+
+

धेरै क्यारिकेचर गर्दा हुन सक्छ स्वरयन्त्रमा गम्भीर समस्या

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १९:४७

२८ पुस, काठमाडौं । अहिले बजारमा चर्चित व्यक्तिहरुको स्वरको नक्कल गर्ने चलन बढ्दै गएको छ । हास्य व्यंङ्ग्यको बहानामा होस् या स्टेजमा प्रस्तुति देखाउने बहानामा कतिपय कलाकार र गैर कलाकारहरुले पनि स्वरको नक्कल गर्ने गर्छन् । तर त्यो स्वास्थ्यको लागि कति उपयोगी छ त ? चिकित्सकहरु भने स्वरको नक्कल धेरै गर्दा स्वास्थ्यमा असर गर्ने बताउँछन् ।

वीर अस्पतालका नाक कान घाँटी विभागका आवासीय चिकित्सक डा. आशीष गौतम स्वरको नक्कल गर्ने तथा अन्य तरिकाले स्वरको गलत प्रयोग गर्ने मान्छेको स्वरयन्त्रमा समस्या हुने बताउँछन् । डा. गौतम भन्छन् ‘बढी बोल्नुपर्ने र चर्काे स्वरमा बोल्नुपर्ने पेशाका मान्छेमा स्वरयन्त्रको समस्या बढी हुने देखिन्छ । त्यसैले यो पेशाका मान्छेले सावधानी अपनाउनु पर्ने हुन्छ ।’

कुनैपनि अन्तर्राष्ट्रिय अध्ययनले धेरै क्यारिकेचर गर्ने मान्छेको स्वरयन्त्रमा समस्या हुन्छ भनेर विशेष अध्ययन त गरेको छैन । तर अस्पतालमा आउने बिरामीहरुको समस्या हेर्दा पनि स्वरको गलत प्रयोग गर्दा त्यसले समस्या निम्तिने देखिएको चिकित्सकहरु बताउँछन् ।

डा. गौतम धेरै गीत गाउने मान्छेहरु पनि यसमा सजग हुनुपर्नेमा जोड दिन्छन् । ‘सुर ताल मिलाउँदा लामो र छोटो सास छिटोछिटो फेर्नुपर्ने हुन सक्छ । यसले भोकल कर्डमा समस्या निम्त्याउँछ’ उनी भन्छन् । भोकल कर्डहरू स्वरयन्त्रको केन्द्रमा अवस्थित दुई झिल्लीदार ब्यान्डहरू हुन् । धेरै ठूलो स्वरमा चिच्याउने एवं गलत प्रयोग गर्दा ती कर्डहरुमा मासुको डल्लोजस्तो देखिने पदार्थ जम्मा हुन्छ ।

यस्तो समस्या हुँदा कतिपय भ्वाइस रेस्ट गर्ने, ग्यास्ट्रिक जस्ता समस्या हुँदा आउन सक्ने अमिलो पानी रोक्ने औषधि खाने गर्नुपर्छ । अमिलो पानीले त्यसमा झनै असर गर्ने भएकोले चिकित्सकहरुले त्यस्तो अवस्थामा अमिलो पानी नआउने औषधि दिन्छन् ।

यसबाहेक बोल्ने थेरापी गर्ने र धेरै समस्या भयो भने लेजर वा लेजर प्रयोग नगरी अप्रेसन गरेर यसको उपचार गरिन्छ । यस्तो समस्या देखिनेबित्तिकै अप्रेसन गर्नुपर्दैन । तर यसलाई रोग लागेर उपचारको विधि अपनाउनेभन्दा पनि रोग लाग्नै नदिने उपाय अपनाउन डा. गौतम सुझाव दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?