+
+
उमा सिंह स्मृति दिवस :

उमा, तिम्रो स्वरान्तमा पनि प्रश्न छन्

अनिलकुमार कर्ण अनिलकुमार कर्ण
२०७८ पुष २७ गते १३:११

कठ्याङ्ग्रिंदो जाडोका बेला उज्यालो हुनुअघि वेगवान् भएर चिसो सिरेटो चलिरहेको थियो । लुग्लुग् काम्दै पातलो ज्याकेटमा पिराडीचोकको बस बिसौनीमा पुगेको थिएँ । एउटा सानो झोला लिएकी उनले सोधिन्, ‘सर, अब हुँइकिने होइन !’ खासमा उनकै कलले मेरो निद्रा भङ्ग भएको थियो अघिल्लो साँझको सहमतिअनुसार ।

हामी मनिका झा र ध्रुव झालगायत सहकर्मीलाई बसबाट आउने गरी सिरहाको लहानका लागि मोटरबाइकमै गुड्यौं । जनकपुर थातथलो हुँदाहुँदै पनि धनुषाका बाटाघाटा मेरा लागि नौला थिए, थोरै मात्र आवागमन गरेको । मुजेलियापछि उनले नै सुझाइन् कि धनुषाधाम भएर धारापानी निस्कँदा कम समयमा राजमार्गसम्म पुग्न सकिन्छ । ठाउँठाउँमा उप्किएका, भत्किएका जनकपुर-ढल्केबर सडकलाई छल्न सकिन्छ । र, म नि मोडिएँ पूर्वतिर ।

बिहान चार बजेको समय हुनुपर्छ । थेग्नै नसक्ने जाडोले गर्दा होला मोटरबाइक सुस्तरी गुडिरहेको थियो । हुस्सुले सडकखण्ड छोपिंदा कुनै कुनै ठाउँमा त बाइक रोकेरै अघि बढ्नुपर्ने बाध्यता पनि थियो । यस्तोमा उनी अर्थात् उमा सिंहसँग बात मार्दै अघि बढ्ने साइत पनि जुर्‍यो ।

करिब ६ बजे हामी मिर्चैया पुग्यौं । एउटा चियापसल अघि रोकिएर हातमुख सेक्ने काम गर्‍यौं । अनि अलिक छिट्टै आइएको छ भन्ने बोध भएपछि त्यहींनेर कुराकानी थाल्यौं । स्वाभाविक रूपमा विषयचाहिं जनकपुरको पत्रकारिता थियो । उमा प्रखर, प्रतिभाशाली, आत्मविश्वासी र मिहिनेत गर्ने बानी भएकी थिइन् । मानौं उनले काम गर्न पाइनन् भने उनको काया नै रुग्ण हुन्छ र अनुहारको तेज हराउँछ ।

तीन दिनअघिको भेटमा उनले आफ्नो पारिवारिक पृष्ठभूमि र संघर्षका कथा सुनाएकी थिइन् जनकपुरधामको रजौलस्थित राईदाइको चियापसलमा । खासमा उनको र मेरो बसाइ नजिकै भएकाले यो चियागफ भएको थियो । त्यसको एक साताअघि त मैले ओरेकको एउटा कार्यक्रममा उमालाई भेटेको थिएँ । निर्धक्क भएर प्रष्ट र तर्कका साथ विषयवस्तु उठान गर्न सक्ने पत्रकार महिलाका रूपमा उनको प्रस्तुतिले मन नछुने कुरा नै थिएन । कार्यक्रमपछि उमाले एउटा पेशेवर र सुसंस्कृत सहभागीका रूपमा मेरो प्रस्तुति सटिक र घतलाग्दो भएको टिप्पणी गरिन् । जनकपुरमा एफएम पत्रकारिताको दौडका बेला मनोरञ्जनात्मक कार्यक्रममा नरमाएर समाचारसँग खेल्ने उमाले मेरो प्रशंसामा केही शब्द खर्चिंदा खुशी भएको थिएँ । त्यहीं फोन नम्बर आदानप्रदान भएर उमासँग कुरा हुन थालेको थियो ।

आज मिर्चैयामा उनले मेरो कम सुनिरहेकी थिइन्, मचाहिं उनलाई सुनेरै बसेको थिएँ । जनकपुरको पत्रकारितामा समाचारका खेती गरिरहँदाका जटिलता र सकसका कुराहरू उनले सुनाएकी थिइन् । त्यसलगत्तै हामी लहान पुग्यौं एउटा कार्यक्रममा सहभागी हुन् । आवासीय कार्यक्रम थियो । अघिल्लो दिन कार्यक्रमपछि म व्यस्त भएँ र सम्भवतः उमा पनि साथीसंगातीहरूसँगै अल्मलिइन् । भोलिपल्ट कार्यक्रम छिट्टै सकियो ।

