+
+
वाद्यवादन :

इतिहास खोतल्दै, भविष्य बनाउँदै गाइने दाइको सारंगी

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ माघ १ गते १९:२०

१ माघ, काठमाडौं । झण्डै तीन दशकअघिसम्म बागलुङका मोतीलाल गायकको काम नै गाउँगाउँ डुलेर सारंगीको तालमा विरहको गीत गाउनु थियो । चार वर्षअघि भौतिक शरीर छाडेर जानुअघि ७५ वर्षको उमेरसम्म पनि उनले आफ्नो पुर्ख्यौली पेशा त्यागेनन् । उनले गीत गाउँदै गर्दा गाउँलेले नयाँ समाचार मात्रै पाउँदैनथे, एउटा विरही र वियोगान्त माहोलको शुरुआत हुन्थ्यो । कसैले मोतीलाललाई पैसा दिन्थे, कसैले अन्न दिन्थे । उनको परिवार त्यही गन्धर्व पेशाबाट पालिएको थियो ।

त्यसो त गायक परिवारको धेरै पुस्ता यही सारंगीको धुनमा विरहको गीत गाएरै पालिएको हो । गाउँघरमा सामान्य खेतीपाती हुन्थ्यो । फुर्सद भएपछि मोतीलाल दुःखको सन्देश सुनाउन सारंगी बोकेर निस्कन्थे ।

तिथिमिति सहितको अभिलेख नभए पनि बागलुङ क्षेत्रमा झण्डै ३/४ दशकअघिसम्म पुल चुँडिएर कालीगण्डकीमा मान्छे बेपत्ता भएको कथा एकदमै चर्चित थियो । स्थानीय प्रविधिको पुल चुँडिएर जैमिनीघाटमा माघे संक्रान्ति मेला भर्न गएका कैयौं मान्छेहरूसँगै पश्चिमको बडीगाडबाट गाँजाको भारी बोकेका नौजवान पनि बेपत्ता भएका थिए । त्यो कहानीलाई सारंगीको तालमा सुनाउने तिनै मोतीलालले नेपालमा मात्रै नभएर आसाममा समेत सारंगी संस्कारअघि बढाएको उनका छोरा गोपाल गायक बताउँछन् ।

मोतीलालको समयसम्म सारंगी संस्कार परम्परागत रूपमा हस्तान्तरण हुँदै थियो । जब आधुनिकताले छोप्यो, उनका छोराहरूले सारंगी बजाउन झर्काे मान्न थाले । मोतीलालको चाहना थियो- कुनै छोराले यो पेशाको जिम्मा लिइदिए हुन्थ्यो । तर, तीन छोराले यो पेशा अपनाएनन् ।

उनलाई बुवाको चाहनाले झस्कायो । पिताको सम्मानस्वरूप पुर्ख्यौली पेशालाई अगाडि बढाउने सोच बनाए । देश-विदेश घुमेर कैयौं हण्डरठक्कर खाएपछि उनले थाहा पाए- सबैभन्दा उचित त आफ्नै पुर्ख्यौली पेशा पो रहेछ

मोतीलालको अन्तिम श्वाससँगै एउटा सिंगो इतिहासले बिट मार्ने जोखिम त्यतिबेला टर्‍यो जब उनका कान्छा छोरा गोपाल पिताको परम्परालाई आधुनिक स्वाद दिएर निरन्तरता दिन तयार भए ।

चार भाइमध्ये कान्छो भएकाले पनि छोरा गोपालमाथि बाबुबाजेको विरासत धान्ने जिम्मेवारी बढी भयो । तर उनलाई तीन वर्षअघिसम्म पनि सारंगीको धुनसँग फिटिक्कै लगाव थिएन ।

शारीरिक अशक्ततामा गुजाराको बाटो बन्यो सारंगी

गोपाल सानै उमेरमा बाबुसँगै भारतको आसाम गए । उनलाई सारंगीसँगै जीवन खोज्ने मनै थिएन । आसाममा केही वर्ष बिताएपछि उनलाई एकैपटक धेरै पैसा कमाउने भूत चढ्यो र विदेशिन नेपाल आए । उनले काठमाडौंका धेरै मेनपावर चहारे । अन्ततः साउदी अरब जानको लागि भिसा लाग्यो । उनी साउदी त गए तर सोचेजस्तो कमाइ हुन सकेन ।

