १९:२४

२६ पुस, काठमाडौं । पशुपतिको विवादित नेपाल-भारतमैत्री पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता पत्रमै पशुपति क्षेत्र विकास कोषलाई नोक्सानी हुने गरी विभिन्न शर्त राखेको पाइएको छ । कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालले गरेको सम्झौतामा बतास समूहको होटल र त्यहाँ सञ्चालित बतास फाउन्डेसनको कार्यालय र कर्मचारीको बीमाको प्रिमियम रकम समेत पशुपतिको कोषबाट विषय समेटेको पाइएको हो ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र बतास समूहको तर्फबाट ओस्कर बतासबीच २०७६ साल वैशाख ३० गते भएको सम्झौतामा होटलको लागि नियुक्त कर्मचारीको बीमा एवम् होटल सञ्चालनसँग सम्बन्धित सम्पत्तिको बीमा कोषले तिर्ने उल्लेख गरिएको छ ।

भारत सरकारले तीर्थालु बस्नको लागि बनाइदिएको सो धर्मशाला कुनै पनि कार्यविधि विना नै तत्कालीन सदस्यसचिव डा. ढकालले बतास समूह अन्तर्गतकाे आनन्द होटललाई १० वर्षको लागि मासिक ८ लाख ७८ हजार ४६८ रुपैयाँमा भाडामा दिने निर्णय गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषको ऐन २०४४ अनुसार नीति नियम बनाउने एवं दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार सञ्चालक परिषद्लाई दिएको छ ।

तर डा. ढकालले सञ्चालक परिषद्बाट स्वीकृति नै नलिई आफूखुसी कोषका लागि घातक सम्झौता गरेर बतास समूहलाई धर्मशालाको जिम्मा लगाएको भन्दै सञ्चालक परिषद्का सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

बतास समूहसँग भएको २६ बुँदे सम्झौतापत्रको १२ औं बुँदामा आगलागी, भूकम्प, हुलदंगा प्राकृतिक प्रकोपबाट यस करारमा उल्लिखित भवन सुरक्षाका लागि बीमा नेपाल-भारत मैत्री पशुपति धर्मशाला लिजआउट सम्बन्धी कार्यविधि-२०७५ मा उल्लेख भए बमोजिम गराउनुपर्ने उल्लेख छ । त्यसो त कार्यविधि स्वीकृत नै नभई कार्यविधिको हवाला दिएर गरिएको शर्त नै फर्जी रहेको सञ्चालक परिषद्का एक सदस्य बताउँछन् ।

तर सम्झौतामा नै धर्मशाला भवन र सो सञ्चालनसँग सम्बन्धित सम्पत्ति, तेस्रो पक्ष बीमा र श्रम ऐन बमोजिम दोश्रो पक्षको जनशक्तिको बीमाको रकम समेत पशुपति क्षेत्र विकास कोषले व्यहोर्नुपर्ने शर्त राखिएको छ । सो बिमांक रकम बतास समूहले कोषलाई भुक्तानी गर्ने बहाल रकममा मिलान गर्न सक्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।

धर्मशालाभित्र बतासको कार्यालय

ती सदस्य भन्छन् ‘बतास समूहले आफ्नो कार्यालय र शाेरुम समेत त्यहाँ राखेको छ, त्यसलाई पनि उसले धर्मशालासँग सम्बन्धित सम्पत्तिको रुपमा व्याख्या गरेको छ । उसको कार्यालयको सम्पत्ति समेत पशुपतिले व्यहोर्नुपर्ने यो कहाँको न्याय हो ?’

भाडा फिर्ता गर्न शर्त

पशुपति क्षेत्रमा व्यावसायिक प्रयोजनको लागि कौडीको भाउमा धर्मशाला भाडामा लिएको बतास समूहले अनेक बहानामा भाडा रकम समेत फिर्ता गर्ने गरी सम्झौता गरेको भेटिएको छ ।

कार्यालय र आफूले काममा लगाएका कर्मचारीको समेत बीमा पशुपति कोषको रकमबाट तिर्ने सम्झौता गराएको बताससँग कुनै पनि प्राकृतिक प्रकोपमा व्यवसाय सञ्चालन हुन नसकेको खण्डमा सो समयको बहाल रकम छुट दिने सहमति भएको छ ।

सम्झौताको दफा १५ मा भूकम्प, हुलदंगा लगायतका प्राकृतिक प्रकोपको कारणले यस करारमा उल्लिखित भवनमा कुनै किसिमको क्षति भई व्यवसाय सञ्चालन गर्न बाधा पर्न गएमा त्यसरी बाधा परेको समयावधिलाई यस बहालको समयावधिमा थप गरिने र पुनर्निर्माण समयावधिका लागि कोषले बहाल रकम मिनाहा गर्न सक्ने व्यवस्था गरेको छ ।

