+
+

नाकाका होल्डिङ सेन्टर अधुरै, संक्रमितलाई पनि पठाइन्छ घर

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले भने, ‘एन्टिजेन पोजेटिभ देखिएकाहरुलाई आफन्तसँग सम्पर्क गरेर होम आइसोलेसनका लागि पठाउछौं, होल्डिङ सेन्टर तयार भएको छैन ।’

हरि अधिकारी हरि अधिकारी
२०७८ पुष २६ गते २१:१२

२६ पुस, विराटनगर । भारतमा कोरोना संक्रमण बढ्न थालेपछि विराटनगर नाका हुँदै घर फर्कनेको संख्या पनि बढ्दो छ ।

पुस १ गतेयता भारतबाट विराटनगरको रानी नाका हुँदै नेपाल आएका ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । तर नाकामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई पनि होम आइसोलेसनमा बस्ने शर्तमा घर पठाउने गरिएको छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले भने, ‘एन्टिजेन पोजेटिभ देखिएकाहरुलाई आफन्तसँग सम्पर्क गरेर होम आइसोलेसनका लागि पठाउछौं, होल्डिङ सेन्टर तयार भएको छैन ।’

होल्डिङ सेन्टर अधुरै भएका कारण पोजेटिभ देखिएकाहरुलाई घर पठाउने गरिएको हो । रानी नाका छेउ विराटनगर महानगरपालिका– १६ मा हनुमान कन्स्ट्रक्सनले एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । नेपाली सेनामार्फत ठेक्का लिएको हनुमान कन्स्ट्रक्सनले २२ वटा भवन निर्माण पूरा गर्न अझै दुई महिना लाग्ने बताएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको टोलीले आइतबार होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो । होल्डिङ सेन्टर चाँडै सक्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । होल्डिङ सेन्टरमा हाल एक सयजना भन्दा बढी अटाउन सक्दैनन् ।

विराटनगर महानगरपालिका हेल्थ डेस्कका इञ्चार्ज सुरेन्द्र यादवका अनुसार दैनिक एक सय भन्दा बढीको कोरोना जाँच हुन्छ ।

भारतबाट आउनेको संख्या बढ्दै गए पनि सबैको एन्टिजेन परीक्षण गर्न नसकिएको उनले बताए । सोमबार विराटनगर नाकाबाट नेपाल प्रवेश गरेका ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहाल भारतबाट आउनेहरुलाई स्वास्थ्य जाँचपछि मात्र घर पठाइने गरेको बताउँछन् । माघ १ देखि भने भारतबाट आउन खोप कार्ड अनिवार्य गरिएको उनको भनाइ छ ।

‘किनमेलका लागि जोगवनी जाने चलन छ, जोगवनी जाने कार्यलाई निरुत्साहित गर्न अनिवार्य खोपकार्ड देखाउनुपर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘रोजगारीबाट फर्किएकाहरुले स्वास्थ्य जाँचपछि मात्रै गन्तव्यमा पठाउनेछन् ।’

सम्भावित जोखिम नियन्त्रणका लागि पहिलो र दोस्रो लहरका बेला सञ्चालन गरेका आइसोलेसन कक्षलाई पनि तयारी अवस्थामा राखिने उनले बताए । माघ १ गतेदेखि मास्क नलगाए एक सय रुपैयाँ जरिवाना गरिने बताए ।

झापाको मेचीनगर नगरपालिका–१४ मा पनि होल्डिङ सेन्टर निर्माणको चरणमा छ । काकडभिट्टा नाकाबाट भित्रिएकाहरुलाई राख्नका लागि सेनाले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम पनि पूरा भएको छैन ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली झापामा होल्डिङ सेन्टर चाँडै तयार हुने बताउँछन् । नेपाली सेनाले ठेकेदारमार्फत निर्माण गरिरहेको भवनको करिब ८० प्रतिशत काम सकिएको बताउँदै उनले ठेकेदारलाई पुसभित्र काम सक्न निर्देशन दिइएको बताए ।

प्रदेश १ मा कोरोना महामारीको पहिलो र दोस्रो लहरमा तयार गरिएका आइसोलेसनहरु पनि बन्द छन् । मोरङमा भने आइसोलेसन कक्ष तयार राख्नका लागि पालिकाहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

कोसीमा बेड थपियो

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा ३०७ जना सक्रिय संक्रमित छन् । पछिल्लो केही दिनयता संक्रमणदर निरन्तर बढेको छ ।

सोमबार प्रदेशभर ५३० जनाको पीसीआर परीक्षण गर्दा ८५ जनाको पोजेटिभ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनाको पोजेटिभ आएको छ । सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार ४९ जनाको पीसीआर पोजेटिभ देखिँदा ७ जनाको एन्टिजेन पोजेटिभ देखिएको थियो । शनिबार ३१ जनाको पीसीआर र १२ जनाको एन्टिजेन पोजेटिभ देखिएको थियो ।

संक्रमणदर बढ्दै गएपछि विराटनगरको कोसी कोभिड अस्पतालले थप ७६ बेड तयारी अवस्थामा राखेको अस्पतालका प्रमुख बैजनाथ साहले बताए । हाल ९६ बेडको अस्पताल चालु अवस्थामा छ ।

आवश्यक पर्दा नेशनल ट्रेडिङको भवनमा पनि ८० बेड राख्न सकिने उनको भनाइ छ । हाल रहेको ९६ र ७६ बेड पनि नेशनल ट्रेडिङको दुई वटा गोदाम मर्मत गरेर निर्माण गरिएका हुन् । अस्पतालमा हाल पाँच जना संक्रमितको उपचार भइरहेको साहले बताए ।

‘संक्रमितको उपचारका लागि पूर्व तयारी छ,’ उनले भने ,‘हिजो ९६ बेडको अस्पताल मात्रै थियो, अहिले ७६ बेड थपिएको छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?