उमाको क्रूर र कायरतापूर्ण हत्या भयो । सञ्चारकर्मीहरूलाई स्तब्ध र असिनपसिन पार्दै उनले संसारबाट बिदा लिइन् । उनको हत्या एउटा शरीरको अन्त्य थिएन-आँट, साहस र संकल्पका साथ पत्रकारिता गर्ने एउटी संघर्षशील महिलाको स्वरान्त थियो ।

उमा हाँस्दै नजिक आइन् र भनिन्, ‘ल्याउने मानिसले पुर्‍याउनु पनि पर्छ ।’ खासमा कार्यक्रम सकेर म मावली (सप्तरी) जाने सुर कसिरहेको थिएँ । तर, उमाले गाउँसम्म छाडिदिन भनेपछि अस्वीकार गर्न सकिनँ । अस्वीकार गर्ने अवस्था पनि थिएन, सुरक्षित गन्तव्यस्थलसम्म पुर्‍याउनु मेरो दायित्व पनि थियो । मिर्चैया आउनुअघि एउटा पुल छ । पुलपारि बाइक रोक्न भन्दै उनले देखाइन्, ‘त्यो पर्तिरको गाउँ मेरो हो । अब म यहाँबाट हिंडेरै जान सक्छु । जनकपुरमा भेटौंला ।’

त्यसपछि म पश्चिम नै आएँ अर्थात् जनकपुर फर्किएँ । केही दिन बित्न नपाउँदै काठमाडौं पुगें । काठमाडौंमा नेपाल वान टिभीमा असाइन को–अर्डिनेटरका रूपमा काम गर्न थालें । नयाँ शहर, नयाँ काम । उमासँग त्यसपछि कुरा हुन छाड्यो । खासमा मेरो मोबाइल फोन नम्बर पनि बदलिएको थियो ।

एक दिन एबीसी टेलिभिजनका तत्कालीन समाचार प्रमुख राजन शर्मासँग भेट्न उनकै कार्यालयमा पुगेको थिएँ । त्यहाँ अनुहारले चिनिने तर सम्झिन नसक्ने गरी एउटी महिलालाई बाहिर प्रतीक्षारत भेट्टाएँ । उनले बडो भद्रतापूर्वक अभिवादन गरिन्, मैले नि विनम्रताका साथ नमस्कार फर्काएँ । तर, पछिसम्म तिनी को हुन् सम्झिन गाह्रो भइरहेको थियो ।

यो घटनाको केही महीना नबित्दै उमाको क्रूर र कायरतापूर्ण हत्या भयो । सञ्चारकर्मीहरूलाई स्तब्ध र असिनपसिन पार्दै उनले संसारबाट बिदा लिइन् । उनको हत्या एउटा शरीरको अन्त्य थिएन-आँट, साहस र संकल्पका साथ पत्रकारिता गर्ने एउटी संघर्षशील महिलाको स्वरान्त थियो । उमाको देहावसानपछि पनि आज मनिका झाहरूले बुलन्द स्वरमा निर्भीक पत्रकारिता अघि बढाइरहँदा कठिन र अबोधगम्य लडाइँको अध्याय अझै जीवन्त रहेको अनुभूति हुन्छ ।

काठमाडौंमा पत्रकारिता यात्रा थाल्न गइरहँदा जनकपुर फर्केपछि फेरि उमासँग समकालीन पत्रकारिताका स्वर र समस्याबारे कुरा गरौंला भन्ने थियो धक् फुकाएरै । तर, सम्झिन सक्ने गरी सिरहासम्मको यात्रा र नसम्झिने गरी एबीसी टिभीमा भएको जम्काभेट अन्तिम नै होला भन्ने सोचेको पनि थिइनँ ।

उमा, तिम्रो नश्वर शरीर त छैन यो संसारमा तर तिमीसँग भएका पत्रकारिता सम्बद्ध चिन्ताका सबालहरू ज्यूँकात्यूँ छन् । ती अनुत्तरित प्रश्नमा घोत्लिरहँदा तिमी सदैव हाम्रो मनमस्तिष्क र मुटुमा रहिरहन्छ्यौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?