बरु १५ महिना काम गरेपछि उनमा खुट्टा र हात सुनिने समस्या देखिन थाल्यो । शारीरिक समस्यासँगै उनको साउदी बसाइ पनि छोट्टियो र उनी नेपाल फर्किए ।

कुरा दुई वर्षअघिको हो, नेपाल फर्किएपछि उनले किड्नी ट्रान्सप्लान्ट गर्ने योजना बनाए । किड्नी दिने मान्छेको समस्या थियो । श्रीमती गीता किड्नी दिन तयार भइन् । उनले नेपालमै किड्नी ट्रान्सप्लान्ट गराए । यसपछि उनलाई विदेश जान मन लागेन ।

उनलाई बुवाको चाहनाले झस्कायो । पिताको सम्मानस्वरूप पुर्ख्यौली पेशालाई अगाडि बढाउने सोच बनाए । देश विदेश घुमेर कैयौं हण्डरठक्कर खाएपछि उनले थाहा पाए, सबैभन्दा उचित त आफ्नै पुर्ख्यौली पेशा पो रहेछ ।

यसरी उनी पछिल्लो डेढ वर्षदेखि आफ्नै पुर्ख्यौली पेशामा फर्किएका छन् ।

नयाँ पुस्तालाई पनि सुहाउँछ सारंगी

बुधबार बालाजुस्थित गोपालको पसलमा पुग्दा उनी भ्याइनभ्याइको अवस्थामा थिए । नयाँ पुस्ताले सारंगी मन पराउन थालेपछि उनको व्यवसाय फस्टाएको छ । नयाँ पुस्ताको हातमा पनि सारंगी सुहाउने उनको बुझाइ छ ।

‘भोलि दर्जनबढी सारंगी तयार पार्नुपर्ने अर्डर छ, आज त रातभर काम गर्नुपर्छ,’ उनले भने, ‘पछिल्लो समय युवापुस्ताले सारंगी सिक्ने र यसलाई व्यावसायिक बनाउन थालेपछि अहिले त व्यस्तता बढ्न थालेको छ ।’

शुरुको एक वर्ष उनले बागलुङमै बसेर सारंगी बनाउने काम गरे । तर त्यहाँभन्दा धेरै कमाइ काठमाडौंमा हुन्छ भन्ने सुनेपछि उनी पछिल्लो ६ महिनादेखि काठमाडौंमा व्यापार गरिरहेका छन् ।

गोपाल भन्छन्, ‘काठमाडौं आउनेबित्तिकै कोरोना महामारीले लकडाउन भयो । तर दशैंपछि भने राम्रो व्यापार हुन थालेको छ ।’ उनी दैनिक २०-२५ वटासम्म सारंगी बेच्छन् । यसबाट मासिक दुई लाख हाराहारीमा आम्दानी हुने गरेको छ । काठमाडौंमा उनीसहित तीनजनाले यही पेशाबाट रोजगारी पाइरहेका छन् ।

फ्रेन्च संगीतशास्त्री मेरिल हेल्फरले ५३ वटा नेपाली कर्खा संकलन गरेका थिए । तर यस्ता कर्खाहरू अहिले लोपोन्मुख अवस्थामा छन् । संगीतका पारखीहरूले यो खोज्नु जरुरी देखिन्छ । किनकि हाम्रो इतिहास कुनै न कुनै रुपले हाम्रो भविष्यसँग जोडिएको हुन्छ

सारंगीमै जीवन खोज्ने गन्धर्व जाति

गन्धर्वले गाउने र अप्सराहरू नाच्ने परम्पराको प्रमाण हाम्रा धेरै धर्मशास्त्रमा भेटिन्छ । स्कन्ध पुराणमा पनि यसको प्रमाण भेटिन्छ । संगीतको उत्पत्ति भएको मानिने सामवेद होस् वा अन्य उपवेदमा पनि यस्तै बाजाको प्रचार धेरै पहिलेदेखि भएको पाइन्छ । वीणा होस् या सारंगी उस्तैखाले बाजाको चलन धेरै पहिलेदेखि चल्न थाल्यो । बिस्तारै यसको आकारमा परिवर्तन हुँदै आयो ।

