+
+

सुदूरपश्चिममा होल्डिङ सेन्टर निर्माणको काम अधुरै, संक्रमित व्यवस्थापनमा चुनौती

जनक विष्ट जनक विष्ट
२०७८ पुष २७ गते १६:०६

२७ पुस, धनगढी । पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । दैनिक कम्तीमा पनि एक सय जनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरु पनि स्वदेश फिर्ता हुन थालेपछि असावधानीका कारण संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।
कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाका भएर आउने संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि धनगढी उपमहानगरपालिका–३ मा एक हजार जना अटाउने क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ । तर नेपाली सेनामार्फत संघीय सरकारले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम भने अधुरै छ ।

नेपाली सेनाबाट होल्डिङ सेन्टर निर्माणका लागि २८ करोड ९० लाख रुपैयाँमा ठेक्का पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि यज्ञपुरुष न्यौपानेले बजेट अभावका कारण छ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने काम लम्बिएको बताए ।

‘नेपाली सेनासँग गत असार ३ गते ठेक्का सम्झौता भएर हामीले होल्डिङ सेन्टर निर्माणको काम अगाडि बढाएका थियौं । पुस मसान्तसम्म काम सक्नुपर्नेमा समयमै बजेट नपाउँदा समस्या भइरहेको छ,’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘अझै बजेट प्राप्त नभएकोले थप समय लाग्न सक्छ । हामीले तीन महिनाको अवधि बढाउन निवेदन पेश गरेका छौं ।’

उनकाअनुसार अहिलेसम्म ७१ प्रतिशत भौतिक प्रगति भएकोमा ४० प्रतिशत कामको मात्रै भुक्तानी पाइएको छ । नेपाली सेनाले समयमै बजेट दिएमा ढिलाइ नहुने दावी निर्माण व्यवसायीको छ ।

होल्डिङ सेन्टर निर्माणमा ढिलाइ भएपछि कोरोना संक्रमितको व्यवस्थापनमा चुनौती थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार धनगढी उपमहानगरपालिकाको कनरीमा सञ्चालन गरिएको आइसोलेसनमा एक सय जनाको क्षमता छ । ठाउँ सीमित भएका कारण त्यहाँ अहिले कोरोना लक्षण भएका संक्रमितलाई मात्र राख्ने गरिएको छ ।

‘हामीले अहिले कोरोनाका लक्षण भएका र जटिल खालका संक्रमितलाई आइसोलेसन सेन्टरमा व्यवस्थापन गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, ‘लक्षण नभएका सामान्य खालका संक्रमितलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै होम आइसोलेसनमै बस्नेगरी पठाइरहेका छौँ ।’ प्रजिअ थापाले होल्डिङ सेन्टर निर्माण भइरहेको ढिलाइका कारण केही समस्या भइरहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि होल्डिङ सेन्टर निर्माणमा आफ्नो भूमिका नभएपछि कोरोना संक्रमित बढ्न थालेका कारण समस्या हुने देखिएको भन्दै छिटो काम गरिदिन आग्रह गर्ने गरेको छ । तर बजेट अभाव लगायतका कारण होल्डिङ सेन्टर निर्माणमा ढिलाइ हुने देखिएपछि धनगढीमा निर्मित प्रादेशिक आयुर्वेद औषधालयको भवनलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्ने तयारी गरिएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

‘हामीले बढ्दो संक्रमणलाई ध्यानमा राखेर संक्रमितको उचित व्यवस्थापनका लागि आयुर्वेद औषधालयको भवनलाई आइसोलेसन सेन्टर बनाउनेगरी काम अघि बढाएका छौं,’ कार्कीले अनलाइनखबरसँग भने ।

कैलाली मात्र नभएर कञ्चनपुरको गड्डाचौकी नाकामा निर्माणको क्रममा रहेको होल्डिङ सेन्टरको काम पनि अधुरै छ । त्यहाँ करिब ८५ प्रतिशत भौतिक प्रगति भएको हनुमान कन्सट्रक्सनले जनाएको छ । होल्डिङ सेन्टर निर्माणमा भइरहेको ढिलाइले संक्रमितहरु धमाधम गाउँ पठाइन थालेपछि समुदाय स्तरमा ओमिक्रोन फैलिने जोखिम बढेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?