
३० पुस, काठमाडौं । आवास लामिछानेले गरेको एक मात्र गोलमा विभागीय टोली एपीएफले शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार हिमालयन शेर्पालाई १-० ले हराएको छ ।
जारी लिगमा शुरुको तीन खेल हारेको एपीएफले त्यसयता लगातार ६ खेलमा अपराजित यात्रा कायम राखेको छ । लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले यसअघि फ्रेण्ड्स क्लबलाई पराजित गरेको थियो । तेस्रो चरणमा सातदोबाटो युथ क्लबसंग पराजित भएयता एपीएफ लगातार ६ खेलमा अपराजित छ ।
दशरथ रंगशालमा एपीएफलाई जित दिलाउन आवास लामिछानेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । आवासले पहिलो हाफको इन्जुरी समयमा हेडमार्फत गोल गरेका थिए । उनले कप्तान नविन लामाको कर्नरलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे ।
त्यसबाहेक पनि एपीएफले गोल गर्ने अरु अवसर पाएको थियो तर सदुपयोग हुन सकेन । खेलको दोस्रो मिनेटमै आशिष लामाले गोल गरेपनि अफसाइड भएपछि मान्यता पाएन ।
दोस्रो हाफमा एपीएफका युवराज खड्का र मणि लामाको प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले बचाए । यस्तै हिमालयन शेर्पाले पनि गोलका लागि केही अवसर बनाएको थियो तर फिनिसिङ हुन सकेन ।
जितपछि एपीएफ ९ खेलबाट १० अंक जोड्दै आठौं स्थानमा उक्लेको छ । हिमालयन शेर्पा ९ खेलबाट ११ अंकसहित छैटौं स्थानमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4