+
+
Shares

सर्वसम्मत नभएपछि वैदेशिक रोजगार व्यवसायी संघको निर्वचन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १३:२९

२८ मंसिर, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा नेतृत्व चयन नगरी स्थगित भएको छ । विभिन्न राजनीतिक दल निकटमा व्यवसायी संघहरुबीच सर्वसहतिमा नेतृत्व चयन गर्ने गरी निर्वाचन प्रक्रिया शुरु भएपनि बाघी उम्मेदरवार खडा भएपछि निर्वाचन समिति नै भंग गरेर साधारणसभा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

पूर्व सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पाउने तय थियो । त्यसैगरी एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रथम उपाध्यक्ष, तीनजना सदस्य र एकजना सल्लाहकार तथा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव, तीनजना सदस्य र एकजना सल्लाहकार पाउने सहमति भएको थियो ।

माओवादी निकटको नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले द्वितीय उपाध्यक्ष, तीन जना सदस्य, एक जना सल्लहकार तथा समाजवादी फोरम निकट संघले तृतीय उपाध्यक्ष, एक जना सदस्य र एक जना सल्लाहकार लिने गरी भागबण्डा गरिएको थियो ।

तर, निर्वाचन प्रक्रिया शुरु भएपछि माओवादी निकट मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाले अध्यक्षमा दावेदारी दिए । यसका कारण अध्यक्षमा उम्मेदवारी दर्ता गरेको कांग्रेस निकट एसोसियनका भुवनसिंह गुरुङले भान्तनासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो । सचिवमा कांग्रेस निकट एसोसियनका आधिकारिक उम्मेदवार प्रज्ञान न्यौपानेविरुद्ध केशव न्यौपाने तथा नरेन्द्रप्रसाद ढकालविरुद्ध इन्दिरा गुरुङको उम्मेदवारी पर्‍यो । कांग्रेस निकट अन्य ४ व्यवसायीले पनि सदस्य पदमा उम्मेदवारी दर्ता गरेका थिए ।

सर्वसहमित गराउने प्रयासका लागि कांग्रेसबाट बाघी उठेका सबैले उम्मेदवारी फिर्ता लिए । तर, अध्यक्ष पदमा माओवादी निकट मञ्चका निर्वतमान अध्यक्ष भान्तनाले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि निर्वाचन समिति नै भंग गरिएको हो ।

मंगलबार दिउँसो २ बजेदेखि बुधबार विहान १२ बजेसम्म दिइएको समयमा पनि उम्मेदवारी फिर्ता नभएपछि चुनाव नै स्थगित गरिएको हो । सहमतिमा हस्ताक्षर गर्ने व्यक्तिले नै अध्यक्ष पदमा उम्मेदवारी दिएकाले निर्वचन प्रक्रिया स्थगित गर्नुपरेको संघ स्रोतले बताएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार कोभिडको विषम परिस्थिति भएकाले सर्वसहमतिको प्रयास गरिएको बताउँछन् । ‘महामारीको यस्तो असहज अवस्थामा निर्वाचन गर्न सम्भव नहुने भएपछि अर्को सूचना नभएसम्मका लागि सधारणसभा स्थगित गरेका हौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?