+

‘शल्यक्रियाबाट जन्मेका बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुनसक्छ’

२०७८ पुष  ३० गते १२:१३ २०७८ पुष ३० गते १२:१३
‘शल्यक्रियाबाट जन्मेका बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुनसक्छ’

३० पुस, काठमाडौं । नेपालमा शल्यक्रिया गरेर बच्चा जन्मिने दर बढेको सरकारी तथ्यांकले देखाउँछ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु पनि शल्यक्रिया गरेर सुत्केरी हुने महिलाको संख्याले विकराल रुप लिन थालेको बताउँछन् ।

शल्यक्रिया गरेर बच्चा जन्माउँदा आमा र बच्चा दुवैमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने यौन तथा जनस्वास्थ्यविद् डा. लक्ष्मी तामाङ बताउँछिन् । प्रस्तुत छ डा. तामाङसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा शल्यक्रिया (सिजरियन सेक्सन) गरेर बच्चा जन्माउने दर बढेको हो ?

अत्याधिक मात्रामा बढेको छ । सरकारको तथ्यांक अनुसार सरकारी अस्पतालमा नै औसतमा २५ प्रतिशत शल्यक्रिया गरेर बच्चा जन्मिएका छन् । जबकि, विश्व स्वास्थ्य संगठनले १५ प्रतिशत शल्यक्रियालाई सामान्य मानेको छ । निजी अस्पतालहरुमा त यो ८० देखि ९० प्रतिशतसम्म छ । यो भनेको त विकराल रुप हो ।

शल्यक्रिया गरेर बच्चा जन्माउने दर किन बढिरहेको होला ?

पुँजीवादी अमेरिकी शिक्षा प्रणालीबाट उत्पादित चिकित्सकहरुले बढी भन्दा बढी शल्यक्रियाबाटै सुत्केरी गराउन चाहन्छन् । किनभने पहिलो पटक सामान्य तरिकाले बच्चा जन्माउन एउटा महिलालाई १० देखि १२ घण्टा लाग्छ । त्यति धैर्यता उनीहरुमा हुँदैन । दोस्रो पटक बच्चा जन्माउने यदि पाँच वर्ष भन्दा माथिको ग्याप छ भने कम्तीमा पनि ८ देखि १० घण्टा लाग्छ ।

त्यसले गर्दा डाक्टरहरुमा त्यो धैर्यता हुँदैन । शल्यक्रिया गर्न बढीमा आधा घन्टा लाग्छ । सामान्यतया १५ मिनेटमा नै सकिन्छ । त्यसमा निजी अस्पताललाई त नर्मल गर्दा पैसा कम, शल्यक्रिया गर्दा पैसा पनि बढी आउँछ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत पनि शल्यक्रिया गर्नेले अलि बढी र सामान्य सुत्केरीलाई कम पैसा पाउँछ ।

अहिलेका प्रायः महिला नै शल्यक्रियाबाट बच्चा जन्माउन चाहन्छन् भनिन्छ नि ?

चिकित्सकहरुले त्यसै भन्नुहुन्छ । तर फेरि उहाँहरुकै अध्ययन रिपोर्ट हेर्ने हो भने महिलाले चाहेकै कारण भएको भन्ने देखाउँदैन । उहाँहरुले नै तयार पारेको डाटा हेर्ने हो भने धेरै भन्दा धेरै बच्चाले आची खाएको, बच्चा उल्टो बसेको, घाँटीमा साल बेरिएको यस्ता कारण हुन्छन् । यस्ता अनेक डर देखाएर शल्यक्रिया गर्न बाध्य बनाइन्छ निजी अस्पतालहरुमा ।

सरकारीमा चाहिं शल्यक्रिया गर्ने विविध कारण छन् । व्यथा लागेपछि स्याहार गर्नुपर्ने नर्स, मिडवाइफ हुनुपर्ने हो त्यो मात्रामा छैनन् । अर्को इण्डक्सनको कारण । त्यो भनेको स्लाइनबाट कृत्रिम व्यथा लगाइदिने, योनीमार्गबाट औषधि घुसाइदिने हो । कृत्रिम व्यथा भएकाले अनावश्यक पेट खुम्चिने हुन्छ । बच्चालाई सास फेर्न गाह्रो हुन्छ अनि शल्यक्रिया नै गर्नुपर्ने अवस्था हुन्छ । अर्को कारण महिला ढिलो अस्पताल आइपुग्छन् । ढिलो अस्पताल आउँदा व्यथा प्रो लङ (लामो व्यथा) लागेको हुन्छ । लामो व्यथा लाग्दा पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । महिलाले शल्यक्रिया गर्न चाहेको एक प्रतिशत भन्दा कम देखिन्छ ।

अर्को चाहिं महिलाले आफ्नो शरीरको अधिकारबारे सचेत नभएर पनि हो ।

तथ्यांक अनुसार शहरी क्षेत्रमा शल्यक्रिया गर्नेको संख्या बढी देखिएको छ । यसको के कारण हुनसक्छ ?

