News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभाबाट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन् ।
- यसअघिका अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघको कार्यसमिति विघटन भएको थियो ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि संघको गतिरोध अन्त्य गर्न विशेष साधारणसभामार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
२५ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । जेठ २४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघबाट डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन् ।
प्यानलसहित निर्वाचनमा होमिएका खत्रीको प्यानलबाट १४ जना निर्वाचित भएका छन् । १७ सदस्यीय कार्यसमितिमा खत्री प्यानलबाट ६ जना पदाधिकारी र ८ जना सदस्य निर्वाचित भएका हुन् ।
यसअघि २०८१ चैत २९ गते भएको ३१ औं साधारणसभाबाट नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका भुवनसिंह गुरुङ अध्यक्ष बनेका थिए । तर, गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महासचिव महेश कुमार बस्नेतसहितका बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघमा संकट उत्पन्न भएको थियो । सोही गतिरोध अन्त्य गर्न विशेष साधारणसभा मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
विशेष साधारणसभाका लागि एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यवसायीहरू ३ प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । एमाले निकट प्रगतिशीलबाट खत्रीको प्यानललाई नेपाली कम्युनिष्ट पार्टी निकट गणतान्त्रिक मञ्च, कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीको असन्तुष्ट पक्षको समर्थन रहेको थियो ।
कांग्रेस निकट मेघनाथ भुर्तेल समूहबाट भने तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल तथा २ सदस्य दीक्षा थपलिया र गीता राउत निर्वाचित भएका छन् ।
खत्रीको जितका लागि गणतान्त्रिक मञ्चको ‘निर्णायक’ भूमिका रहेको थियो । १७ सदस्यीय कार्यसमितिमा गणतान्त्रिक मञ्चले आफ्नो बलियो उपस्थिति देखाएको छ । मञ्चका तर्फबाट २ जना पदाधिकारी र ५ जना सदस्य गरी ७ जना निर्वाचित भएका छन् । जसमा द्वितीय उपाध्यक्ष अनिल बोगटी र सचिवमा केदारनाथ अधिकारी छन् ।
त्यस्तै निर्वाचित सदस्यहरूमा मञ्चका तर्फबाट तारा तामाङ, तारामणि राई, रविन्द्र राई, भावना गजुरेल र बाबुराम न्यौपाने रहेका छन् ।
महासचिवमा समेत प्रगतिशिलकै हिरा बहादुर डाँगी निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा प्रगतिशीलकै धनमाया सिन्जाली पुनः निर्वाचित भएकी छन् भने कार्यसमिति सदस्यमा ध्रुव जिसी निर्वाचित भएका छन् ।
लोकतान्त्रिक समूहबाट विद्रोह गरेर खत्रीको प्यानलमा गएका विघटित कार्यसमितिका महासचिव महेश कुमार बस्नेत प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । भने सदस्यमा लोकतान्त्रिक समूहबाट बिद्रोह गरेकी रमा खड्का निर्वाचित भएकी छन् ।
दुई वर्षे कार्यकाल सकिनै लागेको बेला गुरूङ नेतृत्वको कार्यसमिति विघटन गरिएको थियो ।
गुरूङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई तिहाइ बहुमत पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएपछि कार्यसमिति भंग भएको थियो । विधान अनुसार कार्यसमिति भंग भएपछि विशेष साधारणसभाका लागि प्रबन्ध समिति बनेको थियो । गुरूङले प्रबन्ध समितिलाई अवैधानिक भन्दै आफू नै अध्यक्ष रहेको दाबी गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गर्दै उक्त कार्यसमिति विघटन गर्दै विशेष साधारणसभा गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया 4