सारंगीमा पनि अन्य बाजामा जस्तै सारेगमपधनि अर्थात् सातै सुरको नियम लागू हुने गोपाल बताउँछन् । उनका अनुसार पहिलेपहिले सारंगीको तार बाख्राको आन्द्राबाट र बजाउने भाग घोडाको पुच्छरबाट तयार पार्ने गरिन्थ्यो । तर अहिले तारले नै बजाउने गरिन्छ । निर्माणमा नयाँ मोडल अपनाएपनि यसले दिने धुनमा भने मौलिकता रहेको उनी बताउँछन् ।

चार वेदमध्ये सामवेदलाई सामगान पनि भनिन्छ । सामवेदमा पाँच स्वर मात्र प्रयोग हुन्थे । वेदपछि विस्तारै गन्धर्व शैलीको संगीत विस्तार हुन थाल्यो । यसका प्रयोक्ता नारद, तुम्बुरु, विश्वावसु, चित्रसेन र अरु गन्धर्वहरू मिली अर्को एउटा गन्धर्ववेद खडा गरे । जसलाई पञ्चम वेद वा उपवेद पनि भनिन्छ ।

चार उपवेदमा गन्धर्ववेद प्रमुख मानिन्छ । यसैले सामगानपछि गन्धर्ववेदलाई गन्धर्व गान भन्न थालियो देवता र गन्धर्वले मात्र गाउने भएकाले यसलाई मार्ग अर्थात् अध्यात्म-संगीत पनि भनिन्छ । शास्त्रीय-संगीतलाई आज पनि वैदिक संगीत भन्ने गरिन्छ ।

धर्मग्रन्थहरूमा गन्धर्व जातिलाई गायक मानिएको छ । त्यसैले आफूहरूले पनि गायक थर राखेको बताउँछन् गोपाल । परम्परागत रूपमा गाइनेको सम्मानसूचक शब्द मिजार थियो । मिजार शब्दले जातिगत रूप दर्शाएपनि गन्धर्व शब्दले गाउने र बजाउने पेशा लिएका जन्मजात कलाकार भन्ने बुझाउँछ ।

इतिहासको विभिन्न कालखण्डमा सोझै गाइने भन्दा अरु नै शब्दको प्रयोग गरिएको पाइन्छ । पृथ्वी मल्लको शाके १२७९ को दुल्लु कोटिस्तम्भको अभिलेखमा सबै कर माफ गरिएको जातमध्ये ‘गायक’ को पनि उल्लेख भएको छ ।

गायक शब्दले गायनकलासँग सम्बद्ध जातिलाई जनाउँछ । यसैगरी जयस्थिति मल्लको अभिलेखमा पनि गायन शब्द कुँदिएको छ । यसले पनि गाउने पेशाको कुनै जातलाई जनाउँछ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा लडाइर्ंका सामग्री फिरिस्तमा गाइनेको नाम र संख्या पनि किटिएको पाइन्छ ।

नुवाकोटको पहिलो हमलामा सारा गोर्खाली भारदारहरू सहित मनिराम गाइनेको नाम पनि आएको छ । यसबाट थाहा हुन्छ कि गन्धर्व (गाइने) जातिले पनि नेपाल एकीकरण र त्यसपछि पनि राष्ट्रिय एकता र सद्भाव कायम राख्नमा आफ्नो अमूल्य योगदान दिएका थिए ।

कर्खाका वीरताको गाथा गाउने गाइनेहरू

सारंगी र वाद्यवादकहरू अझ विशेषगरी गन्धर्वहरूले वीरताको गाथा गाउने माध्यम हो कर्खा । कर्खाको बारेमा नेपालमा पर्याप्त अध्ययन भएको छैन । कतिपय किंवदन्ती अनुसार गन्धर्वहरूले कर्खा गायनमार्फत एकीकरणका योद्धाहरूलाई जोस्याउँथे भन्ने सुन्न पाइन्छ । यसले नेपाल एकीकरणपूर्व नै कर्खाको इतिहास शुरु भइसकेको उल्लेख गर्न सकिन्छ ।

फ्रेन्च संगीतशास्त्री मेरिल हेल्फरले ५३ वटा नेपाली कर्खा संकलन गरेका थिए । तर यस्ता कर्खाहरू अहिले लोपोन्मुख अवस्थामा छन् । संगीतका पारखीहरूले यो खोज्नु जरुरी देखिन्छ । किनकि हाम्रो इतिहास कुनै न कुनै रुपले हाम्रो भविष्यसँग जोडिएको हुन्छ ।

तस्वीर : चन्द्र बहादुर आले 

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?