शहरिया, शिक्षित महिलाले जोखिम मोल्न चाहँदैनन् । उनीहरु केही भइहाल्यो भने भन्ने शंकाका कारण शल्यक्रिया गरेर ढुक्क वा सुरक्षित साथ बच्चा जन्माउने भन्ने सोच्छन् । अर्को घण्टौंको दुखाइ सहन चाहँदैनन् । त्यसैले धेरै पीडा पनि नहुने तथा आमा र बच्चा दुवै सुरक्षित हुने भन्ने भ्रममा सिजरियन सेक्सन गराउँछन् । त्यसको ठीक विपरीत ग्रामीण क्षेत्रका महिलाहरु भने सकेसम्म सामान्य रुपमा बच्चा जन्माउन चाहन्छन् । र, त्यसरी नै जन्माउँछन् पनि ।

शहरका शिक्षित महिला सिजरियन गर्दा आफू र बच्चालाई भविष्यमा हुने जोखिमबारे समेत भएको देखिँदैन ।

शल्यक्रिया गर्दा आमा र बच्चामा के कस्तो जोखिम हुन्छ ?

पहिलो पटक शल्यक्रिया गर्ने आमाको एक्रिटा (शल्यक्रिया गरेको ठाउँ टाँसिने) हुनसक्छ । त्यस्तै संक्रमणको जोखिम धेरै हुन्छ । अर्को एमनोइटिक फ्ल्यूइड इम्बोइलिज्म हुने जोखिम हुन्छ । त्यो भनेको शल्यक्रिया गर्दा नसा खुल्ला हुन्छ, त्यसमा पाठेघरमा भएको पानी रगतको नलीतिर पर्‍यो भने नसा ब्लक भई आमाको तत्काल ज्यान पनि जान सक्छ ।

शल्यक्रिया गरेर जन्मेका बच्चामा तुलनात्मक रुपमा दम रोग, चिनीरोग, एलर्जी समस्या देखिएको विभिन्न अध्ययनले देखाएको छ । त्यसको कारण के हो भन्दा प्राकृतिक रुपमा जन्मिँदा महिलाको योनीद्वारमा शरीरलाई फाइदा हुने ब्याक्टेरियाहरु बच्चाको कान, नाक र मुखबाट भित्र पस्न नपाएर रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता घटेका कारणले त्यस्तो हुन्छ भन्ने अध्ययनले देखाएको छ ।

बच्चा गर्भमा हुँदा हल्का पानी निलिरहेको हुन्छ । सामान्य रुपमा जन्मिँदा बच्चाको शरीर च्यापिएर निस्किने हुँदा फोक्सोमा जमेको पानी पनि निचारिएर मुखबाट निस्किन्छ, फोक्सोमा स्वाट्ट हावा भरिने र पानी निस्किने हुँदा दम रोग नहुने भन्ने देखाएको छ । अर्को बच्चालाई न्यूरो ट्रान्समिटर हुन्छ । बच्चाको खप्पर नरम हुन्छ जन्मिँदा एकअर्कामा खप्टिन्छ त्यसले बच्चालाई दुख्छ, तर बच्चाको न्यूरो ट्रान्समिटर उत्पादन भई छुटिन्छ । यो तीन प्राकृतिक प्रक्रियाका कारण बच्चालाई प्राकृतिक रुपमा जन्माउनु राम्रो मानिन्छ ।

पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्मेपछि दोस्रो पटक पनि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ?

त्यस्तो सम्भावना बढी रहन्छ । त्यसैले सकेसम्म पहिलो बच्चा जन्मिँदा शल्यक्रिया गर्न कम गर्ने प्रयास हुनुपर्छ । नेपालमा पनि सरकारी अस्पतालहरुमा हुने शल्यक्रिया पहिलो पटक कम हुने गरेको छ । तर निजीमा चाहिं पहिलो पटक शल्यक्रिया हुने बढी हुन्छ ।

बच्चा शल्यक्रिया सुत्केरी
लेखक
नुनुता राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय