
३० पुस, काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण नगरेको दोहोर्याउँदै कोही पनि नेपाली नागरिक यो भ्रमबाट मुक्त हुनुपर्ने टिप्पणी गरेको छ ।
चीनले नेपालको भूमि अतिक्रमण भएको, नाकाबन्दी गरेको, नेपाली विद्यार्थीलाई चीन फर्किन नदिएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पछिल्लो समय विरोध प्रदर्शन भइरहेका बेला चीनले भूमि अतिक्रमण नगरेको दोहोर्याएको हो ।
नेपालस्थित चिनयाँ दूतावासका प्रवक्ताले बिहीबार चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार सही नभएको दोहोर्याए र ‘दुबै मुलुकका विदेश मन्त्रालयका अधिकारीले सीमासम्बन्धी विषयमा राम्रोसँग कुराकानी गर्दै आएका छन्’, दूतावासका प्रवक्ताले भनेका छन्, ‘कोही पनि नेपाली नागरिक गलत समाचारबाट भ्रमित हुनु हुँदैन ।’
नेपाल र चीन परम्परागत मित्र रहेको र सन् १९६० को दशकदेखि नै सीमासम्बन्धी विषयलाई मैत्रीपूर्ण छलफलमार्फत् सम्बोधन गर्दै आएको पनि उनले प्रस्ट पारेका छन् ।
‘चीन र नेपाल पहिलादेखि नै मित्रवत छिमेकी हुन्’, चिनियाँ दूतावासका प्रवक्ताले उनले भने, ‘चीनले सधैं शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पालना गर्छ, नेपालको सार्वभौम एवं भौगोलिक अखण्डताको सम्मान गर्छ र समानता, आपसी हित एवं एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपका आधारमा द्धिपक्षीय मैत्रीपूर्ण सम्बन्ध विकास गर्छ ।’
‘नेपालस्थित चिनियाँ दूताबासले १९६० को दशकदेखि नै मैत्रीपूर्ण छलफलमार्फत् चीन र नेपालले सीमा समस्या समाधान गर्दै आएको कुरा बारम्बार प्रस्ट्याएको छ’, दूतावासको सूचनामा भनिएको छ, ‘हाल कुनै विवाद छैन ।’
चीनले नेपाललाई बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्वपूर्ण साझेदार मान्ने र नेपाललाई प्रदान गर्ने सहायतामा कुनै राजनीतिक शर्त नजोड्ने गरेको पनि दूतावासले उल्लेख गरेको छ । कोभिड-१९ महामारी सुरु भएयता देखि नै आफूहरूले नेपालाई खोप, लिक्विड अक्सिजनसहितका स्वास्थ्य सामग्री प्रदान गर्दै आएको पनि दूतावासको भनाइ छ ।
प्रतिक्रिया 4