
२८ पुस, काठमाडौं । बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् ।
१३औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचमा ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजीसहित कुलमा १७६ केजी तौल उचालेर कीर्तिमान कायम गरेकी हुन् ।
७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमानमा आफ्नो नाम लेखाइन् । उनले स्नाचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । यसअघि यस तौल समूहको कीर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो ।
नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथतर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजी गरी कूलमा १०६ केजी भारका साथ स्वर्ण हात पारिन् ।
महिला ५५ केजी तौलको युथमा सप्तरीकी पूजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरी कूलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् । दोस्रो स्थानमा रहेकी बर्दियाकी सामना थारूले स्नाचमा ३५ केजी, क्लिनमा ३८ केजी गरी कूल ७३ केजी भार बहन गरिन् । यस्तै तेस्रो स्थान प्राप्त गरेकी सप्तरीकी सन्तोषी यादवले स्नाचमा ३० केजी, क्लिन एन्ड जर्कमा ४० केजीका साथ कुलमा ७० केजी भार बहन गरिन् ।
जुनियरतर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६ केजी, क्लिन एन्ड जर्कमा ५३ केजी गरी कूल ९९ केजी भार बहन गरिन् । दोस्रो स्थानमा दाङकी राधिका चौधरी रहिन् । उनले स्नाचमा ३६, क्लिन एन्ड जर्कमा ४२ गरी कूल ७८ केजी भार बहन गरिन् ।
महिलाको ५५ केजीकै सिनियरतर्फ नेपाली सेनाका खेलाडीहरूले बर्चस्व राखे । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङले रजत र अस्मिता पुलामीले कास्य हात पारे । प्रभाले स्नाचमा ५२, क्लिन एन्ड जर्कमा ६८ गरी कूल १२० केजी, सृजनाले स्नाचमा ४४, क्लिन एन्ड जर्कमा ५१ गरी कूलमा ९५ केजी र अस्मिताले स्नाचमा ४०, क्लिन एन्ड जर्कमा ५५ गरी कूलमा ९५ केजीका साथ प्राविधिक आधारमा तृतीय स्थानमा आइन् । प्राविधिक संजय महर्जनका अनुसार समान तौल बहन भएता पनि जसले पहिले तौल बहन गर्छ उसलाई पहिलो प्राथमिकता प्राप्त हुने नियम रहेका कारण समान तौल भएता पनि सृजनाले दोस्रो स्थान प्राप्त गरेकी हुन् ।

महिलाको ६४ केजी तौल समूहको युथतर्फ बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८ केजी, क्लिन एन्ड जर्कमा ५६ केजी गरी कूलमा १०४ केजी भार बहन गरिन् । यस्तै ललितपुरकी खुशी थापाले युथ र जुनियर दुवैतर्फ रजत प्राप्त गरिन् । खुशीले स्नाचमा ३७ केजी, क्लिन एन्ड जर्कमा ५२ केजी गरी कुल ८९ केजी भार उचालिन् ।
जुनियरतर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण प्राप्त गरिन् । ललिताले स्नाचमा ४० र क्लिन एन्ड जर्कमा ५५ केजी गरी कुल ९५ केजी भार उचालिन् । यस्तै यस स्पर्धामा नेपाली सेनाकी सिर्जना सारुले तृतीय स्थान प्राप्त गरिन् । सारुले स्नाचमा ३५ र क्लिन एन्ड जर्कमा ५० गरी कुल ८५ केजी तौल उचालिन् ।
यस स्पर्धाको सिनियरतर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल १४७ केजी तौल उचालिन् । दोस्रो स्थानमा रहेकी प्रहरीकी देवी चौधरीले स्नाचमा ६४, क्लिन एन्ड जर्कमा ७७ सहित कुल १४१ केजी भार उचालिन् । प्रहरीकै पूजा कुमाल तेस्रो भइन् । उनले स्नाचमा ५० केजी, क्लिन एन्ड जर्कमा ६७ केजीसहित कुल ११७ केजी भार उचालिन् ।
पुरुष ७३ केजी तौलको सिनियरतर्फ सेनाका जीवन तामाङले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ केजी र क्लिन एन्ड जर्कमा ११३ गरी कुलमा १९९ केजीका साथ स्वर्ण हात पारेका हुन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीका राहुल कुमार दास रहे । उनले स्नाचमा ८२ क्लिन एन्ड जर्कमा १०२ केजीका साथ कुल १८४ केजी भार बहन गरे । तेस्रो स्थानमा कास्कीका धनबहादुर झाक्री मगर रहे । उनले स्नाचमा ८५ र क्लिन एन्ड जर्कमा ९८ केजी गरी कुल १८३ केजी भार बहन गरे ।
७३ केजी तौलको जुनियर र युथ तर्फको दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले हात पारे । उनले दुवै स्पर्धामा सहभागिता जनाएका थिए । पालले स्नाचमा ७७, क्लिन एन्ड जर्कमा ९५ केजी गरी कुलमा १७२ केजीका साथ स्वर्ण हात पारेका हुन् ।
युथले जुनियर र सिनियरतर्फ पनि प्रतिस्पर्धा गर्न पाइने संघका सदस्य एवं प्राविधिक सञ्जय महर्जनले जानकारी गराए । जुनियरतर्फ सशस्त्र प्रहरीका लाहाङ थाम्सुहाङले स्नाचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८७ केजी गरी कुलमा १५४ केजीका साथ रजत हात पारे हात पारे । यस्तै कञ्चनपुरका अभिषेक बिष्टले स्नाचमा ६२, क्लिन एन्ड जर्कमा ७६ गरी कुलमा १३८ केजीका साथ कास्य पदक पाए । युथतर्फ पर्साका अभय यादवले स्नाचमा ५०, क्लिन एन्ड जर्कमा ६० गरी कूल ११० केजीका साथ रजत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4