मनपरी संरचना हेरफेर

बतास समूहले धर्मशाला सञ्चालनमा ल्याएपछि पुरानो स्वरुपलाई हेरफेर गरेको छ । तर सो हेरफेर सम्झौता विपरीत रहेको भेटिएको छ । सम्झौताको दफा १६ मा करारनामा बमोजिम बतास समूहले भवनमा आवश्यक थप सुविधाहरू निर्माण गर्नका लागि मूल संरचना (बिम पिलर) बाहेक अन्य आन्तरिक तथा वाह्य संरचनामा थप निर्माण, फेरबदल गर्न चाहेमा कोषको तर्फबाट संयोजक कोषाध्यक्ष, परिषदका सदस्य सदस्य तथा धर्मशाला हेर्ने महाशाखा प्रमुख सदस्य सहितको तीन सदस्यीय समितिको सिफारिस भई स्वीकृतिपश्चात मात्रै गर्नुपर्ने उल्लेख छ ।

तर सो समिति गठन नै नभई बतासले आफूखुसी संरचना हेरफेर गरेको छ । तत्कालीन कोषाध्यक्ष एवं हाल पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले त्यतिबेला संरचना हेरफेर गर्ने विषयमा आफू नेतृत्वमा समिति नै गठन नभएको जानकारी दिए ।

फाइल मन्त्रालयमै

त्यसो त कोष र बताससँग भएको सम्झौता अवैध रहेको बारेमा विवाद भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि यसबारेमा चासो दिएको थियो । २०७६ साल असार १७ गते कोषलाई चिठ्ठी लेखेर मन्त्रालयले सो सम्झौताको सक्कल फाइल मगाएको थियो ।

पत्रको जवाफमा कोषले असार ३१ गते मन्त्रालयलाई सक्कल फाइल पठाएको थियो । तर त्यसपछि मन्त्रालय मौन बस्यो । कोष स्रोतका अनुसार मन्त्रालयले न त त्यसको सक्कल फाइल कोषलाई फिर्ता गर्‍यो, न त अन्य कारबाही नै गर्‍यो ।

त्यसपछि विभिन्न मितिमा धर्मशाला विवाद बारे भएका सम्झौताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रले समेत छानबीन गरिरहेको छ । तर यसमा कुनै पनि निकायले कारबाही प्रक्रिया अघि नबढाएको कोष स्रोतले जनाएको छ ।

मिलेमतो र मनपरी

त्यसो त तिलगंगाको १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशालामा सञ्चालनको ठेक्का प्रक्रियादेखि नै मनपरी र मिलेमतो देखिएको छ ।

सो होटलको लागि टेण्डर गर्ने बेलामै ३ करोड रुपैयाँसम्म समाजसेवा गरेको कम्पनीले मात्रै ठेक्का प्रक्रियामा भाग लिन पाउने भनेर सुरुमै मिलेमतोमा ठेक्का आह्वान गरिएको थियो । ठेक्का प्रक्रियादेखि कुनै पनि काममा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदको स्वीकृति नै लिइएन ।

नियमअनुसार पशुपति मन्दिरको पूजासम्बन्धी व्यवस्था र तत्काल निर्णय गर्नुपर्ने विषयलाई मात्रै कार्यसम्पादन समिति सदस्यसचिवको अध्यक्षताको कार्यसम्पादन समितिले गर्न सक्छ । दीर्घकालीन महत्व बोकेको विषयलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको अध्यक्षमा बस्ने सञ्चालक परिषदमा लैजानुपर्ने हुन्छ ।

तर तत्कालीन सदस्य सचिव डा. ढकालले कार्यविधि सञ्चालक परिषदबाट पारित नै नगरी ‘कार्यविधि बमोजिम’ भन्दै गैरकानूनी रुपमा बताससँग करार सम्झौता गरेका थिए । तत्कालीन सदस्य सचिव डा. ढकालले लिज कार्यविधि, २०७५ स्वीकृत गरेर २०७५ माघ २९ गते धर्मशाला भाडामा लगाउन सूचना प्रकाशन गराएका थिए । जसमा धर्मशाला भाडामा लिन चाहने कम्पनीले विगत वर्षहरुमा दान, दातव्य, सामाजिक कार्यमा तीन करोड खर्च गरेको हुनुपर्ने असान्दर्भिक शर्त बोलपत्र कागजातमा राखिएको हो ।

धर्मशाला भाडामा लिन चार प्रस्ताव पर्‍यो, जसमध्ये दानमा तीन करोड खर्च गरेको प्रमाण पेश नगरेको भन्दै धेरै रकम तिर्ने कबोल गरेका तीन कम्पनी अस्वीकृत भए । सबभन्दा कम कबोल गर्ने बतास समूहको होटल आनन्दको प्रस्ताव स्वीकृत भयो । वर्षमा एक करोड पाँच लाख ४१ हजार भाडा लिने गरी १५ वर्षका लागि २०७६ वैशाख ३० मा ‘होटल आनन्द’सँग सम्झौता भएको थियो ।

अनलाइनखबर फलोअप

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?